विचार/ब्लग

डा. केसीका पक्षमा कविता: न्यायको भोक

सुजाता पन्त

भोक तिमीलाई पनि लाग्छ
मलाई पनि लाग्छ
र उहाँलाई पनि लाग्छ
फरक यत्ति हो
तिमीलाई पैसाको भोक लाग्छ 
बैङ्क ब्यालेन्स र 
चिल्लो कारको भोक लाग्छ
मलाई न्यायको भोक लाग्छ 
मानवताको भोक लाग्छ।

कर्णालीमा रक्तश्रावले 
सुत्केरी आमा मरिरहँदा
त्यहाँ मलाई
मातृत्वको भोक लाग्छ
एउटा मजदुरको छोराले
डाक्टर पढ्छु भन्दा
पहिले उसले आफ्नै बाको 
मिर्गौला, कलेजो र फोक्सो एक-एक गरी बेच्नुपर्छ
तिमीले मेडिकल
शिक्षालाई चटपट र चाउचाउको व्यापार
सम्झेर, खेलेर
डाक्टरको नाममा 
हत्यारा जन्माइरहँदा मलाई
सच्चा डाक्टरको भोक लाग्छ।

मलाई जुस पिउन हतार छैन
पटक–पटक तिमीले मलाई
जुस र विषसँगै मिसाएर
पिउन भन्यौ
र, भत्कायौ सारा सम्झौताहरु 
जहाँ मेरा 
काँपिरहेका हातहरुले 
हस्ताक्षर गरेका थिए
सारा नेपालीको आवाज बोकेर।

फाँसी देऊ झुन्ड्याइदेऊ
र मर्न देऊ मलाई
म मरेर केही हुन्न
तिमीले अस्ति चुनाव जितेर 
विजयको सिन्दूर यात्रामा लगाएको फूलमालाले 
तिमी मेरै शवयात्राको तयारी गर्दै गर 
तर बिन्ती
त्यसको बदलामा ३ करोड 
जनताको स्वस्थ जीवन बाँच्न पाउने 
अधिकारको सुनिश्चितता गर
पैसाको अभावमा 
अस्पतालकै छतबाट हामफाल्न 
बाध्य नबनाइदेऊ कसैलाई।

तिमी यत्ति सम्झिराख
म मरेर गए पनि
मर्ने छैन कहिल्यै मभित्रको
न्यायको भोक 
मानवताको भोक
अनि सत्याग्रहको भोक।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live