फिचर

कर्णालीका यी स्वास्थ्यकर्मी, जसले बिरामीलाई दिए आफ्नै रगत

img

दुर्गा दुलाल

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स रमु महर्जन अपरेशन वार्डमा बिरामीको शल्यक्रियाका लागि आवश्यक व्यवस्था मिलाउँदै थिइन्। तिघ्राको हड्डी भाँचिएकी (फिमर फ्य्राक्चर) ४२ वर्षीया महिलाको शल्यक्रिया गर्ने तयारी भइरहेको थियो।

शल्यकक्षमा रहेकी उनलाई खबर आयो, ‘एक जना बिरामीलाई तत्कालै ए पोजेटिभ रगत चाहियो, तुरुन्तै आउनू।

ब्लड बैंक नभएको जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पतालमा बिरामीलाई रगत आवश्यक पर्‍यो भने यसैगरी अस्पतालमा कार्यरत कर्मचारीलाई बोलाइन्छ। रमुलाई पनि त्यही अनुसार बोलाइएको थियो। आफ्नो रक्तसमूह मिलेपछि उनी रगत दिन दौडिइन्।

रगत दिइसकेपछि उनी पुनः शल्यकक्षमा ड्युटीमा फर्किइन्। केही समयपछि शल्यक्रियाका लागि बिरामी ल्याइयो। ती तिनै महिला थिइन्, जसको लागि रमुले केही समयअघि रक्तदान गरेकी थिइन्। तिघ्राको हड्डी भाँचिनुका साथै रक्तश्राव पनि भएका कारण उनलाई रगत चढाउनुपर्ने अवस्था आएको थियो।

शल्यक्रियाका क्रममा महिलाको शरीरमा रगत चढाइयो। रगत उनै रमुको थियो। अनि रगत चढाउने पनि उनी नै थिइन्।

आफ्नो रगत स्लाइनबाट बिरामीको शरीरमा गइरहेको देख्दा मनमा छुट्टै खुसी मिल्दो रहेछ,’ गत फागुनको घटना सम्झँदै नर्स रमुले भनिन्, ‘बिरामीको उपचारमा हामी सधैं लागिरहेका हुन्छौं, तर रगत नै दिएर सेवा गर्नुको खुसी शब्दमा बयान गर्न नसकिने रहेछ।

रमु महर्जन, नर्स


ललितपुरकी रमु डेढ वर्षदेखि कर्णालीमा नर्सिङ अफिसरका रुपमा कार्यरत छिन्। यो बीचमा उनले बिरामीलाई यसैगरी चार पटक रगत दिइसकेकी छिन्। स्वास्थ्यकर्मीले बिरामीको हेरचाह गर्ने दायित्व आफ्नो ठाउँमा छँदै छ, उपचारका क्रममा आफ्नो रगत समेत दिँदा बिरामीसँग उनको आत्मीयता पनि गाँसिँदो रैछ।

दुर्गमका बिरामीलाई उपचारसँगै रगत दिएर बचाउन पाउँदा छुट्टै खुसी मिल्ने भन्दै उनले सुनाइन्, ‘आफूले रगत दिएको बिरामीको उपचारका क्रममा हरेक दिन नाडी छाम्छु, मुटुको धड्कन जाँच्छु, त्यो बेला त्यो बिरामी कतै आफू नै हो कि जस्तो महसुस हुन्छ।

पछि नियमित जाँचका क्रममा भेट हुँदा बिरामी र बिरामीका कुरुवाले गर्ने सम्मानले उनलाई झनै आनन्द दिन्छ। बिरामीका कुरुवाहरुले आफ्नो रगतका कारण बाँच्न सफल भएको भनेर चिनाउँदा बिरामीले गर्ने व्यवहार झन् स्वर्गीय आनन्दको हुन्छ’, महर्जनले सन्तुष्ट भावमा भनिन्।

