विचार/ब्लग

नेपालमा स्वाइन फ्लु बढ्नुका ४ कारण

​​​​​​​डा. शेरबहादुर पुन

नेपालमा स्वाइन फ्लुका कारण यस वर्ष ६ जनाको मृत्यु भइसकेको तथ्यांक इपिडिमियोलोजी महाशाखाले सार्वजनिक गरेको छ। ८३ जना संक्रमितमध्ये यो संख्यामा बिरामीको मृत्यु हुँदा यसले भोलिका दिनमा भयावह रुप लिने देखिन्छ । संक्रमितहरुको मृत्युको यो तथ्यांकले स्वाइन फ्लुको मृत्युदर ७ दशमलब २ प्रतिशत देखिन्छ। यो मृत्युदर अन्तर्राष्ट्रिय स्तरमा देखिएको भन्दा धेरै र भारतमा अहिले देखिएको भन्दा झन्डै दोब्बर हो।

पछिल्लो पटक मृत्यु भएका बिरामीका आफन्तहरु र काठमाडौंका विभिन्न अस्पतालमा हाल उपचार गराइरहेका तथा गराइसकेका बिरामीहरुसँग मैले अन्तर्क्रिया गर्ने अवसर पाएको छु। स्वाइन फ्लुको जन्मदेखि नै मैले यो भाइरसलाई नजिकबाट नियाल्ने र भइरहेका अनुसन्धानहरु पढ्ने मौका पाइरहेको छु।

यस अवधिमा स्वाइन फ्लु कन्फर्म केसहरु र फ्लुसँग मिल्दाजुल्दा लक्षणहरु लिएर आउने बिरामीहरुको उपचार गरेको संख्या जोड्ने हो भने हजारौं पुगिसकेको छ। यो बीचमा स्वाइन फ्लु फैलिँदाको उतारचढाव मैले प्रत्यक्ष अनुभव गर्ने मौका पाएँ। सन् २००९ मा यसले विश्वव्यापी रुप लिएको थियो। उक्त वर्ष सयौं संक्रमित बिरामीको मृत्यु समेत भयो।

त्यसबेला नितान्त फरक फ्लु भाइरस भएकोले धेरै मानिस मरेको भनेर वैज्ञानिकहरुले अनुमान गरेका थिए। तर, यो भाइरस देखिएको ९ वर्ष पुगिसक्दा र हरेक वर्ष देखिने गरे पनि मानिसहरु यसको नाम सुन्नेबितिकै त्रस्त हुने गरेका छन्। खासगरी मृत्युदर यो वर्षको मनसुन सिजनमा अचम्मै तरिकाले ह्वात्तै बढेको छ।

यसरी स्वाइन फ्लुको संक्रमण बढ्नुका कारण यी हुन सक्छन्: 

१) समयमा जनचेतना नफैलाउनु  

स्वाइन फ्लु यो सिजनको सुरुमा देखिँदा यसलाई हल्का रुपमा लिइयो । त्यसैको फलस्वरुप अहिलेको परिणाम देखिएको हुनुपर्छ। सम्बन्धित निकायले त्यसै समयदेखि फ्लु विरुद्धको अभियान सुरु गरेको भए अहिलेको अनपेक्षित मृत्युदर देखिने थिएन होला। यसको प्रचार सामान्य मौसमी रुघाखोकी भनेर प्रचार गर्दा पनि सर्वसाधारणले यसलाई सामान्य रुपमा लिएको देखिन्छ।

हामीले बुझ्नुपर्ने के हो भने सामान्य रुघाखोकी र इन्फ्लुएन्जा फरक संक्रमण हुन्। इन्फ्लुएन्जा भाइरस कडा हुन्छ। आत्तिनु नपरे पनि सामान्य मौसमी रुघाखोकी भनेर सजगता नअपनाउँदा खासगरी दीर्घरोगीहरु धमाधम आइसियू पुगेका देखिन्छन्। हामीले यसलाई सामान्य मौसमी रुघाखोकी भनेर प्रचार गर्ने कि स्वाइन फ्लु भनेर गर्ने भन्ने कुरा गरिरहँदा के भन्दा सर्वसाधारण बढी सचेत हुन्छन् भन्नेमा निर्भर हुन्छ । यो सत्य हो, यो भाइरसलाई प्राविधिक रुपमा स्वाइन फ्लु भन्न मिल्दैन र यो हाल सुङ्गुरबाट सर्ने पनि होइन । तर, एचवानएनवान वा मौसमी रुघाखोकी भनेर प्रचार गरिए सर्वसाधारणले बुझ्दैनन् र समयमा चिकित्सककोमा पनि जाँदैनन् ।    

२) नयाँ भाइरस पो हो कि ?

