प्रोफाइल

नेपालमा मुटु सर्जरीको जग हाल्ने डाक्टर

img

जोतारे धाइबा

कुनै समय सामान्य क्लिनिकका रुपमा सुरु भएको अहिलेको हिमाल अस्पतालका संस्थापक हुन् डा. लोकविक्रम थापा। तर, नेपालको चिकित्सा इतिहास नियाल्ने हो भने उनी निजी क्षेत्रको विकासमा मात्र अग्रसर देखिँदैनन्, केही उदाहरणीय कार्यमा जोडिएका भेटिन्छन्।

बेलायतबाट एफआरसीएस गरेका यी सिनियर सर्जनले मेडिकल प्राक्टिस जति गरे, त्योभन्दा बढी वीर अस्पताल, गंगालाल हृदय रोग केन्द्रजस्ता स्वास्थ्य संस्थाको प्रशासकीय तथा व्यवस्थापकीय भूमिकामा रहेर काम गरे। जहाँ उनी सरकारी स्वास्थ्य सेवालाई विस्तारित र प्रभावकारी पार्नमै सक्रिय रहे।

डा. थापा नेपालको त्यो समयका ‘भाग्यमानी’ डाक्टरमध्ये पर्छन्, जुन बेला चिकित्सा क्षेत्रमा कुनै सामान्य प्रयास पनि नयाँ र नमूना बन्थ्यो। यो क्षेत्रमा गर्नुपर्ने अधिकांश काम थालिएकै थिएनन्, हरेक विधा खाली थिए। संयोगले जुराएको त्यही समयमा उनले जे–जति काम गरे, त्यो उदाहरणीय भइदियो। डा. थापा त्यसैको जस पाएर ८२ वर्षमा सन्तुष्टिको हाँसो हाँस्छन्।

हेडमास्टर बन्ने सपनालाई डाक्टरले जित्दा

लोकविक्रम १९९२ सालमा तत्कालीन पूर्व २ नम्बरमा पर्ने सिन्धुलीको खनियाँखर्कमा जन्मिएका हुन्। समय क्रममा डाक्टरी अध्ययनको ढोका खुल्दै गए पनि उनले ९ वर्षको उमेरसम्म अक्षर देख्न पाएनन्।

समाजमा अंग्रेजी भाषाप्रतिको मोह त्यसबेलादेखि नै बढेको थियो। त्यो मोहले उनलाई पनि गाँज्यो। तर, समस्या के थियो भने राणाकालको त्यो अप्ठेरो परिस्थितिमा सिन्धुलीजस्तो ठाउँमा ए–बी–सी–डी पढ्ने स्कुल हुने कुरै भएन। काठमाडौँको दरबार हाइस्कुल नै एकमात्र विकल्प थियो। त्यहाँ पढ्न पनि तत्कालीन श्री ३ चन्द्र शमशेरको अनुमति चाहिन्थ्यो। यो स्थितिमा परिवारको थातबास जिल्लामै खुम्चिएको ९ वर्षे केटोले काठमाडौँ गएर पढ्नु सपनाकै कुरा थियो।

त्यसो त सिन्धुलीमा थापा खलकको तामझाम कम थिएन। हजुरबा सिन्धुली गौँडाका राइटर थिए। तिनका पाँच भाइ र तीन बहिनी छोरीमध्ये लोकविक्रमका बुवा सेनामा जागिरे थिए। बुवा गाउँबाट नजिकै पर्ने सिन्धुलीगढीमा फौजीहरुलाई तालिम दिन्थे।

छोरा लोकविक्रम भने पढ्ने कुनै उपाय नभएपछि नोकरचाकरसँगै गाई–बाख्रा चराउन गएर समय कटाउने गर्थे। बल्ल उनले २००१ सालमा ए–बी–सी–डी पढ्ने अवसर पाए। बडाहाकिमका छोराहरुलाई पढाउन भारतको दरभंगाबाट एउटा मास्टर झिकाइएको थियो। त्यही हुलमा मिसिएर उनले अनौपचारिक रुपमा अंग्रेजी पढ्न थाले।

ए–बी–सी–डी एक मेलो छिचोलिसकेपछि ‘फस्ट बुक’ भन्ने किताब पढ्नुपथ्र्यो। किताबमा उनले पढेको पहिलो अंग्रेजी वाक्य थियो– वी डू।

भारतीय गुरुले त्यो वाक्यको शब्द हिन्दीमा बुझाउथे– ‘वी डू अर्थात् हम लोग करते है।’

उनको दिमागमा त्यसको अर्थ पटक्कै घुस्दैनथ्यो। फेरि रटान मार्थे र पनि बिर्सिन्थे।

सर कड्किन्थे– ‘तिमी त बडो बुद्धू छौ। दिमागमा गोबर छ कि क्या हो?’

