फिचर

उत्कृष्ट डाक्टर जितेन्द्र : मुगुका भरोसा 

img

प्रवीण ढकाल

काठमाडौं– दुर्गम जिल्ला मुगुको ताल्चा विमानस्थलमा अत्याधिक रक्तस्राबले सुत्केरी महिलाको मृत्युको खबर सुनेपछि डा. जितेन्द्र कँडेलको मथिङ्गल नराम्ररी हल्लियो । कालीकोट, डडेलधुर र डोटी जिल्लामा काम गरिसकेका यी डाक्टरलाई आफू त्यहाँ भएको भए ती सुत्केरी बाँच्ने थिइन् भन्ने लाग्यो । र, योजना बनाए मुगुमा पुगेर यस्ता धेरै आमाहरुको जीवन बचाउने।

सरकारी छात्रवृत्तिको करारमा र निक साइमन्ससँगको सम्झौता अनुसार पाँच वर्षसम्म दुर्गम क्षेत्रमा काम गरिसकेको अनुभव बटुलेका डा. कँडेलले लोक सेवामा नाम निकाले लगत्तै स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरे, ‘मुगुमा गएर सेवा गर्छु ।’ उनको पोस्टिङ भयो मुगु जिल्ला अस्पतालमा।

सरकारी डाक्टरका रुपमा उनले गत फागुनमा मुगुमा पहिला टेके । अस्पताल पुगेकै दिन पाठेघर फुटेर जटिल अवस्थामा पुगेकी एक महिला उपचारका लागि ल्याइयो । उनी तुरुन्तै शल्यक्रियामा जुटे । शल्यक्रिया सफल भयो । त्यसपछि मात्र उनले थाहा पाए केही समयअगाडि यस्तै समस्या भएका दुई जना महिलाको उपचार अभावमा मृत्यु भएको रहेछ । डा कँडेलले मलीन हुँदै भने, ‘अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर नहुँदा दुई जना महिलाको एयरपोर्ट जाँदै गर्दा मृत्यु भएछ।’

तर, अहिले अवस्था फेरिएको छ । डा कँडेलको उपस्थिति पछि अस्पतालमा जटिल अवस्थाका गर्भवती शल्यक्रिया मार्फत सुत्केरी हुन आउने क्रम बढेको छ । उनी मुगु पुग्नु भन्दा पहिला ६ महिनामा जम्मा पाँच वटा शल्यक्रिया भएको थियो । तर, उनको उपस्थितिसँगै ६ महिनामा उक्त संख्या तीन गुणाले बढ्यो । उनले ६ महिनामा शल्यक्रिया मार्फत १५ जनालाई सुत्केरी गराए । यो अवधिमा विगतमा दुई पटक शल्यक्रिया मार्फत सुत्केरी भएकी महिलाको उनले तेस्रो पटक पनि सुरक्षित शल्यक्रिया गरे।

डा कँडेलले जिल्लामै पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु गरेका छन् । ६ महिनामा अस्पताल आएका दुई जनाको उनले सफल शल्यक्रिया गरिसकेका छन्। हर्नियाको शल्यक्रिया सेवा पनि उनले सुरु गरिसकेका छन् । साथै, हात–खुट्टा भाँचिएकाको लागि ‘सिआर्म मेसिन’ चाहिने ठूला शल्यक्रिया बाहेक साना शल्यक्रिया सेवा दिन थालेका छन् । यस्ता बिरामी दैनिक ८ देखि १० जनालाई उनले उपचार गर्दै आइरहेका छन्।

जिल्लामै नहुने जटिल र नयाँ शल्यक्रिया सेवा सुरु भएपछि अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गइरहेको छ । विगतमा बढीमा ६० देखि ७० जना बिरामी ओपिडीमा आउने गरेकोमा अहिले अस्पतालमा दैनिक डेढ सय हाराहारीमा बिरामी आउन थालेका छन्।

‘यहाँ शल्यक्रिया तथा अरु उपचार हुँदैन भन्ने सन्देश विस्तारै चिरिँदै गएको छ,’ डा कँडेलले भने, ‘डाक्टर आएका छन्, धेरै सेवा पाइन्छ भन्ने खबर क्रमशः जिल्लाभरि फैलिँदै गएको छ ।’ उनका अनुसार मुगुका बासिन्दालाई अस्पतालप्रति विश्वास जाग्न थालेको छ। अस्पतालले यो विश्वास आर्जन गर्न आफ्नो एक्लो प्रयासले सम्भव नभएको बताउँछन् उनी । डा कँडेल अस्पतालमा कार्यरत सबै टिमलाई यसको जस दिन्छन्।

