डक्टर्स आर्टिकल

बालबालिकामा हुने जन्डिसका जोखिम

डा. विनिता जोशी

बालबालिकामा जन्डिस देखिनु आजका दिनमा सामान्य कुरा भइसकेको छ । तर, जन्डिस कतिपय असाध्यै जोखिमयुक्त हुन्छन् भने कति आफैं निको हुने खालका हुन्छन्। 

मानिसहरुमा जन्डिसप्रतिको बुझाइमा कमी भएकाले यसबारे अनेक भ्रम देखिन्छन् । कहिलेकाहीँ हामी एउटा बच्चामा भएको जन्डिसलाई आधार मान्दै ‘यसो गर्दा ठीक भइहाल्छ’ भनेर अर्को बच्चालाई सोही उपचार लागू गराउन खोज्छौं । यसले बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ । त्यसैले सबैभन्दा पहिले कुन किसिमको जन्डिस भएको भन्ने यकिन गर्नुपर्छ । त्यसपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ । 
सामान्यतया बच्चामा हुने जन्डिसलाई दुई उमेरसमूहमा राखेर हेर्नुपर्ने हुन्छ । भर्खर जन्मेको शिशुमा हुने जन्डिस र त्यसपछिका बालबालिकामा हुने जन्डिस फरक प्रकृतिका हुन्छन्। 

नवजात शिशुमा जन्डिस
शिशुमा हुने जन्डिसलाई हामी हानि गर्ने र नगर्ने भनेर हेर्छौं । नवजात शिशुमा जन्डिस देखिनुका विभिन्न कारण हुन्छन् । कतिपयमा कलेजोमै समस्या हुन्छ भने धेरैजसोको रगतमा रातो रक्तकोशिका मर्ने क्रममा देखिन्छ । भर्खर जन्मेका बच्चामा रातो रक्तकोशिका मर्नु स्वाभाविक भएकाले यसमा धेरै आत्तिनु पर्दैन । यो किसिमको जन्डिसलाई चिकित्सकीय भाषामा ‘फिजियोलोजिकल जन्डिस’ भनिन्छ । 
धेरै बच्चालाई घाममा राखेर यो जन्डिस ठीक पार्न सकिन्छ । कतिलाई भने बत्तीको सहारामा गरिने ‘फोटो थेरापी’ पनि गर्नुपर्छ । आमाको दूध खाने बच्चामा यो विस्तारै कम हुने भएकाले डराउनु पर्दैन । कतिपय अवस्थामा आमामा हुने डिहाइड्रेसनका कारण पनि दूधे बालकमा जन्डिस देखा पर्छ । यो अवस्थामा पनि डराउनु पर्दैन ।  

तर, आमाको दूध मात्रै खाने उमेरका बच्चामा जन्डिस लगातार दुई हप्ताभन्दा बढी समय देखिइरह्यो भने होसियार हुनुपर्छ । सामान्यतया यो जन्डिस बच्चामा हुने नभई संक्रमण वा कलेजोमा हुने खराबीले निम्तिएको हुन सक्ने आशंका गर्नुपर्छ। 

थाइराइड, पिसाबको संक्रमण र अन्य संक्रमणका कारण पनि शिशुलाई जन्डिस हुन सक्छ । बच्चामा जन्डिस दुई हप्ताभन्दा बढी लम्बिएमा थाइराइड र संक्रमणलाई कारक मान्न सकिन्छ । यी कारणले हुने जन्डिस पनि उपचार गराए ठीक हुन्छ । यसले कलेजोमा दीर्घ असर पु¥याउँदैन । रगतका कारणले हुने जन्डिसले कलेजोमा असर पु¥याउँदैन । तर, जन्डिस कलेजो वा रगत के कारणले हो भन्ने कुरा छुट्याउन जरुरी हुन्छ।

धेरैले जानकारी नपाएको र हानिकारक जन्डिस ‘बिलिएरी अट्रेजिया’ हो । लक्षण समान देखिने भएकाले स्वास्थ्यकर्मी समेत झुक्किने गरेका छन् । गर्लब्लाडरबाट आन्द्रामा जाने एउटा नलीको विकास नभएपछि यो जन्डिस हुन्छ । यस्तो समस्या भएका बालबालिकालाई उपचारमा ल्याउन निकै ढिलो गरेको पाइन्छ । जसका कारण उनीहरु ठूलो जोखिममा पर्ने गर्छन्। 

जन्डिस समस्या होइन, कुनै समस्याको लक्षण मात्र हो । अन्य कारणले जन्डिस ठीक हुने संकेत देखिएन भने तुरुन्तै यसको परीक्षण गर्न जरुरी हुन्छ । किनभने बच्चा जन्मिएको ९० दिनभित्र हानिकारक जन्डिस ‘बिलिएरी अट्रेजिया’ को अपरेशन गर्नु उचित हुन्छ । यति गर्दा पनि पछि कुनै न कुनै समय कलेजो प्रत्यारोपण गर्नु जरुरी हुन सक्छ । तर, ९० दिनभित्र सो अपरेशन नगरेकाहरुको कलेजो प्रत्यारोपण गर्नैपर्ने हुन्छ। 

