मुख्य समाचार

देश असहज परिस्थितिमा रहेकाले डा. केसीलाई अनशन तोड्न स्वास्थ्य मन्त्रीको आग्रह

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्।

अविरल वर्षापछि आएको बाढी-पहिरोले तराई क्षेत्रको जनजीवन अस्तव्यस्त भएकाले यस्तो विषम परिस्थितिको ख्याल गर्दै अनशन तोड्न मन्त्री पोखरेलले आग्रह गरेका हुन्।

‘डा. केसीको माग पूरा गर्न संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरिसकेको छ’, मन्त्री पोखरेलले स्वास्थ्य खबरसँग भने, 'सरकार बाढी-पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकोले उहाँले यो संवेदनशीलता विचार गरिदिनुपर्‍यो।’

अनशनका कारण डाक्टर तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा रहेकाले बाढी-पहिरो पीडितको उपचारमा बाधा पर्न सक्ने भएकाले मन्त्री पोखरेलले डा. केसीलाई तत्काल अनशन तोड्न आग्रह गरिएको बताए।

यसअघि स्वास्थ्य मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीहरुको आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । मन्त्री पोखरेलले प्रभावित क्षेत्रमा रहेका जिल्ला अस्पताल, अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई उच्च सतर्कतामा रहन समेत निर्देशन दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा प्रकोप फैलिन सक्ने सम्भावना विचार्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागलाई ‘हाइ अलर्ट’मा राखिएको मन्त्री पोखरेलले स्वास्थ्य खबरलाई बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live