मुख्य समाचार

सरकारी चिकित्सक संघको ओपिडी बन्द फिर्ता, बाढी प्रभावित क्षेत्रमा जुट्न चिकित्सकहरुलाई आग्रह

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर

काठमाडौं- अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन ओपिडी बन्द गर्ने निर्णय गरेको सरकारी चिकित्सक संघ (गोदान) ले सो निर्णय फिर्ता लिएको छ।

तराईसहितका क्षेत्रमा बाढी-पहिरोले मानवीय संकट निम्त्याएको भन्दै यस्तो असहज परिस्थितिमा स्वास्थ्य सेवामा केन्द्रित हुन आन्दोलन फिर्ता लिएको संघले जनाएको छ। संघले बाढी-पहिरोको क्षति न्यूनीकरण गर्न एकजुट हुन सम्पूर्ण चिकित्सकलाई आग्रह समेत गरेको छ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपाल सरकार र सरोकारवालाहरुलाई इमानदारीका साथ वार्तामा सहभागी भएर चिकित्सा सेवा सुधारका सन्त अभियन्ताको जीवन रक्षा गर्नहुन आग्रह गर्दछौं।'

संघले डा. केसीको जीवनरक्षाका लागि शुक्रबारबाट देशभरका स्वास्थ्य संस्थाहरुमा ओपिडी सेवा बहिष्कारको निर्णय गरेको थियो।

यसैबीच, नेपाली चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले पनि वर्षाका कारण देशका पूर्वी तथा पश्चिमी क्षेत्रका विपद् निम्तिएको भन्दै सम्पूर्ण चिकित्सकलाई घटनास्थलमा अविलम्ब खट्न आग्रह गरेको छ।

संघले सम्पूर्ण शाखा कार्यालयहरुले आफ्ना सदस्यहरुलाई बाढी-पहिरो प्रभावित क्षेत्रमा खटाएर सम्भावित सरुवा रोगहरुको नियन्त्रण तथा पीडित समुदायको स्वास्थ्य सेवामा जुट्न अपिल गरेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live