मुख्य समाचार

जनस्वास्थ्य प्रयोशालाले थाल्यो ल्याब वर्गीकरण, ३ ल्याबले पाए श्रेणी ‘बी’

img

डिबी खड्का

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले ल्याबको वर्गीकरण थालेको छ । पहिलो चरणमा वर्गीकरणका लागि निवेदन दिने मध्ये तीनटा ल्याबले ‘बी’ श्रेणी पाएका छन् भने ‘ए’ श्रेणीका लागि नेपालमा सञ्चालित राम्रा मानिएका प्रायः ल्याबले केही थप मापदण्ड पूरा गर्नुपर्ने भएको छ। 

‘बी’ श्रेणी हासिल गर्न सफल हुनेमा सम्यक डायग्नोष्टिक, एसआरएल र लाल्स प्याथ ल्याब रहेका छन् । अरु केही ल्याबले पनि आफूलाई  वर्गीकरणमा पार्न निवेदन दिइसकेकाले उनीहरुलाई वर्गीकरण गर्ने प्रक्रियामा रहेको प्रयोगशालीकी निर्देशकले डा रुना झाले जानकारी दिइन् ।

केही महिनाअघि मात्रै आएको ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्ड सम्बन्धि निर्देशिका २०७३’को व्यवस्था अनुसार ल्याबहरुको वर्गीकरण थालिएको हो। निर्देशिका अनुसार ल्याबहरु पाँच श्रेणीमा वर्गीकरण हुनेछन् । हाल वर्गीकरणका लागि निवेदन दिनेहरुमध्येकाहरुले ‘ए’ श्रेणी पाउन केही जनशक्ति, ठाउँ र उपकरणको अभाव देखिएको उनले बताइन् । भनिन्, ‘उहाँहरुले आफूलाई थप सुधार गर्दै मापदण्ड पूरा गरेर ६ महिनापछि पुनः ‘ए’ का लागि निवेदन दिन सक्नुहुनेछ ।’

ल्याबको वर्गीकरणबाट सर्वसाधारणमा गुणस्तरीय ल्याब छनोटको सुविधा रहनेछ । ‘सरकारी निकायबाटै वर्गीकरण थालिएकाले सकेसम्म माथिल्लो श्रेणीमा रहेका ल्याबमा आफ्ना नमूना परीक्षण गराउन अग्रसर हुनेछन् । यसले गर्दा ल्याबहरुले आफ्नो गुणस्तर सुधार्दै लैजानु पर्ने अवस्था आउनेछ,’ डा झाले भनिन् । 

नेपालमै उपलब्ध ल्याब सेवाका लागि पनि कतिपय ल्याबले हाल नमूना परीक्षणका लागि भारत पठाउने गरेका छन् । बाहिर पठाउनका लागि पनि न्युनतम मापदण्ड पालना गर्नुपर्ने भएकाले यो दर घट्ने विश्वास डा झाको छ। 

प्रयोगशालाको नियमनका लागि छुट्टै कानून नहुँदा विकृति बढेको महशुस गर्दै पूर्व स्वास्थ्य मन्त्री गगन थापाले यो निर्देशिका ल्याएका हुन् । २०७३ फागुन १७ गतेको मन्त्री स्तरीय बैठकले निर्देशिका पारित गरेको थियो । मापदण्ड विपरित खुलेका, साघुँरो र भर्‍याङमुनि सञ्चालित, संकलन केन्द्र खोल्दै महँगो रकम असुल्ने प्रयोगशालालाई कानूनी दायरा ल्याउन पनि निर्देशिकाको भूमिका रहने अपेक्षा गरिएको छ।

केन्द्रदेखि स्थानीय तहसम्म वर्गीकरण गरिएका प्रयोगशालाहरुलाई क्षमता, पूर्वाधार, जनशक्ति लगायतका आधारमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरी पाँच समूहमा विभाजन गरिएको छ।

