मुख्य समाचार

९२ वर्षे तन्नेरी

img

डिबी खड्का

काठमाडौं - स्वास्थ्य खबरपत्रिकाले यस वर्षदेखि आरम्भ गरिएको स्वस्थ नागरिक अवार्ड धनगढीका ९२ वर्षे बद्रीनाथ भण्डारीलाई दिइएको छ। 

अवार्ड अर्थमन्त्री  ज्ञानेन्द्रबहादुर कार्की र सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संयुक्त रुपमा वितरण गरेका हुन्। 

000

स्वस्थ नागरिक अवार्डका लागि प्रारम्भिक छनोटमा पर्नेहरुसँग भेट्ने क्रममा हामीले कैलालीको धनगढी उपमहानगर–४ मा बस्ने बद्रीनाथ भण्डारीसँग सम्पर्क गर्‍यौं । उनले आफ्नो घर पत्ता लगाउन मुश्किल होला भनेर सजिलो उपाय सुझाए, ‘बजारको मुख्य सडकमै यामाहा मोटरसाइकलको सोरुममा आउनुहोस्, त्यहीँ आइपुग्छु।’

हामीलाई उनको हिँडडुल पनि नियाल्नु थियो, त्यसैले बाहिरै कुरेर बस्यौं । घरबाट हिँड्दै त्यहाँ आइरहेका उनको हिँडाइमा जुन स्फूर्ति देखियो, त्यसले हामीलाई चकितै पा¥यो । किनभने हातमा लौरोसम्म नबोकेका उनको हिँडाइ तन्नेरीको भन्दा कम थिएन । उमेरले ९२ वर्ष पुगेको पत्याउन त झन् मुश्किलै पथ्र्याे।

‘उहाँ सधैं हिँडेर यताउति गर्ने हो ?’ भनेर हामीले सोही सोरुममा काम गर्ने एकजनालाई सोध्यौं । 

‘दिनभरि धेरै कार्यक्रममा यसरी नै पुग्नुहुन्छ,’ उनको उत्तर थियो ।

स्वस्थ नागरिक छान्ने क्रमकै अर्काे तहमा बद्रीनाथको स्वास्थ्य जाँच गराइयो । वृद्धवृद्धारोग विशेषज्ञ डा रमेश कँडेलले उनलाई जाँचे । डा कँडेलका अनुसार, भण्डारीले हालसम्म कुनै प्रकारको औषधि सेवन गरिरहेका छैनन् । 

डा कँडेल भन्छन्, ‘एउटा उमेरपछि औषधि सेवन गर्न बाध्य पार्ने कुनै दीर्घ रोगले उनलाई छोएको देखिएन । विशेषगरी उमेर ढल्किँदै जाँदा सुगर, प्रेसर, दम, अल्जाइमर्स आदिले सताउँछ । तर, उनमा यीमध्ये कुनै समस्या छैन ।’ 

त्यस्तै श्रवणशक्ति र दृष्टि पनि हालसम्म तगडा नै रहेको चेकजाँचमा पाइयो । चश्माको प्रयोग नगर्ने उनी हालसम्म पनि पत्रिका मज्जाले पढ्न सक्ने रहेछन् । उनको स्मरणशक्ति चकित तुल्याउने खालको छ । चिकित्सकीय जाँचका क्रममा उनलाई केही शब्द स्मरण गर्न लगाइएको थियो भने घडीको चित्र पनि बनाउन लगाइएको थियो । जुन उनले अपेक्षा गरेभन्दा राम्रोसँग बनाएको डा कँडेल बताउँछन् । 

भण्डारीको पाचन प्रणालीमा पनि खास समस्या देखिएको छैन । दूधचियाका पारखी उनले त्यसलाई अझै परहेज गरेका छैनन् । मानसिक रुपमा यो उमेरमा देखिने उदासीपन, बिर्सिने समस्या पनि नभएको चेकजाँचमा देखियो । 

उनले स्वस्थ नागरिकका रुपमा दैनिक जीवनयापन गरिरहेका छन् । दिनचर्याका क्रममा अहिलेसम्म सहयोगी आवश्यक परेको छैन । एक्लै यातायातका साधनमा यात्रा गर्ने, विभिन्न सार्वजनिक समारोहमा पुगेर फर्किने, बैंकिङ सेवा लिनेसम्म गरिरहेका छन् भण्डारी ।

१९८३ साल वैशाख २७ गते जन्मिएका उनले ९२ वर्ष पूरा गरिसके । तर, उनले ३० वर्षको लक्का जवान हुँदाको दैनिकीमा फरक पर्न दिएका छैनन् । बिहान ६ बजे उठिसक्ने, त्यसपछि नुहाएर पाठ गर्ने र मर्निङ वाकमा जाने क्रम अहिलेसम्म निरन्तर छ । उनी भन्छन्, ‘दिनमा दुईदेखि तीन घन्टा आराम गरेर काममा जाने पुरानै बानी हो । साँझ ८ बजे खाना खाएर केही समय टिभी हेरेपछि १० देखि ११ बजेको बीचमा सुतिसक्छु ।’ 

