प्रोफाइल

बिरामीलाई आफन्त ठान्ने सर्जन

img

डिबी खड्का

‘कसरी चिर्न सकेको हो ! मन सिरिङ्ग हुँदैन ?’

सर्जनले सामान्यतया आफन्त तथा साथीभाइबाट यस्तै प्रश्नको सामना गर्नुपर्छ । 

सर्जरी अर्थात् मानव अंगको चिरफार गर्ने काम । बिरामीको ज्यान चिरफार गर्ने सर्जन भन्ने बित्तिकै धेरैलाई ‘निर्दयी’ लाग्न सक्छ । तर, अरुले सोचे जस्तो सर्जनको मन कठोर हुँदैन । उनीहरु पनि संवेदनशील हुन्छन् र बिरामीको दुःख–पीडालाई उत्तिकै ध्यान दिन्छन्। उनी बिरामीलाई आफन्त ठान्छन्। 

यिनैमध्येमा पर्ने सर्जन हुन् डा. मुकुन्द जोशी । जो बिरामीको मर्मको ख्याल गर्दै कुशल ढंगले शल्यक्रियामा खटिइरहेका हुन्छन् । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा जनरल सर्जनका रुपमा कार्यरत जोशी यही कारणले बिरामी र चिकित्साका विद्यार्थीमाझ प्रिय छन्। 

बिरामीहरु उनले गर्ने नरम व्यवहार र भरपर्दो शल्यक्रियाका कारण तुरुन्तै प्रभावमा पर्छन् भने विद्यार्थीहरु उनले सर्जरीअघि बिरामीलाई गर्ने काउन्सिलिङ, निरन्तर खटाइ र कार्यकुशलताका फ्यान छन्। 

मिजासिलो स्वभाव, झर्कोफर्को र नाइँनास्ती नगर्ने बानीले उनी सिनियर र सहकर्मीमाझ पनि उत्तिकै प्रिय छन् । उनलाई केएमसीमा सर्जरीका भरपर्दा ‘ब्याकअप’ का रुपमा लिइन्छ। 

‘सरले गर्ने व्यवहारका कारण हरेक बिरामी उहाँका आफन्त हुन् जस्तो लाग्छ,’ केएमसीमै इन्टर्न गरिरहेका एक विद्यार्थी भन्छन्, ‘उहाँलाई सर्जरी गर्नुपर्ने हरेक बिरामीको उत्तिकै चिन्ता र चासो हुन्छ।’

कतिसम्म भने, डा. जोशी बिरामीको घरपरिवार कस्तो र आर्थिक अवस्थाले भ्याउने÷नभ्याउने लगायत सबै कुरामा चासो दिन्छन् । बिरामीको सर्जरी गर्नैपर्ने तर आर्थिक अवस्थाले नभ्याउने देखिए आफूले लिने शुल्क मिनाहा समेत गरेका प्रशस्त उदाहरण उनका सहकर्मीले देखेका छन्। 

इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) बाट जनरल सर्जरी गरेका उनी १३ वर्षयता केएमसीमा कार्यरत छन्। 

एमबिबिएस पढ्दापढ्दै एक जना सर्जन प्रोफेसरको सीप र व्यवहारले उनलाई यतातिर तानेको रहेछ । बंगलादेशको रंगपुर मेडिकल कलेजमा चर्चित ती गुरुको पथमा आफूलाई हिँडाउन खोजिरहेको उनी बताउँछन्। 

तर, आफ्नो रोलमोडलको बाटो पहिल्याउँदा–पहिल्याउँदै आफैं विद्यार्थीहरुको रोलमोडेल बनिसकेको उनलाई हेक्कै रहेनछ । जब उनका विषयमा बखान गर्ने र त्यस्तै बन्न चाहने विद्यार्थीबारे कुरा निकालियो, उनी चकित परे । उनको मुखबाट निस्कियो– ‘हो र?’

