विचार/ब्लग

अपर्याप्त भोजनले कमजोरी, अधिकले विकार

- विश्वेश्वरप्रसाद कोइराला

स्वास्थ्य खबरपत्रिका

२०२० बैशाख ७ गते शनिबार
सुन्दरीजल

आज शनिबार अखबारहरु केही आउँदैन बाहिरबाट । यहाँको नीरस नीरस दिनहरुमध्ये शनिबार झन् बढी नीरस हुन्छ । यो सोच्दा कि नीरसताको यत्रो समुद्रमा २ वर्षको लामो एकरसमय समयको समुद्रमा ६/७ जनाको समाजको क्षुद्र द्वीपमा हाम्रो जीवनको निर्वाह भई नै रहेको छ, आफैं दंग पर्छु । जीवनभित्र कुनै त्यस्तो कठिन तत्त्व हुँदो रहेछ जो हतपती मर्दो रहेनछ । शरीर तत्त्व मात्र होइन कि मानसतत्त्वको पनि कष्ट-सहिष्णुता अद्भूत हुँदो रहेछ । अमरत्वको खोजी जसलाई मानवले आफ्नो चेतनाको उदयकालदेखि गर्दै आएको छ, त्यही मानसतत्त्वको मर्न नजान्ने प्रवृत्ति-त्यसको अद्भूत कष्ट-सहिष्णुताको एउटा अभिव्यक्ति हो।

नीरसताको त मैले बारबार चर्चा गरेको छु; र मोटामोटी अनुभवले पनि हामीलाई नीरसताको प्रमाण दिन्छ । तर, सूक्ष्म ढंगबाट हेर्न थाल्यो भने यो सर्वव्यापी एकरसता-नीरसताभित्र सानासाना बहुरसताको पातला-पातला मनोरम जलरेखा प्रवाहित भइरहेका हामी पाउँछौं । हाम्रो बरन्डाका छतमा गौंथलीका जोडाले गुँड बनाउन लागेको अथक प्रयासले हामीलाई हठात् हाम्रो यो नीरस जीवनबाट केही क्षणका लागि भए पनि माथि उठाउँछ, र हामी मोहित भएर उनीहरुको प्रणययुक्त भएर परिश्रमलाई हेर्न थाल्छौं । कस्ता चञ्चल, फूर्तिला तिनीहरु छन् र कस्ता परिश्रमी र कस्ता निपुणगृहशिल्पी!

उनीहरुको आकाशमा उडाइले हाम्रो हृदयमा आनन्दको स्पन्दन जगाउँछ । उनीहरुको प्रणय-क्रीडाको सहजता र अकृत्रितमताले मानौं मानव प्रणयको अपर्याप्ततालाई स्पष्ट पार्छ । लाग्छ मलाई कि त्यो सहजता असम्भव छ । त्यो तन्मयता, त्यस्तो विमुग्धता । यस प्रकारका अरु पनि धेरै बहु-रसताका स्रोत हाम्रो जीवनभित्र यहाँ प्रवाहित भएको हामी पाउँछौं । सिपाही, अफिसरहरुको व्यवहारको अध्ययन पनि हाम्रा लागि एउटा रमाइलो काम (पेशा वा वृत्ति) भएको छ।

हिजो एउटा नयाँ मेजरले यहाँको चार्ज लियो । उसको हाम्राप्रतिको व्यवहारमा अप्ठ्यारोपन पाइन्छ, मानौं उसलाई हाम्रा अगाडि आफ्नो बर्दीका लागि संकोचको अनुभव भइरहेको छ । उसलाई द्विविधा भएको छ कि हामीलाई सलाम गर्ने वा नगर्ने ! सहानुभूति देखाउने हाम्राप्रति या कठोर आचरण राख्ने ! उसको अप्ठ्यारोपनलाई देखेर मलाई एक प्रकारको मनोरञ्जन हुन्छ तर म चाहन्छु कि उसको व्यवहार साधारण र स्वाभाविक भएर जाओस् । यसपालिको जमादार भने बडो शुष्क प्रकृतिको मानिस छ र यसपालिको पीपाहरुको दल एकदम देहचोर र अदक्ष छ । यो भन्दा पैलेको जमादार सहानुभूतिवाला व्यक्ति थियो र पीपाहरु हँसिला र जाँगरिला।

