फिचर

सरकारी अस्पतालमा शल्यक्रिया: १ वर्षमा पनि आउँदैन पालो

एक वर्षमा कहाँ कति शल्यक्रिया ? कहाँ कति लाइन ?

img

प्रवीण ढकाल

असारको अन्तिम साताको आइतबार कान्ति बाल अस्पतालको सर्जिकल ओपिडीमा बिरामी बालबालिकाको घुइँचो थियो । डा. मधुसुदन पुन बिरामी बालबालिकाको समस्या खुट्याइरहेका थिए । कैलालीबाट ७ वर्षीय छोरा लिएर आएका कृष्णबहादुर देउवाको हातमा ओपिडी टिकट थमाउँदै भने, ‘छोराको हनिर्याको शल्यक्रिया गर्नुपर्छ । शल्यक्रियाको मिती २०७५ जेठ २७ गते।’

आधा घन्टामा सकिने हर्नियाको शल्यक्रिया गर्न एक वर्षपछिको पालो पाएका कृष्णबहादुरले डाक्टरलाई सोधे, ‘अलि छिटो पालो आउँदैन डाक्टरसाप, एक वर्षपछि अप्रेसन गर्दा त रोग थप बल्झिएला नि ?’ डा. पुनले शल्यक्रियाको मिति लेखिएको रेकर्ड पुस्तक देखाई मुस्कुराउँदै भने, ‘हेर्नोस्, न तपाईंको जस्तै लाइनमा बस्नेहरुको सूची यति लामो भइसकेको छ । म त छिट्टै गर्न चाहन्थेँ नि, के गर्नु बिरामीको चाप यति धेरै छ कि पालो नकुरी उपायै छैन।’

डा. पुनले कृष्णबहादुरलाई छोराको रोगले दुःख नदिने र एक वर्षपछि समयमै आएर शल्यक्रिया गर्न सुझाएपछि उनी सर्जिकल ओपिडीबाट बाहिरिए।

ओपिडीकै अर्कोतर्फ बिरामी हेरिरहेका अर्का डाक्टर विजय थापाले पनि आफ्नो रेकर्ड पुस्तकको सूची बारे जानकारी दिँदै भने, ‘डाक्टर पुनको भन्दा मेरोमा एक महिना चाँडो पालो आउने रहेछ ।’ अर्थात् उनकोमा २०७५ वैशाख अन्तिम सातासम्मलाई शल्यक्रियाका लागि बिरामीको नाम चढिसकेको छ।

केन्द्रीय बाल अस्पताल भएका कारण देशभरबाट आउने बिरामीको चापले शल्यक्रियाको लाइन एक वर्षपछिसम्म पुगेको डा. थापा बताउँछन् । उनका अनुसार अस्पतालमा हाल जम्मा दुई वटा अप्रेसन थिएटर छन् । ‘बिरामीको चाप थामिनसक्नु छ । तर, जनशक्ति र पूर्वाधार २० वर्षअघिदेखि उस्तै छ,’ उनले भने, ‘त्यसकारण हनिर्या, हाइड्रोसिलजस्ता समस्याको शल्यक्रियका लागि बिरामीले लामो समय कुनुपर्ने वाध्यता छ।’ 

कान्तिमा हाल सर्जिकल ओपिडीमा औसत एक सय बिरामी दैनिक उपचारका लागि आउने गर्छन् । तीमध्ये आधा जसोको रोग औषधि–उपचारबाट ठिक हुन्छ भने आधाजसोलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, दुई वटा मात्र शल्यकक्ष भएका कारण कान्तिमा दैनिक १५ जनाको मात्र शल्यक्रिया हुँदै आइरहेको छ । यो आधारमा हेर्दा पनि दैनिक ३० देखि ३५ जना बिरामी शल्यक्रिया गर्नुपर्ने सूचीमा थपिँदै जान्छन्।

डा. थापाका अनुसार यीमध्ये केही निजीमा जान्छन् भने धेरैजसो पालो कुरेरै बस्छन् । ‘यहाँ पाँच हजारमा हुने शल्यक्रिया निजीमा ३० हजारभन्दा माथि पर्छ,’ उनी भन्छन्, ‘गरिब परिवारका धेरै बिरामी लामो लाइन भए पनि पालो कुरेरै  शल्यक्रियाका लागि आउँछन्।’ 

