मुख्य समाचार

सूर्तीजन्य वस्तुको प्याकेटमा नियम विपरीत टाँसिन्छ राजस्वको स्टिकर

कर्मचारी–उद्योगीबीच साँठगाँठको आशंका

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– सूर्तीजन्य वस्तुका प्याकेटमा आन्तरिक राजस्व विभागले नियम विपरीत स्टिकर टाँस्ने गरेको पाइएको छ।

सरकारको नियम अनुसार चुरोट र सूर्तीका प्याकेटबाहिर ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छापिनुपर्छ । यो नियम चुरोट र सूर्तीजन्य पदार्थ बजार पठाउनुअघि पालना गरे/नगरेको यकिन गरेर स्टिकर टाँसिनुपर्छ । तर, यसो गरेको नपाइएको भन्दै नियम कार्यान्वयनका लागि स्वास्थ्य सेवा विभागले आन्तरिक राजस्व विभागलाई दोस्रो पटक पत्र लेखेको छ। 

यसअघि गत बैशाख ११ गते पनि विभागले आन्तरिक राजस्वलाई यही व्यहोराको पत्र पठाएको थियो।

बजार अनुगमनका क्रममा नियम विपरीत सूर्तीजन्य पदार्थ बिक्री–वितरण भइरहेको पाइएको भन्दै स्वास्थ्य सेवा विभागले कडाइका साथ नियम कार्यान्वयनका लागि पत्र पठाएको हो।

पत्रमा सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका कार्यान्वयमा सहयोग गर्न भनिएको छ।

सरकारले जारी गरेको यस सम्बन्धी निर्देशिका अनुसार २०७२ जेठ १ गतेदेखि नै सूर्तीजन्य पदार्थको प्याकेजिङमा ९० प्रतिशत सन्देश तथा चित्र छापिनुपर्ने थियो । तर, नियम कार्यान्वयन गराउने तहमा सूर्ती उद्योगीले गरेको आर्थिक चलखेलका कारण यो अझै कार्यान्वयनमा आउन सकेको छैन।

नियम कार्यान्वयनका लागि सरोकारवालाहरुले नेपाल सरकारका सम्बन्धित विभाग र निकायमा निरन्तर दबाव दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयका साथै उद्योग मन्त्रालय, उद्योग विभागले समेत सम्बन्धित उद्योगीलाई उक्त नियम कार्यान्वयनका लागि पत्राचार गर्दै आन्तरिक राजस्व विभागलाई अवगत गराएका छन्।

सूर्तीजन्य पदार्थका उद्योगीसँग राजस्व विभागका केही कर्मचारीको साँठगाँठका कारण सरकारको यो नियमावली कार्यान्वयन हुन नसकेको बताइन्छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live