हाम्रो यहाँको जीवनमा यत्तिले नै बडो फरक पर्छ । यसपालाका भान्छे भने ठीक छैनन् । नमीठो भोजन बनाउँछन् र भोजन बाँड्दा पनि तिहुनहरु बचाएर आफूलाई राख्ने फिकिरमा रहन्छन् । आज बेलुका तरकारी नै पुगेन भनेर निस्तै जस्तो भात खायौं । मेजरले पछि हेर्दा यो देखे कि तरकारी प्रशस्त रहेछ लुकाएर राखेको । यत्तिमै हामी उत्तेजित हुन्छौं । वातावरणमा हलचल हुन्छ र नीरसताको बोझ हठात् हाम्रो काँधबाट झर्छ । जमेको हिउँ पग्लिन्छ । वातावरणको ताल भएर जान्छ।

आज पनि मलाई कमजोरको अनुभव भई नै रहेको छ । सायद मैले भोजनको मात्र बढाउनुपर्छ जस्तो छ । आजकाल पेटलाई ठीक पार्ने उद्देश्यले भोजनको मात्र धेरै घटाएको छु मैले । त्यसैले यो कमजोरी भएको होला । एउटा Vicious (घातक) वृत्तमा फसेको जस्तो छु म । अपर्याप्त भोजन भयो भने कमजोर हुने, परिमाणमा वृद्धि गर्‍यो भने पेट बिग्रिने।

२०२० कात्तिक १२ गते मंगलबार

आज आमा विराटनगर जानुभयो होला भनेर दिनभरि सम्झिरहेँ वहाँलाई । वहाँको राम्रो स्वास्थ्य छैन, र वृद्धा पनि हुनुभयो । त्यसमाथि हामीहरुको पीर वहाँलाई र घर चलाउने अभिभारा आफ्नो काँधमा । वहाँको सासह र उत्साहले मलाई प्रेरणा दिन्छ । हिजो भन्नुभयो- 'घरको चिन्ता नगर्नू; तिम्रो पिताजीको पालामा पनि मैले त्यसलाई यथाशक्य सम्हालेको थिएँ, अहिले तिम्रो पालामा पनि त्यसलाई चलाउँदै लैजानेछु ।' स्तब्ध भएर आमालाई हेरिरहेँ र सोचेँ यत्रो चाउरी परेको बार्धक्यमा पनि कत्रो उत्साह कहाँबाट भल फुटेर निस्किरहेको छ ।

फाटकमा बिदा हुँदा वहाँले मेरो दाहिने हात समात्नुभयो र अँगालो मारेर पुत्र स्नेहले म्वाइँ खानुभयो । झल्ल त्यस क्षण वहाँको स्मृतिमा १८ वर्षको आफ्नो उमेर झल्क्यो होला, जब म प्रथम सन्तान भएर वहाँको कोखमा जन्मिएको थिएँ । त्यही सन्तानलाई ४८/४९ वर्षपछि काराको फाटकको भित्र छाडेर निस्किनुपर्दा पुनः माता भएर त्यसलाई अँगाल्न पुग्नुभयो । हा, प्रेम, हा मातृहृदय-जीवनको अन्त पारावारमा सहाय्यका लागि त्यसले पाएको त्यो लघु आलिङ्गन । मेरो हातलाई सुमसुम्याएर वहाँले भन्नुभयो- 'के भएको तिम्रो हात ? कति कलिलो थियो- कालो किन भएको यो, र खस्रो?'

वहाँलाई मैले भनिनँ कि लुगा धुँदा, भाँडा पानी गर्दा, कोठा पुछ्दा मेरा हात बेसम्हारको भइसकेका छन् । आमाले भन्नुभयो- 'तेल लाउने गर्नू ।' आज आमालाई दिनभरि सम्झिरहेँ । कातर भएर भन्न मन लाग्यो- आमाको कल्याण होस्।

