मुख्य समाचार

मनमोहन मेडिकल कलेज किन्न सरकारले औपचारिक पत्राचार गर्ने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज किन्नका लागि औपचारिक पत्र पठाउने भएको छ। अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित डा. गोविन्द केसीसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीका सदस्यहरु सम्मिलित थिए। 

बैठकमा मनमोहन मेडिकल कलेज सरकारले किनेर भए पनि चिकित्सा शिक्षा विधेयकमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नपाउने गरी संशोधनका लागि पहल गर्ने सहमित भएको छ।

आजै बेलुका माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठले डा. केसीका प्रतिनिधिलाई भेटी मागका विषयमा छलफल गर्ने तय भएको बताइएको छ। डा. केसीले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाएपछि सरकारले उनका मागबारे नयाँ ढंगले बहस थालेको हो। डा. केसी २१ दिनदेखि ११औँ आमरण अनशनमा छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live