यसअघि आपतकालीन अवस्थाका चार जना बिरामीलाई रगत दिएर बचाएकी उनको आगामी दिनमा पनि यसैगरी बिरामी बचाउने मन छ।

रमु जस्तै प्रतिष्ठानमा अन्य धेरै स्वास्थ्यकर्मी छन्, जसले आफ्नो रगत दिएर बिरामी बचाएको मीठो अनुभव सँगालेका छन्। बिरामीको उपचार स्वास्थ्यकर्मीको ड्युटी हो, तर त्योसँगै उनीहरु बिरामीलाई रगत दिएर नयाँ जीवन दिने मानवीय सेवामा पनि जोडिएका छन् । प्रतिष्ठानमा इमर्जेन्सी वार्डको इञ्चार्ज रहेकी प्रमिला महत त्यस्तै अर्को नाम हो।

प्रमिला महत, नर्स


इमर्जेन्सी वार्ड भन्नेबित्तिकै सधैं तनाव र धपेडी हुने ठाउँ हो। तर, अहिलेसम्म तीन पटक रक्तदान गरिसकेकी उनले वार्डमा ड्युटीमा रहेको बेला समेत दुई पटक रगत दिएकी छिन्।

पहिलो चोटि चार वर्षअघि रगत दिएको उनी सम्झिन्छिन् । रुखबाट लडेर खुट्टाको हड्डी भाँच्चिएको बच्चालाई रगत चाहिएको थियो। उनी त्यसबेला अस्पतालबाट आयोजना गरिएको पिकनिक जान लागेकी थिइन्।

अस्पतालमा बच्चालाई रगत चाहिएको खबर आएपछि रक्तदान प्राथमिकतामा पर्‍यो’, ए पोजेटिभ रक्तसमूहकी प्रमिलाले भनिन्, ‘पछि अस्पताल आउँदा बच्चा ठीक भयो कि भएन भनेर हेर्न समेत गएको थिएँ।’ 

दोस्रो पटक उनले ड्युटीमा रहेकै बेला एक जना सुत्केरीलाई रगत दिएकी थिइन्। अत्यधिक रक्तश्राव भएकी महिलाको लागि ए पोजेटिभ रगत चाहियो भनेको सुनेपछि उनी रगत नदिई बस्नै सकिनन्, ड्युटीबाट फुर्सद निकालेर रगत दिन गइन्।

ती महिलालाई चार पोका रगत दिनुपरेको थियो, त्यसमध्ये एक पोका मेरो थियो’, खुसीले अनुहार धपक्क पार्दै प्रमिलाले भनिन्।

उनलाई नियमित उपचार सेवासँगै बेलाबखत बिरामीलाई रगत दिएर बचाउन पाउँदा बेग्लै सन्तोष लाग्छ।

नर्सिङ पेशा मार्फत बिरामीको सेवा गर्ने त छँदै छ, मानवताको रुपमा कहिलेकाहीँ यस्तो गर्न पाउँदा झन् खुसी लाग्छ’, उनले भनिन्, ‘आफ्नो रगत दिँदा कसैले नयाँ जीवन पाउँछ भने किन नदिने भनेर दिने गरेकी छु।

तीन सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म ब्लड बैंक नहुँदा बिरामीलाई तत्काल चाहिने रगत सम्भव भएसम्म यिनै स्वास्थ्यकर्मीले दिने गरेका छन्। रक्तसमूह नमिल्ने अवस्थामा अस्पतालले रगतका लागि प्रहरी, सेनालाई गुहार्नुपर्छ।

स्वास्थ्यकर्मीहरु ड्युटीमै रहँदा कसैलाई रक्तदान गर्न सजिलो पक्कै हुँदैन। रगत दिएपछि शरीर कमजोर हुन्छ, टाउको दुख्छ र कतिलाई चक्कर पनि लाग्न सक्छ। त्यसबाट बिरामीको उपचार जस्तो संवेदनशील काममा खट्न गाह्रो पर्छ। तर, प्रमिला र अन्य स्वास्थ्यकर्मीले त्यसलाई मानवीय सेवाको रुपमा लिँदै उपचार सेवासँगै बेलाबेला रक्तदान पनि गर्दै आएका छन्।