उनलाई सर्जन बन्न उक्साउने एक त उनका ती प्रतिभाशाली गुरु थिए, अर्कोतिर बिरामीलाई शल्यक्रिया सेवाबाट प्रभावकारी उपचार दिनुपर्छ भन्ने उनको सोच पनि त्यत्तिकै प्रेरक थियो । त्यसकारण एमबिबिएसपछि उनको एकमात्र ध्येय रह्यो, सर्जन बन्ने। 

सर्जन बनेपछि उनी हर समय आफ्नो ड्युटीमै केन्द्रित भइरहेका छन् । सर्वसाधारणले उनीबाट सेवा पाइरहेका छन् भने त्योसँगै उनले आफूलाई पनि निखार्दै लगेका छन् । उनी भन्छन्, ‘सर्जरी त्यस्तो क्षेत्र हो, जहाँ जति धेरै गरियो, त्यति नै धेरै जानिन्छ।’ 

एमबिबिएस पढ्दै गर्दा उनले पहिलो सर्जरी गरेका थिए, एपेन्डिसाइटिसको । पेट दुखेर हायलकायल भएको बिरामी निको भएर हाँसीखुसी गएको देख्दा उनी पनि त्यो दिन मुस्कुराएका थिए । आफ्नो कामबाट अपार सन्तुष्टि पाएको त्यो दिन उनी कहिल्यै भुल्न सक्दैनन् । त्यसैले बिरामीको मात्रै होइन, आफ्नै अनुहारमा मुस्कान ल्याउन पनि उनी तन–मन दिएर कर्मक्षेत्रमा खटिरहेका हुन्छन्। 

‘आफूले सर्जरी गरेको बिरामी निको हुँदा खुसी र नहुँदा दुःखी भइन्छ,’ उनी अनुभव सुनाउँछन्, ‘त्यसैले आफू दुःखी नहुन पनि बिरामीलाई सकेसम्म राम्रो बनाउन खोजिन्छ।’ 

उपचार अर्काेको भए पनि काम आफ्ना लागि भनेर गर्न सकियो भने धेरै सफलता हासिल गर्न सक्ने उनको अनुभव छ। 

ग्याष्ट्रो इन्टेरोलोजिष्ट (जीआई) सर्जनका रुपमा उनले पेटभित्रका अंगहरुको गाह्रा–अप्ठ्यारा प्रायः सर्जरीलाई सफलतापूर्वक पार लगाइसकेका छन् । अन्यभन्दा जटिल मानिने प्याङ्क्रियाजको सर्जरीमा उनको विशेष दक्षता छ। 

उनको रहर छ, ल्याप्रोस्कोपिक सर्जरी र कलेजो प्रत्यारोपणमा संलग्न हुने । भविष्यमा यतातिर पनि आफ्नो दक्षता देखाउने लक्ष्य लिएका छन्। 

जोशीले २०४३ सालमा कैलालीको पञ्चोदय माविबाट एसएलसी पास गरेका हुन् । पढाइमा अब्बल थिए । सो स्कुलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने उनी मात्र थिए । तीक्ष्ण मान्छेले डाक्टर नै बन्नुपर्छ भन्ने परम्परागत सोचाइले उनलाई अन्यत्र सोच्नै दिएन । त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढेका उनले २०४६ सालमा शिक्षा मन्त्रालयले निकालेको एमबिबिएस कोटामा आफैं शुल्क तिर्नेको सूचीमा नाम निकालेर पढेका हुन्। 

डोटीको सिलगढी बजारमा जन्मेका उनले सरकारी जागिरे बुवाको सरुवासँगै विभिन्न जिल्ला चहारे । ‘पश्चिम नेपालको बैतडीदेखि पूर्वको सप्तरीसम्म पुगेको थिएँ’, उनले सुनाए, ‘कक्षा १० पढ्दासम्म स्कुल मात्रै ११ वटा परिवर्तन गरेँ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live