अन्तर्वार्ता

‘बाहिर हल्ला भएजस्तो कूपोषणको जिल्ला होइन जुम्ला’

स्वास्थ्य खबरपत्रिका

दुर्गम जिल्ला जुम्लाका स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी जान मान्दैनन्। सदरमुकाम आसपासका संस्था बाहेक जुम्लाका अन्य संस्थामा ढुवानीको समस्याले हरेक वर्ष औषधिको अभाव दोहोरिन्छ। तर, सडक सञ्जालको विकाससँगै जुम्लाको स्वास्थ्य क्षेत्रमा पनि क्रमशः सुधार हुँदै आएको मान्न सकिन्छ। यही सेरोफेरोमा जुम्ला पुगेका बेला प्रवीण ढकालले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख किरणकुमार शर्मासँग गरेको कुराकानीः

वर्षातको समय छ, जुम्लामा सरुवा रोगको प्रकोप कस्तो छ? 

यो वर्षको सुरुवातदेखि अहिलेसम्म जिल्लामा कुनै पनि रोगको महामारी र प्रकोप देखिएको छैन। केही ठाँउमा फाट्टफुट्ट झाडापखालाको समस्या भने देखिएको छ। साथै, मौसमी रुघाखोकीको समस्या भने केही बढी देखिएको छ। तर, महामारी र प्रकोपकै रुपमा भने देखिएको छैन।

जुम्लामा चेतनाको स्तर बढ्दै गएको र गाउँगाउँमा सडक सञ्जाल विस्तार हुँदै गएकाले स्वास्थ्य सेवाको पहुँचमा सुधार हुँदै गएको छ। जिल्लाको कुनै स्थानमा प्रकोपको समस्या देखिन थाल्यो भने सम्बन्धित स्वास्थ्यचौकीसँगको समन्वयमा तत्काल ‘र्‍यापिड रेस्पोन्स टिम’ गएर आवश्यक उपचार सेवा अगाडि बढाइहाल्छ। यसले तत्कालै समस्या समाधान हुन्छ।

स्वास्थ्यमा सुधार हुँदै छ भन्नु भयो, जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे बताइदिनुस् न?

जिल्लामा स्वास्थ्यको अवस्था सन्तोषजनक नै छ । जिल्ला स्वास्थ्य अन्तर्गत ३० वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सामूदायिक स्वास्थ्य इकाई र एउटा सहरी स्वास्थ्य केन्द्र छन्।

ती संस्थाले बिरामीलाई उपचार सेवासहित चेतनामूलक काम पनि अगाडि बढाइरहेका छन्। घरमै सुत्केरी हुने समस्यालाई समाधान गर्न जुम्लामा १८ वटा बर्थिङ सेन्टर छन्। बर्थिङ सेन्टरका कारण पनि अहिले सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या बढ्दै गइरहेको छ। जिल्ला सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ तहको उपचार सेवा दिइरहेको छ। प्रतिष्ठानले दिने सेवाका कारण उपचारका लागि नेपालगन्ज वा काठमाडौं जानुपर्ने वाध्यता धेरै हदसम्म टरेको छ। 

भौगोलिक विकटताका कारण जिल्लाका कति स्वास्थ्य संस्थामा औषधि नै पुर्‍याउन कठिन होला नि?

विगतमा त सदरमुकाम बाहेक अधिकांश संस्थामा औषधि तथा अन्य आवश्यक सामाग्री पुर्‍याउन कठिन थियो। तर, अहिले अवस्था फेरिएको छ। अहिले जिल्लाका सबै गाउँपालिकामा सडक सञ्जाल पुगेको छ। एक–दुई स्वास्थ्य संस्थामा सडकको सञ्जाल नपुगे पनि अधिकांसमा पुगेको छ। सडक सञ्जालले नजोडिएको संस्थाको पनि नजिकसम्म सडक पुगेका कारण अहिले औषधि पुर्‍याउन समस्या छैन।

मोटर पुग्ने ठाउँमा मोटरबाट र नपुग्ने स्थानमा मोटरसाइकल तथा ट्याक्टरबाट पनि औषधि लगायतका अत्यावश्वक सामाग्री ढुवानी भइरहेको छ। समस्या हुने संस्थामा तीन महिनासम्म स्टक हुनेगरी औषधि पठाइरहेका छौं। अहिले जिल्लामा औषधि अभावको समस्या छैन।

जुम्लामा के–कस्ता रोग बढी देखिने गरेको छ?