असारकै अन्तिम साता सहिद गंगालाल हृदय केन्द्रका शल्यचिकित्सक डा. रामेश कोइरालाले एकै दिन सात वटा शल्यक्रिया गरे । शल्यक्रियाका विषयमा जानकारी दिँदै उनले भने, ‘एक दिनमै मैले मात्र सातवटा शल्यक्रिया गर्दा पनि बिरामीको लाइन माघसम्म पुगिसकेको छ ।’ उनले हरिप्रसाद शर्माको नाममा माघ २७ गतेलाई शल्यक्रिया बुक भइसकेको जानकारी दिए।

शर्माको कोरनी आर्टरी बाइपास ग्राफ्ट गर्नुपर्नेछ । यो भनेको ओपन हार्ट सर्जरी हो । मुटुको धमनीमा स्टेन्ट राख्न नमिल्ने बिरामीका लागि यस्तो शल्यक्रिया गर्नुपर्छ । यस्तो शल्यक्रियालाई बाइपास सर्जरी भनिन्छ। 

डा. कोइरालाका अनुसार गंगालामा यस्ता बिरामीसहित आकस्मिक अवस्थामा नरहेका मुटुका धेरै समस्याको शल्यक्रियाको लाइन माघ–फागनुसम्म पुगेको छ । ‘यहाँ डाक्टर अनुसार शल्यक्रियाको लाइन छ,’ उनले भने, ‘बिरामीले फलानो डाक्टरबाट नै शल्यक्रिया गर्छु भनेका कारण कुनै डाक्टरको नाममा शल्यक्रियाका लागि एक वर्षसम्म लाइन पुगिसकेको छ।’ 

गंगालाल अस्पतालमा हाल तीन वटा शल्यकक्ष छ । बिरामीको चाप अनुसार शल्यकक्षको अभाव भएपछि अस्पतालले यो वर्ष एउटा शल्यकक्ष थप्ने तयारी गरेको छ । गत वर्ष अस्पतालमा एक हजार ६ सय ८३ वटा शल्यक्रिया भएको थियो भने एन्जियोप्लास्टी, पेसमेकर राख्ने जस्ता क्याथल्याबबाट सात हजार सात सय १५ बिरामीको उपचार भएको थियो।

पत्थरीको शल्यक्रियामा एक वर्षभन्दा बढीको पर्खाइ

शल्यक्रियाका लागि एक वर्षसम्मै कुनुपर्ने अर्को अस्पताल हो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल । शिक्षण अस्पतालमा शल्यक्रियाका लागि सबैभन्दा लामो समय कुर्नुपर्ने भनेको पित्तथैलीको पत्थरीका लागि हो । यसका लागि अस्पतालमा एक वर्षभन्दा बढी समय कुनुपर्छ। 

पित्तथैलीमा शून्य दशमलव ९ एमएमको पत्थरी भएको कुनै एक बिरामी आज शिक्षण अस्पतालमा गयो भने उसको शल्यक्रियाको पालो २०७५ सालको भदौतिर मात्र आउँछ । यस अवधिमा त्यो बिरामीको पत्थरी बढेर कत्रो भइसक्छ होला ? बिरामीलाई मानसिक तनाव कति हुन्छ होला ? ‘बिरामीलाई छिटो भन्दा छिटो उपचार सेवा दिन हामी प्रयास गरिरहेका छौं तर यो हाम्रो वाध्यता हो,’ अस्पतालका निर्देशक डा. दीपकप्रकाश महराले भने, ‘जिल्लातिरै हुने शल्यक्रियाका लागि पनि बिरामी यहाँसम्म आउने हुँदा लोड थपिएको हो।’ 

