मुख्य समाचार

विवादपछि रोकियो संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमाथिको छलफल, बैठक भोलि बिहान ८ बजे बस्ने

img

दुर्गा दुलाल

संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा चिकित्सा शिक्षा विधेयकमाथिको छलफल


काठमाडौं- चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन संसदीय समितिमा भएको छलफल विवादपछि स्थगित भएको छ। संसदको महिला बालबालिका तथा समाज कल्याण समितिको पूर्ण बैठकमा विधेयकमाथि छलफल चलिरहेको थियो।

विधेयकलाई अन्तिम रुप दिन गठित कार्यदलले चिकित्सा शिक्षा ऐन पारित हुनुअघि मनशाय पत्र पाएका मेडिकल कलेजले सम्बन्धन पाउने आशयसहित तयार पारेको विधेयकमाथि करिब तीन घन्टा छलफल भएको थियो। तर, छलफलमा समिति सदस्यहरुमा विवाद आएपछि भोली शुक्रबार बिहान ८ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो।

भोलीको छलफलमा स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई समेत बोलाइएको छ। कार्यदलले आमरण अनशनरत डा. गोविन्द केसीको माग विपरीत मेडिकल कलेजलाई सम्बन्धन दिने नियतका साथ ‘आशयपत्र पाएर पूर्वाधार निर्माण गरिसकेका संस्थालाई सम्बन्धन दिन सकिने’ व्यवस्था थपेको थियो। माथेमा कार्यदलले दिएको प्रतिवेदन अनुसार बनेको विधेयकको दफा १३ मा संशोधन गरी यस्तो आशय राखिएको हो।

कार्यदलले पठाए अनुसार नै विधेयक पारित भए यसअघि आशयपत्र पाइसकेका काठमाडौंका चार, ललितपुरको एक र झापाको एक मेडिकल कलेजले सम्बन्धन पाउनेछन्। आशयपत्र लिएका काठमाडौंका मनमोहन, प्रहरी, पिपुल्स, नेसनल, ललितपुरको अस्विन र झापाको बीएन्डसी मेडिकल कलेजले पूर्वाधार पूरा गरेका छन्। यसअघिको सरकारकै पालामा उपत्यकाका पाँच वटा मेडिकल कलेजलाई सम्बन्धन दिन मेडिकल काउन्सिलले समेत शिक्षा मन्त्रालयमा सहमतिपत्र पठाइसकेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live