तर, उनको दिमागमा कुनै दिन ठूलो सपना तैरिनेवाला छ भनेर उनी आफैंलाई पनि थाहा थिएन्। उनको पढाइ किस्ता–किस्तामा विभिन्न ठाउँमा अगाडि बढ्यो। सिन्धुलीकै हतपतेमा ६ महिना, धनुषाको रघुनाथपुरमा डेढ वर्ष पढेका उनले २००४ सालमा जनकपुरमा सरस्वती हाइस्कुल स्थापना भएपछि बल्ल स्कुल भर्ना भएर पढ्ने अवसर पाए। जनकपुरमा रहेका काकाको डेरामा बसेर पढ्न सुरु गरेका उनले एकैचोटि ५ कक्षामा भर्ना पाए। त्यहाँ तीन वर्ष पढेपछि काठमाडौँ गएर दरबार हाइस्कुलमा पढ्ने दिन पनि आयो। एसएलसीमा उनीसहित १७ जना फस्ट डिभिजनमा पास भए।

जीवनमा लक्ष्य निर्धारण गर्ने क्रममा देखेका/सुनेका कुराले हुर्कंदो उमेरमा निकै अर्थ राख्छ। डा. लोकविक्रमलाई पनि त्यस्तै भएको रहेछ। जनकपुरमा पढ्दा उनले त्यहाँका हेडमास्टरको फुर्तिफार्ती र लोभलाग्दो सान देखेका थिए। त्यसले उनलाई कतिसम्म प्रभावित पार्‍यो भने, उनी सोच्थे– ‘जीवनमा म त यस्तै हेडमास्टर बन्ने हो।’ तर, समय क्रममा डाक्टर बन्ने सपनाले नै उछिन्यो।

सर्जन बनेपछि नाम कमाउने लोभ

लोकविक्रमले त्रिचन्द्रबाट आइएस्सी पूरा गरे। त्यो बेला कोलम्बो प्लान अन्तर्गत १६ जनाले एमबिबिएस पढ्ने कोटा पाउँथे। ठूलोबुवाको छोरा मोहनविक्रम थापाको पहलमा उनले भारतको इन्दौर मेडिकल कलेजमा पढ्ने मौका पाए।

उनको आफ्नै खाले हिसाब छ, ‘सिन्धुलीमा ए–बि–सि–डी पढ्ने पहिलो जिल्लावासी बनेको म सन् १९५६ मा इन्दौर गएर पढ्ने पहिलो नेपाली भएँ।’

खुब उत्साहले उनले एमबिबिएस पढे। तर, पास गरेको दिन उनलाई रातभर निद्रा लागेन।

‘एमबिबिएस त गरियो, तर केही जानिएको छैन। अनुभव नै केही भएन भनेर छटपटी मात्र भइरह्यो,’ उनले सम्झिए।

जीवनमा कतिपय अवस्थामा संयोगहरुले समस्याका खाडल पुर्ने गर्छन्। उनको हकमा पनि त्यही भइदियो। उनले पास गरेकै वर्ष सन् १९६१ मा एमबिबिएस गर्ने सबै विद्यार्थीले इन्टर्नसिप गर्नुपर्ने प्रावधान लागू भयो। उनले भारतमै बसेर ६ महिना अस्पतालमा काम गर्ने र सिक्ने मौका पाए। डेढ–डेढ महिनाका दरले उनले सर्जरीदेखि विभिन्न विधा सिके।

उनी औँसत विद्यार्थी भए पनि इन्टर्नसिपका दौरान गरेको कडा मिहिनेतले राम्रो परिणाम दियो। सबै विषयमा ‘ए प्लस’ ल्याउँदा त्यहाँका प्रोफेसरहरु छक्क परे।

इन्टर्नसिप पूरा भएपछि उनलाई प्रोफेसरहरुको सुझाव थियो, ‘तिमी यति क्षमतावान् छौ, अब सर्जरी वा मेडिसिनमा पिजी पनि गरेर जाऊ। तिमीलाई चाहिने सहयोग हामी गरिहाल्छौँ।’

