नर्सिङ

स्वास्थ्य मन्त्रीलाई नर्सको दोस्रो पत्र: मैले न्याय पाउँछु कि विदेश भासिनुपर्ने हो?

म थाकेँ, तर हारेकी हैन

त्रजिना जति, स्टाफ नर्स

माननीय स्वास्थ्य मन्त्रीज्यू,

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा विगत पाँच वर्षदेखि नर्सिङ पेसामा काम गरेकी ममाथि भएको ज्यादतिबारे यसअघि मैले खुला पत्रमा लेखेको थिएँ । मेरो पहिलो पत्र तराईको बाढीले समग्र राष्ट्रलाई पीडा परिरहेको बेला तपाईंले पढ्न भ्याउनुभएन होला।

राष्ट्र नै पीडामा रहेका बेला हाम्रो नर्सिङ पेसाको हालत तथा यस्ता संस्थामा काम गर्नेहरुको हकहित सायद प्राथमिकतामा परेन। यसै कारण हाम्रो चरम श्रम शोषण र थिचोमिचो विरूद्ध बोलिदिन र समस्याको समाधान समयमै गर्न भ्याउनुभएन होला।

देशलाई नै दुखेको बेला यहाँले त्यसको समाधान दिन नसक्नुभएकोमा मलाई गुनासो पनि छैन।

चरम श्रम शोषण व्याप्त रहेको यस मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र नर्सिङ डाइरेक्टर इन्दिरा प्रधानलाई सायद राष्ट्रलाई परेको यो विपत्ति यो घटना दबाउने राम्रो अवसर बन्न गयो। स्वास्थ्य क्षेत्रको अन्यायबारे सञ्चार माध्यमबाट आवाज उठाउँदा पनि अहिलेसम्म समाधानको कुनै पहल थालिएन । यसले उहाँहरूको मनोमानी र दादागिरीलाई सही साबित गर्न र भविष्यमा अझै यस्ता गतिविधि जारी राख्न बल थपेको मलाई महसुस भएको छ।

यस्तो ज्यादति विरूद्ध लड्दालड्दै मेरा पैंताला खिइँदै छन्, मेरो स्वर सुक्दै छ । म थाकेको छु, तर हारेकी छैन।

म यस अस्पतालबाट निष्कासित भएकोमा मलाई कुनै गुनासो छैन । दुःख यस कुरामा छ, मैले नर्सिङ पेसाको हकहित सम्बन्धी उठाएका मुद्दा तथा त्यहाँ ठेकेदारी प्रथा अनुसार अति न्यूनतम पारिश्रमिकमा काममा लगाइएका मजदुरका अधिकारका आवाज अब उठ्न दिइनेछैन, नाटकीय रूपमा सबै लुकाइनेछ। यदि छानबिन कमिटी आए पनि कार्यकारी निर्देशक तथा नर्सिङ डाइरेक्टरकै पक्षपोषण गर्ने, कर्मचारी र मजदुर वर्गमा डर-धम्की देखाएर आफ्ना अनुकूलका कुरा देखाइनेछ । अन्तत: सबै कुरा सेलाएर सामसुम हुनेछ भन्ने मलाई डर छ। 

अस्पताल प्रशासनको मनपरी शैलीको विरूद्ध विमति राख्दा मलाई जागिरबाट निष्कासन गरियो । आफूमाथि भएको यो अन्यायबारे सार्वजनिक रुपमा बोल्दा पछिल्लो समय मैले मूल्य चुकाउनुपरिरहेको छ।

कति दुःखलाग्दो कुरा, केही दिनयता यस अस्पताल प्रशासनले एउटा अभियान सुरू गरेछ। त्रजिनाको स्वभाव झगडालु थियो, अनुशासनमा नबस्ने र अराजक थिई भन्ने जस्ता बनावटी कुरामा आफ्ना पक्षधरलाई एकत्रित गरेर अनि कोटा पुर्‍याउन मेरै साथीहरूलाई समेत जागिर खाइदिने धम्की दिएर हस्ताक्षर अभियान चलाइएछ । कार्यकारी निर्देशक श्रेष्ठ, नर्सिङ डाइरेक्टर प्रधान र प्रशासकिय अधिकृत हरिहर पोखरेलज्यूहरुको यस्तो निम्न स्तरहको कार्यशैली कति दिन टिक्ला ? उहाँहरु आफू सच्चिएर आउनुको साटो मेरो चरित्रहत्या गर्न उद्यत हुनुहुन्छ । उहाँहरुलाई मेरो सुझाव छ, बरू ती नर्सिङ पेसामा आबद्ध साथीहरूको मर्म बुझेर धाँधलीरहित भर्ना प्रक्रिया चलाउनोस्, नेताको चाकडी गर्न छोड्नोस् ! सधैं यही शैलीले संस्था चलाउँछु भन्ने दिवास्वप्न त्याग्नोस्। 