उनका अनुसार अस्पतालमा विधागत रुपमा विशेषज्ञ शल्यक्रिया सेवा भएकाले पनि हरेक विधामा लामो चाप हुने गरेको छ । अस्पतालमा सामान्य शल्यक्रियादेखि लिएर न्युरो, युरो, पेडियाट्रिक, प्लास्टिक, ग्यास्ट्रोइन्टेरोलोजी, नाक, कान, घाँटी, आँखा, डेन्टल, प्रसूति तथा स्त्री जस्ता विधामा शल्यक्रिया सेवा उपलब्ध छन् । मुटुको शल्यक्रिया भने अस्पताल परिसरमा रहेको मनमहोन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हुन्छ।

अस्पतालमा पत्थरी, हर्निया, हाइड्रोसिल, हाडजोर्नी, पिसाब नली लगायत रोगका बिरामीको लाइन लामो छ । लामो समय लाइन बस्नुपर्ने वाध्यतालाई कम गर्न अस्पतालले सेवा विस्तार गर्दै लगिरहेको निर्देशक महराले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाल ९ वटा शल्यकक्ष छन् । आकस्मिक कक्षमा रहेको मोडुलर शल्यकक्ष भने अझै प्रयोगमा आउन सकेको छैन । अस्पतालले बिरामीको चाप कम गर्न आकस्मिक कक्षमा रहेको उक्त शल्यकक्षलाई प्रयोगमा ल्याउनुका साथै अरु शल्यकक्ष थप्ने काम अगाडि बढाइसकेको छ।

हाडजोर्नीमा क्रमशः चाप बढ्दै गएकाले यसको क्षमतालाई दोब्बर गर्दै ७५ शय्यामा विस्तार गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । हाडजोर्नीका लागि मात्र छुट्टै तीन वटा शल्यकक्ष निर्माण गर्न लागिएको छ । यस्तै, बालबालिकाका लागि पनि छुट्टै शल्यकक्ष निर्माणको काम अगाडि बढाइएको छ । ‘यो वर्षभित्र सबै निर्माण कार्य सम्पन्न हुनेछ,’ डा. महराले भने, ‘यो विस्तारसँगै शल्यक्रियाका लागि अहिलेको एक वर्षको लाइन घटेर चार पाँच महिनासम्ममा झर्नेछ।’

शिक्षण अस्पतालमा आर्थिक वर्ष २०७३÷७४ को जेठ मासन्तसम्म १४ हजार पाँच सय ६२ वटा शल्यक्रिया भएका थिए । तीमध्ये ६ हजार सात सय ९४ मेजर र दुई हजार सात सय ९९ सय माइनर शल्यक्रिया भए भने नाक, कान, घाँटीमा एक हजार ९ सय ४६ र सर्जिकल ओपिडीमा एक हजार एक सय ७५ शल्यक्रिया भए । यस्तै, शल्यक्रिया मार्फत एक हजार आठ सय ४८ जना सुत्केरी भएका थिए। 

वीरमा उस्तै छ व्यथा

वीर अस्पतालमा पनि शल्यक्रियाका लागि बिरामीले झन्डै एक वर्षसम्म पालो पर्खिन्छन् । साधारण शल्यक्रिया, एपेन्डेक्टोमी, पत्थरी, युरोलोजी, डल्लाडुल्ली निकाल्ने, प्याङ्क्रियाजका समस्या आदिको शल्यक्रियाका लागि वीरमा बिरामीले ६ देखि आठ महिनासम्म कुनुपर्ने अवस्था छ । तर, गम्भीर तथा आकस्मिक शल्यक्रिया भने छिट्टै हुने गरेको ग्यस्ट्रो इन्टेरोलोजिस्ट (जिआई) सर्जन डा. सुवोध अधिकारी बताउँछन्।

‘रोग तथा समस्याका आधारमा शल्यक्रियाको लाइन फरक–फरक हुने गरेको छ,’ डा. अधिकारीले भने, ‘क्षेत्रीय तथा जिल्ला अस्पतालमा समेत सहज रुपमा हुने शल्यक्रियाका लागि वीरमा आउने क्रम नरोकिएकाले थोरै शल्यकक्ष भएको वीरमा लाइन घट्न नसकेको हो।’ 

उनका अनुसार वीरमा शल्यकक्षसँगै पोस्टअप वार्डको कमीका कारण पनि शल्यक्रियाको लाइन लामो हुने गरेको छ । पोस्टअपमा शय्या खाली नभएकै कारण धेरै पटक लाइनमा बसेका बिरामीको शल्यक्रिया पनि पछाडि धकेलिने गरेको छ । वीरमा अहिले २ वटा मेजर, एउटा माइनर र एउटा आकस्मिक शल्यकक्ष छ। 