सोही अनुसार नेपालमा खबर गरेर उनी एमएस गर्न थाले। तर, नेपालबाट आफन्त र शुभेच्छुकहरुको जोड आयो, एमबिबिएस गरेपछि एफआरसिएस पढे पो गजब हुन्छ भनेर।

त्यो कुरा उनलाई चित्त बुझ्यो। तीन वर्षको एमएसलाई बीचैमा छोडेर उनी नेपाल फर्किए।

एमबिबिएस गरेर आएपछि वीर अस्पतालमा केही समय काम गर्नुपर्ने नियम अनुसार ३ महिना बिताएपछि उनको पोस्टिङ राजविराजको सगरमाथा अञ्चल अस्पतालमा भयो। हर्निया लगायत अरु शल्यक्रिया गर्न जानिसकेका उनले त्यस क्षेत्रमा राम्रो डाक्टरको परिचय बनाए। त्यहाँ तीन वर्ष बस्दा पैसा पनि राम्रै कमाए। घर–जग्गा जोडे। तर, उनको मनमा खट्किरह्यो– दाम त कमाइयो, अब नाम पनि कमाउनुपर्‍यो।

त्यो समयमा डा. एसके पहाडी निकै कहलिएका चिकित्सक थिए। अर्का डा. मृगेन्द्रराज पाण्डे पनि उत्तिकै नामी। राजा महेन्द्र मुटुका रोगी भएकाले मृगेन्द्रराज बढीजसो त्यतै व्यस्त हुन्थे। एसके र मृगेन्द्रजस्तै नाम कमाउनुपर्छ भन्ने लागेपछि उनले पहाडी जिल्ला जाने सोच बनाए।

‘चाहेका सबै कुरा पाएपछि आफूूलाई त सर्जन बनेर नाम कमाउनुपरेको थियो,’ उनले भने, ‘डोटी जिल्ला अस्पतालमा सरुवा भएपछि २०२३ साल साउनमा त्यता गएँ।’

त्यसबेला देशभित्रकै ठाउँमा जान पनि सडक अभावका कारण भारतको बाटो हुँदै जानुपथ्र्यो। वर्षात्का बेला उनी काठमाडौँबाट २६ दिन लगाएर पत्नी डा. जून थापासहित डोटी पुगेका थिए।

जिल्ला अस्पताल नाम मात्रको। न कोठामा फर्निचर र अन्य आवश्यक सामान, न त छाना नै सद्दे। उनले अग्रसरता लिएर छाना हाल्न लगाए। स्थानीयहरुबाट कसैसँग खाट र कसैसँग कुर्सी मागेर फर्निचरको व्यवस्था मिलाए। यसरी १० शय्याको अस्पतालले सास फेर्न थाल्यो।

डोटीमा डा. थापाको जोडीले ६ महिना बसेर काम गर्‍यो। एमबिबिएस नै गरेकी जूनले पनि सानोतिनो शल्यक्रिया गर्ने भएकाले डा. थापालाई ठूलो भरथेग मिलेको थियो।

त्यहीँ काम गरिरहँदा गाइनाकोलोजीमा एमआरसिडिजी गर्ने अवसर पाएर डा. जून बेलायत गइन्। डोटीपछि भक्तपुर जिल्ला अस्पतालमा सरुवा भएका लोकविक्रम पनि ६ महिनापछि एफआरसिएस गर्न बेलायतकै एडिनबरा गए।

पढेर आएपछि उनी वीर अस्पताल र डा. जून प्रसूति गृहमा काम गर्न थाले। २–३ महिनामै कोशी अञ्चल अस्पताल विराटनगरमा सरुवा भयो। आफूले भनेजस्तो स्रोत–साधन र वातावरण पाएपछि उनीहरु त्यहाँ एक दशकसम्मै बसे। लगातार दसवर्षे अनुभवले दुवैलाई सिनियर डाक्टर बनायो।

डा. जूनसँगको भेट र मायाको डोरी

एमबिबिएस पढेर वीर अस्पतालपछि पहिलो पोस्टिङमा राजविराज पुगेका डा. थापाले त्यहाँ एक परिचित अनुहार देखेका थिए। केही वर्षको अन्तरालमा त्यो अनुहार देखे पनि उनलाई पटक्कै बिरानो लागेन। उनी तिनै युवती थिइन्, जो त्रिचन्द्र क्याम्पसमा आइएस्सी पढ्दा लोकविक्रमको क्लासमेट थिइन्। अर्थात् डा. जून।