दशैंको लामो बिदा भएकोले अखबारहरु बन्द छ । अखबारले पनि दिनमा एकचोटि चहलपहल ल्याउँछ । त्यो बन्द होइदिँदा दिन नियास्रो हुन्छ । जेलजीपन आफैं त्यसै अभावमय हुन्छ । त्यसमा पनि नयाँ किसिमका अभाव थपिन पुग्दा जेल झन् बढी जेल जस्तो हुन्छ । आजकाल हामीहरु ट जना पनि एक्लाएक्लै भएका जस्ता छौं; आ-आफ्ना कोठामा बसिरहन्छौं । सबै introspective/introvert हुँदै गएका छन् । जेलको असर पर्दै गएको हो यो।

सदाको ४ बजे बिहान उठेर नुहाएँ । आसनक्रिया गरेँ, र एकछिन पढेँ । ब्रेकफास्ट (प्रातराश: भोजन) भन्दा पहिले १ हात ब्याडमिन्टन दिवानसँग खेलेँ । ब्रेकफास्टमा दुई फुल र दुइटा परोठा र एक गिलास चिया हुन्छ । त्यसपछि फेरि एकछिन पढेँ- कालीदासको 'विक्रमोर्वशी' । उति राम्रो लागेन- कालीदासमा भाषाको लालित्य बाहेक विशेष नाटक सम्बन्धी दक्षता या चरित्रमा विचारको उद्घाटन या घटनाक्रमको उत्कण्ठा अनिश्चयता (Suspense) पाउँदिनँ । भाषा भने अतुलनीय छ; अरु कुरो साधारण । विक्रमोर्वशीमा विभिन्न Actions लाई स्वाभाविक ढंगबाट दर्शाउने प्रयत्न गरेको क्रियाहरु छैन र जुन विषय यसमा निरोपित भएको छ, त्यसमा ‍स्वाभाविकतासम्म अदृश्य पनि छैन । किनभने स्वर्ग र मर्त्यको दृश्य; पहाडको चोटीमा हुने घटना; अदृश्य अप्सराहरु; इत्यादि त्यस्ता कुरा हुन्, जसलाई स्टेजमा स्वाभाविक र प्राकृति रुपबाट उतार्न सकिँदैन । सायद यस कुरालाई ध्यानमा राखेर कालीदासले पात्रहरुलाई ठाउँ-ठाउँ 'नाटक' गर्न लगाएका छन् (नाटर्यान्तेँ इत्यादि), जस्तो कि सिँढी चढेको जस्तो गरे (सर्वेसोपानारोहणं नाटयन्ति)। यस्तो प्रयोग- कौशलले गर्दा कालीदासका नाटकहरु प्राय: गीतिनाट्यका गुण राख्छन् । या dance drama का । टैगोरको चित्राङ्गदा।

आज सधैंको जस्तो ११ बजे भात खाइनँ । १२ बजे दूधभात र केरा खाएँ । ७ बजेको जलपानपछि ११ बजेको भोजन समय अलिक छिटै हुन्छ जस्तो लाग्छ मलाई । त्यसो हुनाले प्रयोगका लागि १ घण्टा पर सारेर हेर्न चाहेको छु । २ बजेको चिया पनि बन्द गरेँ । ४ बजेको कफी खाएँ । बेलुकीपख १ हात ब्याडमिन्टन फेरि खेलेँ।

दिउँसो दिवानलाई बेकनको दर्शन र समाजवाद पढाएँ । यता १५ दिनदेखि यो काम रुकेको थियो । आजदेखि पढाउने काम फेरि थालेँ । बेकनको चुस्त शैली मलाई खूब मनपर्छ; त्यसो हुनाले बडो मन लाग्यो पढाउनमा।

बेलुका ७ बजेको भोजन, जसमा भात, दाल, तरकारी, दूध र केही टुकडा कुखुराका हुन्छन्, खाएपछि केहीबेरसम्म पढेँ । ९ बजे सुतेँ । आजकाल सर्वाङ्ग नग्न भएर सुत्ने गरेको छु । एक त लुगा चाँडै-चाँडै मैलिदिने- तर तन्ना र सिरकको खोल चाँडै मैलिँदो रहेछ- र अर्को बिहान उठ्नेबित्तिकै नुहाउन सजिलो पर्दो रहेछ नाङ्गै सुत्ने गरेकोले । सायद स्वास्थ्यमा पनि राम्रो असर पार्छ।

समय बडो चाँडचाँडै बितिरहेछ, झन् जाडोका दिन बित्न बेर लाग्दैन।

('जेल जर्नल', २०५४ बाट साभार।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live