हिमाली जिल्ला भएकाले यहाँ चिसोका कारण हुने रुघाखोकी जस्ता रोग नै बढी देखिन्छ। मौसमी रोगका बिरामी धेरै हुन्छन्। चिसोका कारण आगोको छेउमा बढी समय बस्ने हुँदा श्वासप्रश्वासको समस्या पनि धेरैमा हुने गर्छ। झाडापखला, रुघाखोकी जस्ता समस्या भने सिजनका बेलामा मात्र बढी हुन्छ। 

यस्तै, भीरपहराबाट ढुंगा खसेर हातगोडा भाँचिने समस्या तुलनात्मक रुपमा बढी छ। यसैगरी, फोहोरका कारण हुने एलर्जी र छालाको समस्या लिएर पनि बिरामीहरु आउँछन्। अस्पतालमा उपचार गराउन आउने क्रम बढ्दै गएकाले होला मुटु, मिर्गौला, कलेजो रोग जस्ता ठूला स्वास्थ्य समस्या पनि देखिएको छ। 

जुम्ला भन्ने बित्तिकै धेरैमा कूपोषण हुने ठाँउ भन्ने बुझाइ छ, यथार्थ के हो?

जति बाहिर हल्ला छ, त्यस्तो भयाभह र डरलाग्दो अवस्था यहाँ छैन। हामीले पनि यो कुरा सुनेका छौं। कूपोषणको समस्या नभएकै भने होइन। तर, यहाँ खानै पाउँदैनन्, सबै कूपोषित छन् भन्ने कुरा चाहिँ गलत हो। विगतमा समस्या थियो होला। तर, पोषणको अवस्थालाई हेर्दा जुम्लामा धेरै सुधार भइसकेको छ। खानै नपाएर कूपोषित हुनेको संख्या निकै कम छ। फाट्टफुट्ट देखिन्छ। त्यस्ता बच्चालाई हामीले पुनःस्थापना केन्द्रमा राखेर उपचार गरिरहेका छौं। 

बालविवाहको समस्या त रहेछ नि? 

हो, यहाँ बालविवाहको समस्या भने अहिले पनि छ। जनचेतनाका कार्यक्रम सञ्चालित भए पनि आशातीत सफलता मिलेको छैन। गाउँगाउँमा चेतना त पुगेको छ। तर, पनि जुन रुपमा बालविवाह घट्नुपर्ने हो त्यो हुन सकेको छैन। कम उमेरमा बच्चा जन्माउने दर पनि बढी नै छ। ‘बिहेबारी २० पारि’ भनिए पनि त्यो लागू हुन सकिरहेको छैन। 

जुम्लाका तमाम स्वास्थ्य समस्यालाई कसरी समाधान गर्न सकिएला?

स्वास्थ्य एक्लैको प्रयासले त यी समस्या समाधान गर्न निकै गाह्रो छ। अब स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएका छन्। उनीहरुको सहयोगमा स्वास्थ्यका सबै समस्या हल गर्दै जानुपर्छ। गाउँ तथा टोलमा भएका समस्या जनप्रतिनिधिले बुझेर समाधानतिर लाग्नुपर्छ। यसका लागि स्वास्थ्यले पनि आवश्यक काम अगाडि बढाएको छ। स्थानीय प्रतिनिधिसँग छलफल गरेर समस्याग्रस्त क्षेत्र पहिचान गरी काम अघि बढाउँदा छिटो समाधान निस्किन्छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live