‘ए’ समूह
निर्देशिका अनुसार ‘ए’ समूहमा पर्ने प्रयोगशालाहरु अति विशिष्ट प्रयोगशाला अन्तर्गत पर्छन्। यी प्रयोगशालाहरु सरकारी÷स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालमा आधारित हुनेछन्। यो समूहमा दुई सय बेडभन्दा बढी बेड क्षमता भएका सरकारी वा निजी अस्पतालमा आधारित प्रयोगशाला, मेडिकल कलेजमा आधारित प्रयोगशाला, प्रेसण प्रयोगशाला, केन्द्रीय तथा क्षेत्रीय अस्पतालमा आधारित प्रयोगशालाहरु र ५० बेडभन्दा माथिका विशेषज्ञ सेवा प्रदान गरिने अस्पतालका प्रयोगशालाहरु एंव अति विशिष्ट सेवा दिन भनेर खुलेका प्रयोगशाला मात्र पर्छन्। ‘ए’ समूहमा रहेका प्रयोगशाला कम्तिमा दुई हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनुपर्छ। यस्ता प्रयोगशालामा कम्तिमा २४ जना जनशक्तिको व्यवस्था गर्नुपर्छ।
यस्ता प्रयोगशालामा ‘बि’ समूहमा हुने सबै परीक्षण सहित निम्न परीक्षण हुन्छ।

‘बि’ समूह
यस समुहमा ५१ देखि दुई सय बेडसम्मका जनरल अस्पताल, सबै अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालहरुमा आधारित प्रयोगशाला पर्छन्। साथै ५० बेडसम्मका विशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालहरुमा आधारित प्रयोगशालाहरु र विशिष्ट सेवा दिने ‘स्ट्यान्ड एलोन’ प्रयोगशालासमेत न्यूनतम रुपमा ‘बि’ समूहको हुनुपर्ने निर्देशिकामा उल्लेख छ। यस्ता प्रयोगशाला कम्तिमा एक हजार स्क्वायर फिटमा निर्माण भएको हुनुपर्छ भने कम्तिमा १२ जना जनशक्तिको व्यवस्था गरेको हुनुपर्छ।
यस्ता प्रयोगशालामा ‘सि’ समूहमा हुने सबै परीक्षणसहित निम्न परीक्षण हुन्छ।

‘सि’ समूह
यो समूहमा ५० बेडसम्मका जनरल अस्पतालमा आधारित प्रयोगशालाहरु पर्छन्। यस समूहमा पर्ने सरकारी तथा निजी प्रयोगशालाका लागि चार सय स्क्वायर फिट क्षेत्रफल र ६ जनाभन्दा बढी जनशक्ति आवश्यक पर्छ।
यो समूहका प्रयोगशालामा ‘डि’ समूहमा हुने सबै परीक्षणसहित निम्न परीक्षण हुन्छ।

‘डि’ समूह
यो समूहमा प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला पर्छन्। यस्ता प्रयोगशालाबाट सामान्य प्रकृतिका परीक्षणहरु हुनेछन्। यस समूहमा निजी प्रयोगशालाहरु पनि पर्छन्। यो समूहमा पर्ने निजी प्रयोगशालाहरु पनि सरकारी सरह दुई सय ५० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको र कम्तीमा चार जना जनशक्ति हुनुपर्छ।
यस्ता प्रयोगशालामा ‘इ’ समूहमा हुने सबै परीक्षणसहित निम्न परीक्षण हुन्छ।

‘इ’ समूह
सरकारी स्तरका हेल्थपोस्टमा यो समूहका प्रयोगशाला हुनेछन्। यसका साथै एक सय ५० स्क्वायर फिट क्षेत्रफलमा खुलेका निजी प्रयोगशाला पनि यो समूहमा पर्छन्। यो समूहका प्रयोगशालामा कम्तीमा दुई जना जनशक्ति हुनेछन्।
यो प्रयोगशालाले रगतमा टिसी, डिसी, हेमोग्लोबिन, इएसआर, रगत समूह, सुगर, युरिया, बिलुरुविन, युरिक एसिड, पिसाबमा प्रोटिनको मात्रा, सेरम एल्बुमिन, माइक्रोबायोलोजीमा स्पुटम एएफबी, दिसा, पिसाब, गर्भवति जाँच लगायतका परीक्षण गर्नेछ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live