त्रिचन्द्रमा उनीहरुकै ब्याचदेखि केटा र केटी एउटै कक्षामा पढ्ने व्यवस्था सुरु भएको रहेछ। उनी कक्षाको मनिटर थिए। मनिटरको भूमिकामा उनले अरु सहपाठीलाई अनुशासन र काइदा–कानून त सिकाए। तर, दुई वर्षसम्म एउटै कक्षामा पढ्दा पनि जूनसँग भने उनको एक वचन बोलचाल भएन।

त्यो बोली धेरैपछि राजविराजमै भेट हुँदा फुट्यो।

‘तपाईं यहाँ?’ अञ्चल अस्पताल परिसरमा जम्काभेट हुँदा दुवैको मुखबाट अकस्मात् निस्किएको थियो।

डा. जून उनीभन्दा ६ महिनाअघि नै त्यहाँ पुगेर काम थालिसकेकी रहिछन्। उनी भने आइएस्सीको परीक्षा दिन एक वर्ष ढिला हुँदा एमबिबिएसमा पनि ढिला हुन पुगेका थिए।

ढिलो भए पनि भेट दैवले नै जुराए जस्तो भयो। उनीहरुबीच हिमचिम बढ्दै गयो। यो हिमचिमले मायाको गाँठो कस्न ढिलाइ गरेन। उनीहरुले बिहे नगरीकनै एक–अर्कालाई मनमनै पति–पत्नी माने। २०२० सालमा जेठी छोरी जन्मिइन्।

‘बच्चा जन्मिएको खुसियालीमा दिएको भोज नै हाम्रो बिहे–भोज बन्यो,’ डा. थापाले हाँस्दै सुनाए।

रोशन र रिता यो दम्पतीका दुई छोरी हुन्। जेठी छोरी रोशन थापा रायमाझीले बा–आमाको बिँडो थाम्दै चिकित्सकका रुपमा सेवा दिइरहेकी छन्।

हार्ट सर्जरी र सामुदायिक काम

कोशी अञ्चलमा एक दशक खारिएर आएपछि डा. लोकविक्रम व्यवस्थापकीय जिम्मा सम्हाल्ने गरी वीर अस्पताल आए। त्यहाँ आइसकेपछि गठन भएको सोसाइटी अफ सर्जरीको पहिलो अध्यक्ष नै बने उनी।

वीरमा रहँदा चिकित्सा क्षेत्रमा चालेका केही कदमहरु सम्झँदै उनी गर्व मान्छन्। यसमा वीर र त्रिवि शिक्षण अस्पतालले संयुक्त रुपमा सञ्चालन गरेको पिजी अध्ययन, गंगालाल हृदय रोग केन्द्रको स्थापना लगायत मुख्य छन्।

०४६ सालको परिवर्तनपछि बनेको सरकारका स्वास्थ्यमन्त्री रामवरण यादवले एकचोटि सबै सिनियर डाक्टर र सर्जनहरुलाई बोलाएर स्वास्थ्य क्षेत्रका समस्या र गर्नुपर्ने आवश्यक कुराबारे छलफल गरेका थिए। उनले सबैको धारणा मागे, ‘नयाँ के गर्नुपर्‍यो? कहाँ के चाहियो?’

डा. लोकविक्रमले आफ्नो पालोमा भने, ‘वीरलाई यो र टिचिङलाई त्यो कुरा चाहिन्छ भन्ने होइन, दुवै हस्पिटल मिले हामी नेपालमै पिजी सुरु गर्न सक्छौँ। एमएस र एमडी सुरु गर्न काम गरौँ। त्यसो गर्न सकियो भने विशेषज्ञता अध्ययनका लागि विदेशबाट कोटा माग्नै पर्दैन।’

तत्कालीन मन्त्री यादव केही बोलेनन्। ३–४ दिनपछि उनलाई बोलाएर भने, ‘तपाईं जुनियर भए पनि तपाईंको अग्रसरतामा यो काम अघि बढाऔँ।’