अर्काे जन्डिस वंशाणुगत पनि हुन्छ । सामान्य बच्चाभन्दा गलेको र सक्रिय नभएको बच्चालाई वंशाणुगत जन्डिस भएको आशंका गर्नुपर्छ । भर्खर जन्मेको शिशुमा जन्डिस देखिएको छ र बच्चा निकै लठ्ठ परेको छ भने सिभियर (कडा खालको जन्डिस) हो भन्ने बुझ्नुपर्छ। 

अन्य उमेरसमूहका बच्चामा जन्डिस 
धेरै देखिने जन्डिस हेपाटाइटिस ए र ई संक्रमणका कारणले हुन्छ । बच्चाले आमाको दूध बाहेक बाहिरको खाना खान थालेपछि हेपाटाइटिस ए को कारणले जन्डिस देखिन सक्छ । पानी र खानाको माध्यमबाट हेपाटाइटिस ए हुन्छ। 

हेपाटाइटिस ए विरुद्ध खोप लगाउन पाइन्छ । सरकारले निःशुल्क उपलब्ध गराउने खोप कार्यक्रममा यो खोप नपरे पनि सक्नेहरुले आफैं लगाउँछन् । हेपाटाइटिस ई विरुद्धको खोप भने अहिलेसम्म बनेको छैन । यी दुईटैको लक्षण चाहिँ ज्वरो आउने, वाकवाकी लाग्ने, आँखा पहेँलो हुने हुन्छ। 

यस्तो प्रकारका जन्डिस हुँदा धेरैले गर्ने गल्ती खाना बार्नु हो । जसले गर्दा रोगको संक्रमण बढ्ने जोखिम हुन्छ । यसै पनि रोगका कारण खानामा अरुचि भइरहेका बेला उसिनेको र मसलाविहीन खानेकुरा मात्र खुवाउँदा बालबालिकामा खानाप्रतिको रुचि झन् हराउँछ । खाना कम गरेकै कारण जन्डिस निको हुन बढी समय लाग्छ। 

जन्डिसमा सामान्यतया कुनै खाना बार्नु पर्दैन । यस्तो बेला कलेजोमा थप भार पर्ने भएकाले थप क्यालोरी भएको खाना दिनुपर्छ। बच्चालाई बेड रेस्ट गराउन भने जरुरी हुन्छ । सफा खाना ख्वाउने, वर्षायाममा बाहिरको खानेकुरा नदिने, काँचो कुरा नख्वाउने गरेमा बच्चालाई हेपाटाइटिस ए र ई को संक्रमणबाट जोगाउन सकिन्छ।

आमालाई हेपाटाइटिस बी भएमा यो बच्चामा सर्ने जोखिम हुन्छ । तर, नेपाल सरकारले यसको खोप कार्यक्रम निःशुल्क गरेकाले त्यति देखिएको छैन । हेपाटाइटिस बी र सी रगतसम्बन्धी रोग भएका बच्चामा हुने सम्भावना उच्च हुन्छ। 

यसैगरी बच्चालाई लगातार जन्डिस देखियो, घरमा भएका सबै वा अधिकांशमा जन्डिस देखियो र हेपाटाइटिस ए र ई को संक्रमण देखिएन भने त्यस्तो जन्डिस ‘विल्सन’ हुन सक्छ । यो जन्डिस शरीरमा कपरको मात्रा बढी भएमा देखिन्छ । यसका कारण कलेजो नै फेल पनि हुन सक्छ । कलेजो फेलको अवस्थामा नपुगेको भए औषधिले निको पार्न सकिन्छ। 

बालिकामा खासगरी १० देखि १२ वर्षको उमेरमा देखिने जन्डिस ‘अटोइम्युन हेपाटाइटिस’ हो । शरीरले आफैं विरुद्ध एन्टिबडी बनाउँछ, जसका कारण कलेजोमा असर पुग्छ र यो समस्या आउँछ । तर, यस्तो जन्डिस भएकाहरु अनेक भ्रममा पर्ने भएकाले समयमै उपचार गर्न आएको पाइँदैन।

सबै जन्डिस औषधिले मात्रै ठीक हुँदैनन् । त्यसैले जन्डिसको प्रकार पहिचान गरी उपचार थाल्नुपर्छ । किनभने जन्डिस आफैंमा समस्या नभई कुनै समस्याको लक्षण हो । यो कुरा सदा दिमागमा राख्न जरुरी छ।

(डा. जोशी नर्भिक अस्पतालकी बाल कलेजो तथा पेटरोग विशेषज्ञ हुन् ।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live