समाचार

अवैध रुपमा औषधि बेच्ने तीन जना विरुद्ध मुद्दा

स्वास्थ्य खबरपत्रिका

बरामद गरिएको औषधि


नेपालगञ्ज– अवैध रुपमा औषधि आयात गरी बिक्री–वितरण गर्ने तीन जना विरुद्ध औषधि व्यवस्था विभाग नेपालगञ्ज कार्यालयले मुद्दा दायर गरेको छ।

कार्यालयले दैलेखका खगेन्द्र शाही, हरिकला शाही र लोकेन्द्र शाही विरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। भारतबाट अवैध रुपमा औषधि भित्र्याएर दैलेखका दर्ता बिनाका औषधि पसलबाट बिक्री गर्ने गरेको पाइएपछि उनीहरुलाई प्रहरीले साउन १४ गते पक्राउ गरेको थियो।  

पक्राउ परेकाहरुबाट प्रहरीले ३४ प्रकारका तीन कार्टुन औषधि बरामद भएको औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसन्धान अधिकृत प्रवीण तिमल्सिनाले जानकारी दिए । 
उनीहरुले भारतको जमुनाहा नाका हुँदै नेपालमा औषधि भित्र्याउने र ती औषधिलाई दैलेखमा गैरकानुनी रुपमा सञ्चालित ‘शाही मेडिकल’ मार्फत बिक्री गर्दै आएको अनुसन्धानका क्रममा खुलेको थियो। विभाग कार्यालयले दुई साताको अनुसन्धानपछि उनीहरु विरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो। 

उनीहरुलाई अवैध औषधि ओसारपसार कसुरमा औषधि ऐनको दफा ९ र विना दर्ता औषधि पसल सञ्चालन गरेको भन्दै दफा १० बमोजिम जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live