मुख्य समाचार

बाढी प्रभावित जिल्लामा स्वास्थ्य मन्त्रालयले औषधिसहित खटायो ४ टोली

स्वास्थ्य खबरपत्रिका

तस्विरः रासस


काठमाडौं– स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित जिल्लामा स्वास्थ्य उपचार लगायतको व्यवस्था मिलाउन केन्द्रबाट चार टोली पठाएको छ। मन्त्रालयले प्रभावित १८ जिल्लामा समन्वय गर्ने गरी चार स्थानमा तीन/तीन जनाका दरले टोली परिचालन गरेको हो।

केन्द्रबाट परिचालन भएका टोलीले प्रभावित जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयसँग सहकार्य गरेर आवश्यक व्यवस्था मिलाउने छन्।

मन्त्रालयले विराटनगरमा डा. गुणनिधी शर्मा, जनकपुरमा भिम सापकोटा, रौतहटमा सागर घिमिरे र नेपालगन्जमा परशुराम श्रेष्ठको संयोजकत्वमा टोली परिचालन गरेको छ। टोलीसँग मन्त्रालयले पानी शुद्ध गर्ने औषधि, जीवनजल, एन्टिबायोटिक्स, प्राथमिक उपचारका सामाग्री तथा अन्य आवश्यक औषधि समेत पठाएको छ।

विराटनगरमा खटिएका टोलीले मोरङ, झापा, सुनसरी, सिराह र सप्तरीमा, जनकपुरमा खटिएको टोलीले धनुषा र महोत्तरी, रौतहटको टोलीले रौतहटसहित सर्लाही र बारा, नेपालगञ्जको टोलीले बाँके, बर्दिया र सुर्खेतमा औषधि, उपचार र आवश्यक सहयोग उपलब्ध गराउने छन्।

टोलीले प्रभावित क्षेत्रमा झाडापखाला, जन्डिस, टाइफाइड जस्ता सरुवा रोगको महामारी फैलन नदिन आवश्यक काम अगाडि बढाउने लगायतका काम गर्ने स्वास्थ्य सचिव डा. किरण रेग्मीले जानकारी दिइन्।

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live