मुख्य समाचार

अनशनको १८औं दिन बिहानै डा. केसीको यस्तो प्रतिक्रिया

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– चिकित्सा शिक्षा र सेवा सुधारका योद्धा डा. गोविन्द केसी अनशन बसेको १८ औं दिन पुगेको छ । तर, सरकारले उनका माग पूरा गर्न पहल थाल्नु त परै जाओस्, पछिल्ला पाँच दिनदेखि हालखबर सोध्न समेत छाडेको छ। यसैबिच चिकित्सा शिक्षाका माफियालाई लाभ पुग्ने गरी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरिरहेको समाचार आइरहेका छन् । 

अनशन जति लम्बियो त्यति डा. केसी र उनका समर्थक गल्ने र यही अवस्थामा सम्झौता गर्न बाध्य पार्ने सरकारको नियत देखिन्छ । यही सन्दर्भमा डा. केसीले आफू कुनै पनि हालतमा पछि नहट्ने प्रतिक्रिया दिएका छन् । उनले अनशनको १८औं दिनको बिहान दिएको प्रतिक्रिया जस्ताको तस्तैः


आज हाम्रो सत्याग्रहको १८ दिन पुग्दा समेत सरकारका तर्फबाट केही घण्टामा पूरा गर्न सकिने मागहरु पूरा नगरिएको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छु । 

साथै, यसैबीच जनताबाट चुनिएका र जनताले नै तिरेको करबाट तलब सुविधा लिने सांसदहरुले तीन करोड नेपाली र लाखौं विद्यार्थीको हितविपरीत आफ्नो संकीर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐनलाई पारित गर्न कोशिस गरिरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु । 

स्मरण रहोस्, हाम्रो अभियान कहिल्यै पनि कुनै व्यक्ति वा पार्टी विशेषप्रति लक्षित छैन । कुनै पनि दलका दिवंगत राजनेताहरुका नाममा संस्था खोल्दा सेवाको ध्येय राखेर राज्यले खोल्नुपर्छ र कुनै पनि खालको व्यापारमा उनीहरुको नाम जोडिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । साथै विगतमा हामीसित गरिएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्नु पनि राज्यको दायित्व बन्छ । 

साथै, आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकार र आम विद्यार्थीहरुको चाहेको विषयमा गुणस्तरीय शिक्षा लिन पाउने अधिकारका लागि चलिरहेको हाम्रो अभियान जारी रहने र सही रुपमा चिकित्सा शिक्षा नआउन्जेल मेरो सत्याग्रह जारी रहने पनि जानकारी गराउँछु । राजनीतिज्ञहरुले निरन्तर गैर–जिम्मेवारीपन, भ्रष्टता र माफिया–प्रेम देखाए पनि हामीले नागरिकका रुपमा आफ्नो कर्तव्य छाड्न नहुने भएकाले बुद्धिजीवी र सञ्चार माध्यमहरु लगायत समाजका सबै तह र तप्काले यो अभियानमा अहिलेजस्तै निरन्तर योगदान पुर्याइरहनुहुनेछ भन्ने मेरो विश्वास छ । 

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

२०७३।४।२६

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live