वीर अस्पतालमा अहिले जिआई सर्जरीमा डा. अधिकारी एक्ला सर्जन हुन् । त्यसकारण पनि जिआई सर्जरीमा बिरामीको चाप थपिँदै गएको छ । उनका अनुसार गत वर्ष उनको विभागमा मात्र दुई सय ५७ वटा शल्यक्रिया भए भने आकस्मिक शल्यक्रिया ४८ वटा भए । उनी भन्छन्, ‘यदि शल्यकक्ष, पोस्टअप, शय्या र जनशक्ति थप्ने हो भने अहिलेको यो लाइन स्वाट्टै घटाएर १५ दिनदेखि एक महिनासम्म ल्याउन सकिन्छ।’

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र थापाले अस्पतालमा सेवा विस्तारको काम अगाडि बढिरहेकाले केही समयपछि शल्यक्रियाका लागि बिरामीले लामो समय कुनुपर्ने वाध्यता हट्ने दाबी गरे । ‘अस्पताल परिसरमा सात तलाको नयाँ भवन र जाइकाले तीनतले अर्को भवन बनाउँदै छ,’ उनले भने, ‘यी भवनको निर्माणपछि शल्यकक्ष र शय्यासमेत बढ्ने भएकाले धेरै समस्या समाधान हुनेछ।’

वीर अस्पतालमा अहिले जटिल र सामान्य शल्यक्रिया गरी करिब एक हजार बिरामी लाइनमा पालो पर्खेर बसेका छन् । अस्पतालमा २०७३ सालको एक वर्ष अवधिमा मेजर र माइनर गरी पाँच हजार पाँच सय ६१ वटा शल्यक्रिया भएका थिए। 

निजामतिमा थपिँदो चाप

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा बिरामीको चाप बढेसँगै शल्यक्रियाको लागि पालो कुर्नेहरुको संख्या पनि दिनप्रतिदिन थपिँदै गएको छ । सुरुमा निजामती कर्मचारीका लागि लक्षित गरी खोलिएको उक्त अस्पतालमा सर्वसाधारणका लागि खुला गरिएपछि बिरामीको चाप बढेको हो । बिरामीको संख्या बढे पनि अस्पतालको शय्या र क्षमता नबढेका कारण शल्यक्रियाको लाइन बढेको अस्पतालका निर्देशक डा. दीर्घराज आरसी बताउँछन् । उनका अनुसार अस्पतालमा साधारण र युरोलोजी शल्यक्रियाका लागि बिरामीको लाइन बढ्न थालेको छ । तर, कान्ति, वीर र त्रिवि शिक्षण अस्पतालमा जस्तो एक वर्षसम्मको लाइन भने निजामतीमा छैन।

अस्पतालका एक्ला सर्जन डा. सुबोध रेग्मीले असार २९ गते ओपिडीमा आएका बिरामीलाई दिएको शल्यक्रियाको मिति कात्र्तिक ३० गतेको छ । उनी भन्छन्, ‘एक्लै भएकाले पनि युरोलोजीमा क्रमशः चाप बढ्दो छ । अहिले त बिरामीको लाइन तीन महिना पछिसम्म छ, तर यस्तै हो भने लाइन चार–पाँच महिनासम्म पुग्ने देखिन्छ ।’ उनी यो समस्या समाधानका लागि शल्यकक्षसँगै जनशक्ति पनि थप्नुपर्ने बताउँछन्।

निजामती अस्पतालमा एक वर्षमा चार हजार ६ सय ९८ शल्यक्रिया भएका छन् । जसमा मेजर दुई हजार एक सय १०, इन्टरमेडिएट सात सय १० र माइनर एक हजार आठ सय ७८ छन् । अस्पतालमा तीनवटा शल्यकक्ष छन् । अस्पतालका निर्देशक डा. आरसीले शल्यकक्ष थप्नलाई अस्पतालमा भौतिक पूर्वाधार नभएकाले समस्या भएको बताए । उनी भन्छन्, ‘चीनले अस्पताल परिसरमा दुई सय शय्या क्षमताको नयाँ भवन बनाइदिन लागेकाले भवन निर्माणपछि बिरामीको चाप व्यवस्थापनमा सुधार आउनेछ।’