इन्फ्लुएन्जा भाइरस हरेक सिजनमा परिवर्तन हुँदै आउँछ । यसलाई 'एन्टिजेनिक ड्रिफ्त' भनिन्छ। तर, चाखलाग्दो कुरा के छ भने, नेपालमा सन् २००९ यता भाइरसमा कति परिवर्तन भइरहेको छ भनेर सार्वजनिक गरिएको पाइँदैन। अनुसन्धानहरु पक्कै भएका होलान्, तर स्वास्थ्यकर्मीहरु तथा सर्वसाधारणले थाहा पाएको र चासो राखेको पाइँदैन। यसैले नेपाल सरकारले हरेक वर्ष यति र उति जनामा स्वाइन फ्लु आयो भनेर गन्नुभन्दा यसमा कस्तो परिवर्तन आइरहेको छ भनेर पनि हेर्नुपर्छ।

भारतमा अहिले देखिएको स्वाइन फ्लुको भाइरस क्यालिफोर्निया स्ट्रेनबाट मिचिगन स्ट्रेनमा परिवर्तन भइसकेको छ। यस्तो अवस्थामा रोग जहिले पनि कडा हुने गर्छ। सरसर्ती हेर्दा भारतमा हालको मिचिगन स्ट्रेन देखापरेपछि ४ दशमलब ६ प्रतिशत देखिएको छ भने यो जाडो महिनादेखि लगातार देखिएको छ । यो कुरा भारतीय वैज्ञानिकहरुको लागि नसोचेको नतिजा हो। विश्व स्वास्थ्य संगठनले हाल त्यहाँ मिचिगन स्ट्रेनको लागि मिल्ने खोप लगाउन सल्लाह दिइसकेको छ।

नेपालमा आजसम्मको मृत्युदर हेर्दा भारतको भन्दा दोब्बर देखिन्छ। तसर्थ नेपालमा पनि कतै मिचिगन स्ट्रेनको स्वाइन फ्लु देखा परिसकेको त छैन? भारतमा भन्दा यहाँ मृत्युदर बढी हुनुमा कहीँ यही नयाँ स्ट्रेनको कारण त होइन? वा क्यालिफोर्निया र मिचिगन नभई अरु नयाँ स्ट्रेन पो छ कि? 

३) फ्लु विरुद्धको खोपबारे बहस नहुनु

हरेक वर्ष फ्लुको प्रकोप देखिएपछि बच्ने उपायहरुबारे ठूलै बहस चल्छ। नेपाल सरकारले फ्लुबाट बच्ने उपायहरु रेडियोमार्फत पनि प्रसारण गरिरहेको छ । स्वास्थ्यकर्मीहरुले पनि यसबारे सुझाव दिने गरेका छन्। तर, फ्लु विरुद्ध खोप छ र यो एउटा उत्तम उपाय हो भनेर सर्वसाधारणलाई बुझाउन सकेको देखिँदैन।

फ्लुबाट बच्ने उपायहरु हरेक समय अनुशासित भएर पछ्याउन सकिँदैन। विकसित देशहरुमा पनि यी उपाय प्रभावकारी नभएकाले खोपलाई नै राम्रो विकल्पको रुपमा लिएको देखिन्छ र खोप खासगरी जोखिम वर्गमा रहेकाहरुलाई अनिवार्य जस्तै गरिएको देखिन्छ। नेपालमा भने फ्लु विरुद्धको खोपबारे बहस नहुनु र बच्ने उपायहरु पनि इमान्दारीपूर्वक उपयोग नगर्दा फ्लु कडा रुपमा देखिँदै गएको देखिन्छ।    

४) स्वाइन फ्लु संक्रमणलाई सामान्य मान्नु

हाम्रो समाजमा कसैलाई रुघाखोकी लागे एक हप्तादेखि एक महिनासम्म आफूखुसी औषधि खाएको देखिन्छ। त्यसरी खाएको औषधिले काम नगरेपछि अन्त्यमा बल्ल अस्पताल पुग्ने गर्छन्। स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता बलियो भएका संक्रमितहरु एक हप्तामा निको हुन सक्छन् । तर, जोखिम वर्गका जस्तै: वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी खासगरी दम, सीओपीडी आदिलाई अस्पताल भर्ना गराउनैपर्ने कडा लक्षणहरु देखिन सक्छ र मृत्यु समेत हुन सक्छ ।

तसर्थ भर्ना हुने बितिक्कै मान्छे मरेको सुनिने गरे पनि उनीहरु खासगरी जोखिम वर्गका संक्रमितहरु मौसमी रुघाखोकी हो भनेर समयमा अस्पताल नजादा स्वाइन फ्लु घातक देखिएको हो।

माथिका कारणहरुलाई नेपाल सरकारले राम्रोसँग मनन र विश्लेषण नगर्दा स्वाइन फ्लु घातक भइरहेको देखिन्छ। यी कुरालाई आगामी दिनमा पनि ध्यान नदिए नतिजा यो वर्षभन्दा थप भयावह नहोला भन्न सकिन्न। 

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live