नभन्दै सर्जरीमा डा. थापा, मेडिसिनमा डा. डम्बरबहादुर कार्की, गाइनोमा डा. दिव्याश्री मल्ल, एनेस्थेसियामा डा. विशारदमान श्रेष्ठले सम्हाल्ने गरी ‘पिजी एमइसिसी’ प्रोग्राम पढाउन सुरु भयो।

वीरमा सर्जरी विभागलाई व्यवस्थित गर्न पनि उनले हात हाले। उनी वीरमा सर्जरीको हेड अफ डिपार्टमेन्ट हुनुअघि हाडजोर्नी, किड्नी, हर्निया लगायत सबै काम सबै डाक्टरले गरिरहेका थिए। एउटा डाक्टरले एउटा शाखा हेर्ने विशिष्टीकृत सेवा सुरु हुन सकेको थिए।

‘मैले अब स्पेसिफिकेसनमा जानुपर्छ भनेर सबै सर्जनलाई एक–एक चिज लिनुस् र बाँकी बँचेको म हेर्छु भनेँ,’ उनले सम्झिए, ‘सबैले आफ्नो रुची र पकडलाई ध्यानमा राख्दै न्युरोदेखि मिर्गौलाको सर्जरीसम्म आफ्नो जिम्मामा लिए। बाँकी रहेको हार्ट र लङ सर्जरी मैले सम्हालेँ।’

हार्ट र लङ सर्जरीलाई उनले अलग्गै शाखा बनाए। तर, त्यो कुरामा तत्कालीन मन्त्री र सचिवले मुटु र फोक्सो सम्बन्धी रोग त धनीहरुलाई लाग्ने हो, यसमा केही गर्न सकिँदैन भनेर अग्रसरता नदेखाएको उनीसँग तीतो अनुभव छ।

त्यो स्थितिमा उनले हार्ट र लङको सर्जरीका लागि आवश्यक पर्ने उपकरण र अन्य व्यवस्था मिलाउन रोटरी क्लबको सहयोग लिए। उनले भने, ‘यो सन् १९९५ तिरको कुरा हो। उपकरणको चाँजोपाँजो मिल्यो। सहयोग गर्न अस्ट्रेलियाबाट विज्ञ चिकित्सकको टोली आएपछि वीरमा मुटुको शल्यक्रिया सुरु भयो।’

हार्ट सर्जरीमा आफ्नै जनशक्ति विकास गर्न डा. दामोदर पोखरेललाई अस्ट्रेलिया र डा. भगवान कोइरालालाई बंगलादेश पठाइयो। कार्डियो र एनेस्थेसियामा पनि २–२ जनालाई पढ्न पठाइयो।

६० वर्षमा रिटायर्ड हुने भए पनि हार्ट र लङ विभाग हेर्ने विशेषज्ञ नभएपछि उनले थप दुई वर्ष वीरमा काम गरे। पछि डा. दामोदर पोखरेलले अस्ट्रेलियाबाट फर्किएर उनको ठाउँ सम्हाले।

गंगालाल स्थापना

डा. थापा वीर अस्पतालमा रहँदैको कुरो हो, नेपाल हार्ट फाउन्डेसनका अध्यक्ष मृगेन्द्रराज पाण्डे थिए भने उनी उपाध्यक्ष। नेपालमा मुटुको उपचारलाई व्यवस्थित पार्ने र छुट्टै ठाउँमा संरचना बनाउने कोरा योजना पाकिरहेको थियो।

त्यतिबेलै बाँसबारी छालाजुत्ता कारखाना बन्द भएर त्यसले उपभोग गरेको जमिन खाली थियो। डा. थापाले पहल गरे, त्यो ठाउँ सरकारले हार्ट सर्जरीका लागि उपलब्ध गराइदिनुप¥यो।

त्यसबेला मनमोहन अधिकारी प्रधानमन्त्री थिए। उनले प्रधानमन्त्रीकहाँ गएर आग्रह गरे। प्रधानमन्त्री अधिकारीले सोचविचार गरेर स्वास्थ्यमन्त्री राधाकृष्ण मैनालीलाई बोलाएर भने, ‘डा. थापाको योजना राम्रो छ, त्यसको व्यवस्था मिलाउनु होला।’

त्यसको भोलिपल्ट बाँसबारी छालाजुत्ताको जग्गा मुटु रोगको अस्पतालका लागि दिने सरकारी निर्णय आयो।

त्यसबेला यो अस्पतालको नाम गंगालालको नाममा रहनुको पनि रोचक कथा रहेछ। बाँसबारीको जग्गा दिने निर्णय भइसकेपछि प्रधानमन्त्री मनमोहनले डा. थापालाई बोलाएर सोधेछन्, ‘०७ सालका चार शहीदमध्ये तीन जनाको नाममा केही न केही पूर्वाधार र संरचना छन्, गंगालालको नाममा केही पनि छैन। हार्ट सर्जरी अस्पताल उहाँको नाममा राख्न तपाईंहरुलाई केही आपत्ति छ?’

