समाचार

काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नदिने पक्षमा प्रचण्ड 

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ प्रा डा गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् । 

एक्काइस दिनदेखि आमरण अनशनमा रहेका डा केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताएका हुन् । भेटमा अध्यक्ष दाहालले भने, ‘काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ ।’

आफू प्रधानमन्त्री हुँदा पनि डा केसीले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको जानकारी दिँदै उनले कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन नसकेको स्पष्ट पारे । 

व्यवस्थापिका–संसदमा विचाराधीन ऐनमा ठोस व्यवस्था गरेर डा केसीलाई आश्वस्त पार्नुपर्ने र अनसन तोडाउनुपर्नेमा आफू निरन्तर छलफलमा रहेको भन्दै उनले सो बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी समेत गराए । भेटमा प्रतिनिधिमण्डलले डा केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनशन तोडाउन पहल गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको थियो । रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live