मेरो जिम्मेवारी अलि बढी तनाव हुने इमर्जेन्सी वार्डमा भएकाले बिरामीलाई रगत दिनुपर्दा केही अवरोध त हुन्छ, तर अहिलेसम्म म्यानेज गरेकै छु’, उनले भनिन्।

बिरामीलाई रगत दिएर बचाउने अर्का आपतकालीन रक्तदाता हुन्, जुम्ला स्थायी घर भएका राजबहादुर खत्री । प्रतिष्ठानको अपरेशन थिएटरमा एनेस्थेसिया शाखामा काम गर्ने उनले अहिलेसम्म १४ पटक रगत दिइसकेका छन्।

राजबहादुर खत्री


आफूले रगत दिएर बचाएकामध्ये एक महिलाको उनलाई सम्झना छ। अत्यधिक रक्तश्राव भएर अस्पताल आएकी महिलालाई आफन्तहरुले समेत रगत दिन मानेका थिएनन्। माइती पक्षले रगत दिन नमानेको र घर पक्षले बेवास्ता गरेको देख्दा उनी आफैं कस्सिए।

उनले सम्झिए, ‘ओ पोजेटिभ ब्लडग्रुप मिल्ने थाहा पाएपछि म ड्युटीमा भए पनि गएर रगत दिएको थिएँ।

उनले दिएको रगत खेर गएन। अर्थात् ती महिलाको ज्यान जोगियो। उक्त प्रसंग सम्झेर उनलाई अहिले पनि गर्व लाग्छ। आफ्नो रगतले कोही मानिसको ज्यान जोगाउन सकेको अनुभव भएपछि उनले नियमित रक्तदान गर्दै आएका छन्। 

उनले सुत्केरी, शल्यक्रिया गरेका बिरामी र घाइतेहरुलाई रगत दिएका छन्।

रगतको नाता भनेर हाड नातालाई भनिए पनि कतिपयले रगत दिएर नातासम्बन्ध बनाएको उदाहरण पनि देखिन्छ। प्रतिष्ठानमा पिसिएल नर्सिङ अध्ययनरत रुकुमकी सचिता रानाले रगत दिएकै नाताले जुम्लामा दिदी पाएकी छिन्।

जुम्लाको बेपाल गाउँकी एक महिला सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएको थियो। अस्पतालमै इन्टर्नसिप गरिरहेकी सचिताले तत्काल रगत चाहिएको थाहा पाएपछि तयार भएकी थिइन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


मेरो रगतले बाँच्न सफल भएपछि उहाँ र मबीच दिदीबहिनीकै नाता जोडियो’, सचिताले फुरुङ्ग पर्दै भनिन्, ‘दिदीले बेलाबेला घरमा बोलाउनुहुन्छ।

उनले अहिलेसम्म पाँच पटक रक्तदान गरिसकेकी छन्।

बिरामीलाई आवश्यक पर्ने रगत स्वास्थ्यकर्मीहरुले तत्काल बन्दोबस्त गरेर यसरी नै काम चलाउँदै आएका छन्। प्रतिष्ठानमा ब्लड बैंक नहुँदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र जिल्लाका सुरक्षाकर्मीबाट चलाउने गरिएको छ। तर, आपतकालीन अवस्थामा निश्चित रक्तसमूहका रक्तदाता नभेटिँदा अप्ठेरो पर्न सक्ने भएकाले ब्लड बैंक आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

सधैं भनेको बेलामा खोजेको रगत नभेटिन सक्छ’, प्रतिष्ठानको एनेस्थिसिया विभागका एसिस्टेन्ट राजबहादुरले भने, ‘बिरामी इमर्जेन्सीमा आउँदा समस्या हुने गरेकाले प्रतिष्ठानमा ब्लड बैंक आवश्यक भइसकेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live