मुख्य समाचार

डा. केसीका माग तत्काल सम्बोधन गर्न संसदको मानवअधिकार समितिले दियो सरकारलाई निर्देशन

img

दुर्गा दुलाल

काठमाडौं– १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गरी अनशन तोडाउन व्यवस्थापिका संसदको मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार विहान बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

समितिको छलफलमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरेल र सरोकारवालाहरुको उपस्थिति थियो। छलफलका क्रममा स्वास्थ्य मन्त्री पोखरेलले यस विषयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलमा छलफल भइरहेको जानकारी गराए। उनले भने, ‘उहाँका माग अनुसार चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको छ।’

शिक्षा मन्त्री श्रेष्ठले माथेमा प्रतिवेदन अनुसार नै विधेयक संसदमा जाने बताउँदै फास्ट ट्रयाकबाट पारित गराउन पहल भइरहेको बैठकमा जानकारी दिए। उनले भने, ‘हिजो नै पूर्व स्वास्थ्य मन्त्री गगन थापा, डा. भगवान कोइरालाहरुलाई बोलाएर छलफल भइसकेको छ। अहिले त्यसलाई अन्तिम रुप दिने काम हुँदैछ।’

छलफलमा सहभागी सांसदहरु हितराज पाण्डे, अष्टलक्ष्मी शाक्य, उषा यादव, चन्द्रबहादुर गुरुङ लगायतले ११औँ पल्टसम्म अनशन बस्ने स्थिति कसरी आयो? सरकारले किन उनका माग सम्बोधन गर्न सकेन? जस्ता प्रश्न गरेका थिए।

आज ३ बजे बस्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको पूर्ण बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेर संसद पठाउने बताइएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live