डा. थापाले सहजै स्विकारे, ‘केही अप्ठेरो छैन। हामीलाई त हार्ट सर्जरी गर्ने ठाउँ चाहिएको हो।’

त्यसपछि गंगालाल हृदय रोग केन्द्रको काम धमाधम अघि बढ्यो। गंगालाल सञ्चालक समितिको अध्यक्ष भएर डा. थापाले अग्रसरता लिए। अस्पतालको सेवा सुरु गर्ने बेलामा अस्ट्रेलियाबाट विशेषज्ञ चिकित्सकसहितको ५०–६० जनाको टोली आएको क्षण उनी अहिले पनि सम्झन्छन्।

रिटायर्ड भएपछि झन् बेफुर्सदी

वीर अस्पतालबाट ६२ वर्षको उमेरमा बिदा भएपछि पनि डा. थापाको दौडधूप थामिएन। लगत्तै उनी काठमाडौँ मेडिकल कलेजमा हेड अफ सर्जरीका रुपमा प्रोफेसर भएर दुई वर्षसम्म बसे। त्यही बेला उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइस चान्सलर बन्ने प्रस्ताव आयो। ‘त्यहाँ तीन वर्ष काम गरेर ०६२–६३ को जनआन्दोलनपछि छाडिदिएँ,’ उले भने, ‘विवाद भएपछि राजीनामा दिएर काठमाडौँ आएँ।’

काठमाडौँ उनी सुस्ताउन आएका थिएनन्। नेपाल मेडिकल कलेज गएका उनी त्यहाँ कार्डियोथेरापी स्थापना गर्ने काममा जुटे। तर, स्वास्थ्यमा खराबी आएपछि उनले त्यो जिम्मेवारी छाडे। केही समय आराम गर्न पाएका थिएनन्, प्रा.डा. सुरेशराज शर्माले उनलाई काठमाडौँ विश्वविद्यालय धुलिखेलमा सर्जरी विभाग सुरु गर्ने प्रस्ताव गरे।

सुनाए, ‘तीन महिनाको लागि गएको थिएँ। तर, अरु प्रोफेसर नपाएपछि भोलि–भोलि भन्दाभन्दै सात वर्षसम्म काम गरेँछु।’ उनले दुई वर्षअघि मात्र केयू छोडेका हुन्।

८० वर्षे उमेरमा केही गर्दिनँ भनेर बसिरहँदा पनि उनले फुर्सद पाएनन्। काठमाडौँ मेडिकल कलेजले प्रोफेसर बस्दिनुपर्‍यो भनेर आग्रह गर्‍यो। त्यहाँ आबद्ध भएका उनले गत वर्षको माघमा जिम्मेवारी छाडेका हुन्।

उनले मेडिकल प्राक्टिस गर्न छाडेको सात वर्ष भइसकेको छ। प्राक्टिस छाडेर अध्यापन र व्यवस्थापकीय फाँटमा व्यस्त भएका उनी अहिले भने पूर्ण रुपमा हिमाल अस्पताललाई समय दिइरहेका छन्। उनी अस्पतालका अध्यक्ष छन्। अस्पताल सञ्चालन र अन्य रेखदेखको काम जेठी छोरी डा. रोशनले हेर्छिन्।

चार दशकअघि डा. थापा दम्पतीले यो अस्पताल एउटा सानो क्लिनिकका रुपमा सुरु गरेका थिए। दिउँसो वीर अस्पताल र प्रसूति गृहमा समय दिनुपरे पनि बिहान–बेलुकाको खाली समयको सदुपयोग गर्न सन् १९७८ मा क्लिनिक सुरु गरेका थिए।

अहिले फलेफुलेको अस्पतालको स्वरुप र विगतमा आफूले गरेका उदाहरणीय काम सम्झिएर डा. थापा चैनले सुस्ताइरहेका हुन्छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live