पाटनमा पनि कम छैन लाइन

ललितपुरस्थित पाटन अस्पतालमा पनि शल्यक्रियाका लागि बिरामीले पट्यारलाग्दो लाइनको समस्या झेल्नुपर्छ । तर, वीर, शिक्षण र कान्तिमा जस्तो एक वर्ष लामो लाइन भने यहाँ पनि छैन । अहिले बढीमा ६ महिनासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए। 

सर्जरी विभाग प्रमुख डा. सञ्जय पौडेलका अनुसार पत्थरी, शरीरमा आएका डल्लाडुल्ली हटाउने (जुन क्यान्सर होइनन्), हर्निया र प्रोस्टेटको शल्यक्रियाका लागि सबैभन्दा बढी समय कुनुपर्ने हुन्छ । आठ वटा शल्यकक्ष भएको पाटन अस्पतालमा सामान्य शल्यक्रिया, हाडजोर्नी, नाक–कान–घाँटी, डेन्टल र प्रसूति तथा स्त्रीरोगमा मात्र शल्यक्रिया हुन्छ । एक वर्षमा पाटनमा मेजर र माइनर गरी ९ हजार सात सय ३३ वटा शल्यक्रिया भएका छन्।

पहुँचवालालाई तुरुन्तै

सरकारी अस्पतालमा आकस्मिक अवस्थाका बिरामी तथा रोगको प्रकृति अनुसार तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बिरामीले भने लाइनमा बस्नु पर्दैन । तर, तत्कालै कुनै असर नगर्ने, केही समय कुरेर शल्यक्रिया गर्दा पनि हुने बिरामीले मात्र लाइनमा बस्नुपर्ने हुन्छ । अहिले अस्पतालमा एक वर्षसम्म पुगेको शल्यक्रियाको लाइन पनि यस्तै प्रकृतिका समस्या भएका बिरामीहरुको हो । यस्ता रोग तथा समस्याको शल्यक्रियाका लागि सर्वसाधारणले एक वर्षसम्म पालो कुनुपर्ने बाध्यता भए पनि पहुँचवालाले भने छिट्टै शल्यक्रियाका लागि पालो पाउने गरेका छन्। 

दलका नेता, सरकारी कर्मचारी, आफन्त तथा अस्पतालका कर्मचारीसँग पहिचान भएका पहुँचवालाले भने भनसुनका भरमा छिट्टै पालो पाउँछन् । पहुँच भएकाहरुलाई अस्पतालले लाइनमा बसेर पनि शल्यक्रिया गर्न नआउने, सरकारीमा नाम लेखाएर निजी अस्पतालमा उपचार गराउने र आकस्मिकका नाममा सकेसम्म चाँडो शल्यक्रिया गरेर पठाउँछ।

‘एक वर्षसम्म लाइनमा बस्नुपर्ने भएपछि आत्तिएका बिरामी पैसा खोजेर भए पनि निजीमा उपचार गर्न जान्छन्,’ कान्ति अस्पतालका निर्देशक डा. गणेश राई भन्छन्, ‘उनीहरुको स्थानमा पावरवालाको नाम घुसाउने काम हुन्छ । यसले त गरिब बिरामी नै मारमा पर्ने हुन्।’ 

उनका अनुसार देशका दूरदराजबाट पैसा जम्मा गरी उपचारका लागि आएका बिरामीले एक वर्षपछि मात्र पालो पाउने भएपछि कतिपयले रोग पाल्नुभन्दा ऋण पाल्नु जाति ठानेर निजीमा बढी पैसा तिरेर शल्यक्रिया गराउँछन् । ‘यो चाप घटाउन सरकारी अस्पतालमा शल्यकक्ष मात्र थपेर हुँदैन,’ डा. राई भन्छन्, ‘यसका लागि जनशक्ति, उपकरण, बेड सबै थप्नुपर्छ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live