विचार/ब्लग

बिरामीको मृत्युपछि आफन्तको आक्रोश अनि प्रहरीको घेरामा २४ घन्टा

डा. कमल कोइराला

२०७४ साउन १९ गते, ओम अस्पताल, चाबहिल। हिँडेर आएकी ५२ वर्षीय टंककुमारी न्यौपानेलाई शल्यक्रिया पूरा भएपछि एक्कासी मुटुमा समस्या आयो। सघन उपचार कक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ र एनेस्थेसिस्टको टोलीले हरसम्भव प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन।

परिवारजनलाई एक्कासी आइपरेको यो पीडा खप्न कठिन थियो। आफन्तले पीडालाई शोकमा नभई आक्रोशमा बदले। अस्पतालका डाक्टरको लाइसेन्स खारेज गर्नुपर्छ भन्नेदेखि मृत्युदण्ड दिनुपर्छ भन्नेसम्मका नाराबाजी सुरु भए। सम्भावित तोडफोड र आक्रमण रोक्न प्रहरी तैनाथ भयो। घटनाबारे बुझ्न पत्रकारहरु आए। एकाएक अपराधीको बिल्ला भिर्न वाध्य डाक्टरहरु प्रहरी सुरक्षामा बस्नुपर्यो।

अपराधी भनेर पटक–पटक झम्टिरहेको आक्रोशित समूहको बीचमा, प्रहरी घेराभित्र बसेर पनि सञ्चारकर्मीलाई यथार्थ कुरा राख्न सकियो। किनकि हामी निर्दोष थियौँ। भीडमा आउने हरेकले सम्बन्धित चिकित्सकबाट जानकारी लिन चाहन्थे। सञ्चारकर्मीलाई पनि पटक–पटक वयान दिनै पर्यो। 

४०–५० जनाको भीडले माग पनि कडा–कडा राखेका थिए। ‘यहीँ जलाउनुपर्छ’, ‘जेल हाल्नु पर्छ’, ‘लाइसेन्स खारेज गर्नुपर्छ’, ‘अस्पताल बन्द गराउनुपर्छ’, ‘क्षतिपूर्ति चाहिन्छ’ आदि। बीचबाट एकजना पाको व्यक्तिले ‘अब डाक्टरको कुरा सुनौँ’ भन्नुभयो। आफ्नो लागि देवता प्रकट भएझैँ लाग्यो। बोल्न सुरु गरेँ। पीडाको साथ मलिन स्वरमा मनभरिका उकुसमुकुस कुरा पोख्न थालेँ–

मलाई जलाउनु छ, मार्नु छ भने अहिले मार्नुस्, मलाई मर्न डर छैन। नत्र मेरो कुरा पनि सुनिदिनुहोस्। यो अस्पतालमा १२ वर्षमा पहिलो पटक यहाँहरुको आरोप अनुसार अपराधीका रुपमा बोल्दैछु। आमाको निधनको वेदनाले हुन सक्छ छोरीहरुले केही आरोप लगाउनु भयो, ‘शिकारुलाई उपचार गर्न दिएर मेरो आमा मर्नुभयो, औषधिको डोज नमिलेर मर्नु भयो।’ आदि। आखिर सर्जनलाई अहिलेसम्म विश्वास गर्नु भएकै थियो। मैले तपाईंहरुका परिवारमा २० जनाको शल्यक्रिया गरिसकेको हुँला। म २१ जनाको गर्न चाहन्थेँ, २२ जना पुर्‍याउन चाहन्न थिएँ होला र? मेरो आत्माले भन्छु, यो घटनामा मैले कुनै गल्ती गरेकै छैन। पोस्टमार्टम गरौँ। दोषी पनि छुट्याऔँ।

म तपाईंहरुलाई अनुरोध गर्छु, एउटा कुरा चाहिँ नबिर्सनु होला। शल्यक्रिया गर्ने सर्जन र टिमलाई पनि मानिसक पीडा अथाह हुन्छ, जसलाई मेडिकल भाषामा ‘सेकेन्ड भिक्टिम’ भनिन्छ। उक्त पीडा शान्त हुन कसैलाई एक हप्ता लाग्छ भने कसैलाई एक वर्ष पनि। कसैलाई डिप्रेसन हुन्छ भने कुनै सर्जनले आफ्नो पेशा नै छोडदिन्छन्। 

