फिचर

कुष्ठरोगले अपाङ्ग वृद्धा, जो ४० वर्षदेखि खोला किनारमा बस्छिन्

लोकेन्द्र खनाल

रुकुम– कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोट गाउँपालिकाकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएकी छिन्। बाँफिकोट गाउँपालिका–३ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न वाध्य छिन्। किशोर उमेरमै कुष्ठरोग लागेपछि उनी आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा एक्लै बस्दै आएकी हुन्। 

रोग निको भए पनि उनलाई कुष्ठरोगले अपाङ्ग बनाएको छ। रोग निको भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उनको गुनासो छ। ‘अहिले पनि गाउँमा कतै म जाँदा ‘कुष्ठरोगी आई’ भन्दै सबै टाढा भाग्छन्,’ केसीले भनिन्, ‘त्यसैले म यही कटेरोमा बस्छु।’ केसीका हात, खुट्टाका औंला छैनन् भने शरीरभरि गाँठागुँठी छन्। १३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यसबेलादेखि आफू खोलाकै किनारमा बस्दै आएको उनले बताइन्। 

सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेकी छिन्।  ‘खाने टुंगो नि छैन। कहिले भोकै सुत्सु। रात काटाउन राम्रा कपडासमेत छैनन्, अहिले वर्षाको बेला निकै समस्या छ,’ उनी भन्छिन्, ‘पानी आएर भएका सबै कपडा भिजाउँछ रातभरि आगो बालेरै बस्छु। खोलाकै किरानमा जिन्दगी बितेको भन्दै उनी अब भने यहाँ बस्न बानी परेको सुनाउँछिन्। उनले आशा गर्दै भनिन्, ‘मलाई सहयोग गर्ने कोही भए लत्ताकपडा र यो मेरा छाप्रो बनाइदिए हुन्थ्यो।’

लट्ठीको सहाराले केसी गाउँघरमा खाने कुरा जोहो गर्न निस्किन्छन्। अहिले पनि केसीलाई कसैले घर भित्र जान भने दिँदैन्। उनले आफूमाथि हुने गरेको विभेदबारे बताइन्, ‘गाउँघरमा गए पनि आँगनभन्दा टाढाबाटै खानेकुरा माग्ने गरेकी छु।’ 

रोग लागेपछि औषधि उपचार गर्ने ठाउँ नहुँदा धामीझाँक्रीको कारणले गर्दा आफू अपाङ्ग हुनु परेको अहिले उनले बुझेकी छिन्। उनी सल्लाह दिँदै भन्छिन्, ‘रोग लागेपछि धामीझाँक्रीको पछि लाग्नु हुँदैन, मेरो जस्तै हालत होला।’ 

अहिले रुकुममा १३ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। ‘समग्र जिल्लाको तथ्यांक हेर्दा कुष्ठरोगीको संख्या कम नै देखिन्छ,’ जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा. राजेन्द्र जिसीले भने, ‘स्वास्थ्यकर्मीलाई रोग पत्ता लगाउन पनि समस्या हुने र बिरामी आफैँ उपचार गराउन नआउने गरेकाले यो संख्या अझै बढी पनि हुन सक्छ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live