विचार/ब्लग

डा. केसीको पक्षमा कविता: श्री ६०१ को सरकार

जेबी थापा

हे श्री ६०१ को सरकार,
मेरो २० औंलाकै बिन्ती
एक पटक
मेरो पुकार त सुनिबक्सियोस्!

अब लोकतन्त्र, गणतन्त्र हैन,
लुटतन्त्र घोषणा गरियोस्
अब व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाभन्दा माथि
माफियाहरुको पालिका राखियोस्।

अनि त सरकार
धन्य होइबक्सिनेछ
पुण्य कमाइबक्सिनेछ।

जहाँ कर्णालीवासीले सिटामोल नपाऊन्
तर माफियाहरुले भिटामिन 'एम' अर्थात् मनी पाऊन्
जहाँ गरिबका छोराछोरीले विद्यालय देख्न नपाऊन्
तर धनीका छोराछोरीले पैसामा डिग्री किन्न पाऊन्।

जहाँ डा. गोविन्द केसी जस्तालाई
पागल कहलाइयोस्
तर लोकमान जस्ता भ्रष्टहरुलाई
मान-सम्मान दिइयोस्
जहाँ गरिबलाई ऐनले पाता कसियोस्
तर धनीलाई चैनमा फुक्काफाल छाडियोस्।

अनि त सरकार
धन्य होइबक्सिनेछ
पुण्य कमाइबक्सिनेछ।

जहाँ घरखेत बेचेर उपचारका लागि,
हेलिकोप्टर चढेर शहर पस्नु परोस्
तर राजधानीमा टोलैपिच्छे घरैपिच्छे
मेडिकल कलेज खोलियोस्।

जहाँ तराईको बाढी र पहाडको महामारीमा
डा. केसी नै पुग्नु परोस्
तर यी नेताहरुलाई
देशै बेच्ने खुसामदले पुगिरहोस्।

जहाँ हजारौं सुत्केरी आमाहरु
अकालमै मर्दा कसैको मन नदुखोस्
तर गुण्डा नाइके मर्दा
नेताहरूले संसदको रोस्ट्रम घेर्न परोस्।

जहाँ उपचार खर्चको अभावमा
अस्पतालको छतबाट आत्महत्या गर्न परोस्
तर हाम्रा भीआइपीहरुलाई
विदेशी अस्पतालको सञ्जीवनी बुटी सुँघाउनै परोस्।

अनि त सरकार
धन्य होइबक्सिनेछ
हजुर पुण्य कमाइबक्सिनेछ।

(थापा मेडिकल अध्ययनरत विद्यार्थी हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live