खानपान उनको असाध्यै अनुशासित छ । खाना खाने समय तलमाथि हुन दिएका छैनन् । ‘थोरै खाने तर धेरै थोक मिसाएर खाने बानी छ मेरो,’ उनी भन्छन् । 

६० वर्षको उमेरसम्म माछामासु खाए पनि त्यसपछि सात्विक भोजन खाने गरेका छन् । उनी भन्छन्, ‘आहार पनि परिश्रम अनुसार रोज्नुपर्छ । ६० अघिको उमेरमा काम पनि धेरै गरिन्थ्यो । खाना पनि त्यस्तै खाइन्थ्यो । त्यसपछि काम छुट्यो । केही खाना पनि छाड्नुपर्छ भनेर छाडेँ ।’

दूध, दही, साग, तरकारीमा उनको पहिलेदेखि नै बढी रुचि रहेछ । तर, अचेल दूध, दही बढी चिल्लो भएर पच्न गाह्रो पर्ला कि भनेर छाडेका छन् । मोही भने दैनिक खान्छन् । फलफूल त अहिले पनि उनको प्रिय खुराकमै पर्छ ।

उनलाई सोध्यौं, ‘स्वस्थ हुन के गर्नुपर्ला ?’ उनले दुइटा उपाय सुझाए, ‘दारु र तमाखु (मदिरा र सूर्तीजन्य पदार्थ) नखाने, आफ्नो कमाइ अनुसार अरुको भलाइमा खर्च गर्ने ।’ उनले कहिल्यै मदिरा र सूर्ती सेवन गरेनन् भने आफ्नो कमाइको केही अंश सामाजिक सेवामा खर्च गरिरहे । 

डोटी जिल्लाको निरौली गाउँमा जन्मेका उनको बाल्यकाल अभावमै बित्यो । युवा भएपछि उनी तराई झरे । त्यहीँ मिहिनेत गरेपछि केही खेतबारी जोडे । त्यसपछि मिल राखे । रातदिन मिलको काममा खटेपछि भने उनको कमाइ बढ्यो । त्यसबाट उनले थप जग्गाजमिन जोडे । पछि त्यसको मूल्य बढ्दै गएसँगै उनको सम्पन्नता पनि बढ्दै गयो ।

आफू सम्पन्न भएसँगै उनले समाजसेवामा पनि खर्च बढाउन थाले । उनी भन्छन्, ‘म पाप र धर्ममा विश्वास गर्छु । त्यसैले सहयोग गर्दा धर्म कमाइन्छ भनेर सकेको सहयोग गर्न थालेँ ।’

उनकी धर्मपत्नी स्व. कृष्णादेवी भण्डारीका स्मृतिमा ३ लाख रुपैयाँको लागतमा गेटा आँखा अस्पताल कैलालीमा विश्रामस्थल, उनकै स्मृतिमा कैलालीमै गौरामहेश्वर मन्दिर निर्माणमा ५० हजार, सुदूरपश्चिम साहित्य समाजको भवनको सभाकक्ष निर्माणका लागि २ लाख ५० हजार, सोही साहित्य समाजबाट उत्कृष्ट लेखन तथा कृति प्रकाशन पुरस्कारका लागि ११ लाख रुपैयाँको अक्षयकोष स्थापना, धनगढीमै बद्रीनाथ सामुदायिक शिक्षा केन्द्र स्थापना गर्न १९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताएका छन् ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी धनगढीको उपशाखा निर्माण गर्न १० लाख ५० हजार बराबरको जग्गा, कैलाली अपांग संघलाई ५० हजार बराबरको कम्प्युटर तथा प्रिन्टर र धनगढीमा निर्माण हुन लागेको धर्मशालाका लागि ५० हजार रुपैयाँ दिएको उल्लेख गरेका छन् । 

आफू जन्मेको डोटीको निरौलीमा रहेको रघुनाथ उच्च माविको ६ कोठे भवन र छात्राबास उनले व्यक्तिगत लागतमा बनाइदिएका हुन् । यस्तै, धनगढीको शारदा उमाविमा ९ लाख १५ हजार रुपैयाँको लागतमा भवन, १ लाख २५ हजारको लागतमा सभाकक्ष निर्माण, वेहणा बाबा उच्च मावि धनगढीकै भवन निर्माणका लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी विभिन्न धर्मशाला, मन्दिर, बाटोघाटो आदि निर्माणमा पनि उनले सक्दो सहयोग गर्ने गरेका छन् । 

सामाजिक काममा आर्थिक सहयोग गर्ने मात्रै होइन, अहिले पनि सकेसम्म सहभागी हुने गरेका छन् । भन्छन्, ‘मलाई समाजले दिने मायाले पनि रोग लाग्नबाट जोगाइरहेको छ ।’
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live