एकछिन अघिसम्म फाँसी दिन हतारिने समूह केही शान्त भयो। केही समयपछि कोठाभित्र बसिरहेको ठाउँमा आएर ४–५ जनाले प्रस्ट पारिदिनुभयो, ‘डाक्टर साहब तपाईंको बोली र भावना सुनेपछि हामी केही ढुक्क भयौँ।’ अर्कोतर्फ पीडित पक्षलाई सहानुभूति दिने बहानामा परिस्थिति झन् जटिल बनाइदिन खोज्ने केही तत्व हुँदा रहेछन् भन्ने यो घटनाले मलाई छर्लङ्ग देखायो। तर, घटनाबारे सञ्चार माध्याममा भड्काउ शैलीमा कुनै पनि समाचार देखिएनन्। विशेष गरी नाम चलेका सञ्चार माध्यमले पीडित पक्षको कुरासँगसँगै चिकित्सक र अस्पतालको कुरा पनि राख्न दिइयो, जसले गर्दा आमसमुदायलाई दुवै पक्षको कुरा बुझ्न सजिलो भयो होला।

अस्पतालको घटनापछि मेरो परिवारमा पनि त्रास फैलियो। बिरामीको सेवामा रातदिन नभनी, घरपरिवार नभनी खट्ने मान्छेलाई अपराधी ठानेपछि घरका सदस्य नआत्तिने कुरै थिएन। श्रीमती र बच्चा खाना नखाई रुँदै बसे। दिदी–भाइहरु अस्पताल र घर ओहोरदोहोर गरिरहे। छरछिमेकमा पनि चियोचर्चो र आ–आफ्नै अडकलबाजी। कतिपय आफन्तले त डाक्टरलाई जेल लग्यो भन्ने सुनेर घरमा फोन गरेर सहानुभूति समेत दिन भ्याएछन्।

वर्षौंको अध्ययन र अभ्यासपछि मात्र एउटा वरिष्ठ शल्य चिकित्सक तयार हुन्छ। तर, उपचारमा आउने जोखिमलाई स्वीकार नगरी चिकित्सकमाथि हत्याको आरोप लगाउँदा त्यो चिकित्सकको मनमा कति आँधीबेहरी चल्छ भन्ने मैले महसुस गरेँ। यो निकै कठिन क्षण थियो। मृत्युको मुखमा आइपुगेका बिरामी बचाउनुपर्ने जिम्मेवारी बोकेको मान्छे आक्रोशित भीड र प्रहरीको घेराबन्दीमा २४ घन्टा बिताउनु पर्दा मनमा अनेक तर्कना खेले। उपचारमा आउने भवितव्यलाई आधार बनाएर एउटा चिकित्सकलाई मृत्युदण्ड दिनुपर्छ वा लाइसेन्स खारेज गर्नुपर्छ भन्ने हो भने, चिकित्सकले कुन उत्साह र धैर्यताले काम गर्न सक्लान्? यो प्रश्नले अहिले पनि घोचिरहेको छ। 

बिरामीको उपचारका क्रममा चिकित्सकको लापरबाही हुनु हुँदैन भन्ने मान्यता आमजनताले राखेको हुन्छ, जुन सही छ। अस्पताल पुगेका बिरामी निको हुन् भन्ने सबैको कामना हुन्छ। तर, चिकित्सले शतप्रतिशत बिरामी बचाउन सक्छन् भन्ने भ्रम राख्नु हुँदैन। चिकित्सकले त प्राप्त उपकरण, सुविधा र रोगको प्रकृति अनुसार बिरामीलाई बचाउन इमान्दार कोसिस गर्ने हो। तर, उपचारमा जोखिम पनि छ, भन्ने कुरा आम जनताले बुझ्नु जरुरी हुन्छ। जोखिम आउना साथ चिकित्सकलाई अपराधी बनाउनु हुँदैन भन्ने मेरो बुझाइ र मान्यता हो।

यदाकदा हुने दुर्घटनामा सत्यतथ्य छानबिन गर्ने संयन्त्र बनाउन सकिन्छ। तुरुन्त परिणाम प्राप्त गरेर कारबाही गर्न पनि सकिन्छ। चिकित्सकीय लापरबाही रहेछ भने सम्बन्धित चिकित्सकलाई हदैसम्मको सजाय गर्नुपर्छ। तर, भवितव्य रहेछ र इमान्दार कोसिस गर्दा पनि बिरामी बचाउन सम्भव नभएको रहेछ भने चिकित्सकलाई आरोप लगाउनु भनेको उसको आत्मसम्मानमा चोट पुर्याउनु पनि हो।

दोष नभएका बिरामी र चिकित्सक दुवै पक्षलाई न्याय दिलाउनुपर्छ। अनि मात्र चिकित्सकले मन खोलेर बिरामीको उपचारमा लाग्न पाउँछन्। धेरैभन्दा धेरै बिरामीले उपचार पाउँछन्। खाएको विष लाग्नु ठिकै होला तर नखाएको विष लाग्यो भने त्यो झन् पीडादायी हुँदो रहेछ।

(डा. कोइराला ओम अस्पतालका वरिष्ठ शल्य चिकित्सक हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live