माननीय मन्त्रीज्यू,

नर्स भर्ना प्रकरणका सम्बन्धमा मैले यो प्रक्रिया गलत छ भनेर आवाज उठाउँदा पनि उहाँहरूले यस्तै हस्ताक्षर अभियान चलाउनुभएको थियो। परीक्षामा पास भएकाहरूलाई पाएको जागिर जान्छ भन्ने डर देखाएर यो परीक्षा निष्पक्ष छ भन्दै हस्ताक्षर गर्न बाध्य गरियो। परीक्षा निष्पक्ष छ भन्ने कुरा त परीक्षार्थी सबैले अनुभूति गर्नुपर्ने हैन र ? तर, त्यसो भएन । अस्पताल प्रशासनले आफूले गरेका काम सही देखाउन सधैं नाटकीय प्रक्रियाको सहारा लिँदै आयो । त्यही नाटकीय प्रक्रियाको भित्री पाटोमा रहेको आर्थिक चलखेलको त झन् कुरै छाडौं।

हामी नर्सहरु कुनै न कुनै रुपमा शोषित हुँदै आएका छौं । कहिले भोलिन्टियर भनेर श्रम शोषण गर्ने त कहिले 'सेसन वेसिस' भनेर अति न्यूनतम पारिश्रमिकमा काम लगाउने प्रवृत्ति छ । यसरी सधैं श्रम शोषण खेप्नुपर्ने यो कस्तो पेसा हो? 

माननीय मन्त्रीज्यू,

पछिल्लो समय मलाई नर्स साथीहरुसहित धेरै नेपाली दिदीबहिनी र दाजुभाइको साथ र हौसला मिल्यो। नर्सिङ एसोसिएसन नेपाल र स्वास्थ्यसँग सम्बन्धित मजदुर संगठनको आडभरोसा पनि मिल्यो । तर, थाहा छैन, यो भरोसा र आश्वासन केवल आश्वासन मात्र हो कि के हो! 

साथको वाचासँगै यसबीचमा मैले कतिपय राजनीतिक वृत्तबाट धम्की पनि पाएँ । ज्यादति भोगेर मैले न्याय मागिरहँदा यो यात्रामा थुप्रै बाधा-व्यवधान खडा गरिँदै छ।

विडम्बनाको कुरा त भक्तपुर प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालयसामु न्याय माग्न जाँदा पनि पीडितलाई न्याय दिलाउनु लाग्नु त कता हो कता, उल्टै मलाई मानसिक तनाव दिइयो। कतिसम्म भने, शान्तिपूर्ण विरोधलाई हस्तक्षेप गरेर मलाई प्रहरी कार्यालय पुर्‍याइयो, त्यो पनि अस्पताल प्रशासनको हास्यास्पद कारण देखाएर। मैले विरोध गर्दा बिरामीको उपचारमा खलल पुग्यो रे । जब कि अस्पतालमा उपचारार्थ रहेका सबै बिरामी मेरो साथमा शान्तिपूर्ण तरिकाले विरोध गरिरहेका थिए।

मन्त्रीज्यू,

अहिले मलाई एउटा दुविधाले सताउन थालेको छ। तपाईंहरुले यस मुद्दामा उदासीनता र ढिलासुस्ती देखाइरहँदा सजना देउला, कृति श्रेष्ठ लगायत नर्सहरु र विकास महर्जन जस्ता टेक्निसियन र समग्र मजदुरका लागि म लडिरहूँ कि यो विषय यत्तिकै थाती राखेर विषयान्तर गरौं! तपाईंहरूले मौनता साँधिरहेको अवधिमा कार्यकारी अधिकृत डा. पुकारचन्द्र श्रेष्ठ, नर्सिङ डाइरेक्टर इन्दिरा प्रधान, अस्पताल प्रशासन प्रमुख हरिहर पोखरेलहरू मेरो चरित्रलाई धमिल्याउन र म गलत रहेको बनावटी कागजात तयार गर्न व्यस्त छन्। मजदुर हकहित, नर्सिङ पेसाका अधिकारलाई पैंतालाले कुल्चिन राजनीतिक भेटघाटमा व्यस्त छन्। यसका साथै मन्त्रालयमा बनावटी फाइल पेस गर्न कसरत गरिरहेका छन्। 

मन्त्रीज्यूले स्वास्थ्य क्षेत्रमा गरेका सुधारका उदाहरण हेर्दा यो विषयको पनि गम्भीरता बुझेर कदम चाल्नुहुनेछ भन्ने आस गरेको छु।

यदि न्यायका लागि हामीले बोल्दाबोल्दै र लड्दालड्दै पनि म जस्ता हजारौं नर्स र हामी जस्तै ज्यादति खेपिरहेका मजदुरको मर्म बुझिन्न भने  हामीले आवाज उठाउनुको केही अर्थ छैन। सरकारमा बसेर केही गर्न सक्नुहुन्न भने एक वचन भनिदिनुस्- 'स्वास्थ्य मन्त्री भएर पनि म केही गर्न सक्दिनँ।'

म पनि पासपोर्ट बोकेर विदेश भासिने तयारीमा लाग्नेछु।

यो पनि पढ्नोस् - 
स्वास्थ्यमन्त्रीलाई एक नर्सको पत्रः ममाथिको ज्यादतिको क्षतिपूर्ति के?

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live