डा कँडेल मुगु जिल्ला अस्पताल पुगेसँगै भौतिक संरचना भने खुम्चिएको छ । कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) ले २५ शय्याको नयाँ भवन बनाउने भन्दै पुराना भवन भत्काएपछि अस्पताल साना कोठामा सीमित छ । तर, डा कँडेलले उपचार सेवालाई भने खुम्चिन दिएका छैनन् । भन्छन्, ‘हामीलाई काम गर्न समस्या परिरहेको छ, तर उपचारमा आउने बिरामीका लागि कुनै पनि सेवाको कमी हुन दिएका छैनौँ।’

उनले पुरानो भवन भत्काउने क्रममा एक दिन पनि शल्यकक्ष अवरोध हुन दिएनन् । भवन भत्काउने र सामान सार्ने क्रममा बिरामी आए र उपचार पाएनन् भने अन्याय हुन्छ भन्दै उनले पहिला अर्को स्थानमा शल्यकक्ष तुरुन्तै बनाए । त्यसपछि मात्र ओपिडी लगायतका सेवा सुरु गरे। 

डा कँडेलले शल्यकक्षमा बत्ती नहुँदा टर्च बालेर समेत शल्यक्रिया गरेका छन् । उनी पुग्दा शल्यकक्षका बत्तीहरु बल्दैनथिए । अहिले पनि बेलाबेलामा बत्ती जाँदा टर्च बालेर नै उपचार गर्नुपर्ने वाध्यता सुनाउँछन् उनी । 

अस्पतालमा नवजात शिशुका लागि आवश्यक पर्ने ‘वार्मर’ उपकरण नहुँदा निकै अप्ठ्यारो थियो । डा कँडेलले वार्मर भए नभएकोबारे सोध्दा अस्पतालका सबैले छैन भन्ने जबाफ दिए । ०६८ सालमा कालीकोट पुग्दा भेटिएको उपकरण मुगुमा नहुँदा उनलाई अनौठो लाग्यो । उनले स्टोरमा गएर छानमारे । एउटा बक्सामा वार्मर मेसिन फेला पर्यो‍ । बक्समा रहेको म्यानुअल पढेर आफैँले मेसिन जडान गरे । अहिले उक्त मेसिन चलिरहेको छ । 

उनी काम गर्ने क्रममा जे उपकरण तथा सामग्री आवश्यक पर्छ त्यो क्रमशः जुटाउँदै गइरहेका छन् । दुर्गममा उपकरण तथा सामग्री छैन भन्नेहरुलाई उनी डाक्टर गएपछि मात्र उपकरण र सामग्री पनि पुग्नेछन् भन्ने सन्देश दिन्छन् । भन्छन्, ‘केही छैन भनेर डाक्टर नजाने होइन । पहिला डाक्टर जाने त्यसपछि क्रमशः काम गर्दै जाँदा आवश्यक पर्ने उपकरणहरु थप्दै जाने हो ।’ उनले मुगुमा यही शैली अपनाएका छन् । 

अस्पतालको नयाँ भवन नबनेसम्म तत्काललाई सुरक्षित प्रसूति सेवा दिन छुट्टै अस्थायी भवन बनाउन डा कँडेलले पहल गरिरहेका छन् । प्रिफ्याबको मात्र भवन भए उपचारमा धेरै सहयोग पुग्ने भन्दै उनले सम्बन्धित निकायलाई घच्घच्याइरहेका छन् ।
दुर्गममा काम गर्न जाने भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउने समयमा नवलपारासी गैंडाकोटमा जन्मे हुर्केका यी डाक्टर भने दुर्गममै रमाइरहेका छन् । दुर्गमप्रति किन यस्तो मोह ? उनी भन्छन्, ‘सुगममा त जसले पनि सेवा दिन्छ । तर, काम गर्नुको र जीवन बचाउँदाको खुसी दुर्गममा जस्तो अन्यत्र मिल्दैन ।’ दुर्गमका आमाहरुको जीवन बचाउन जस्ता अप्ठेराहरु पनि सहन तयार रहेको बताउँछन् उनी । 

सरकारी छात्रवृत्तिमा एमबिबिएस पढेका डा कँडेललाई दुर्गममा सेवा गर्ने सोच पाँच वर्ष अगाडि कालीकोटमा रहँदै आएको हो । त्यसयता उनले कालीकोट सहित डोटी र डडेलधुरामा काम गरिसके । दुर्गमका अप्ठ्यारा चिर्दै उनी बिरामीलाई उपचार सेवा मात्र दिइरहेका छैनन् । रगत अभावले गम्भीर अवस्थामा पुगेकालाई आफैँ रगत दिएर ज्यान समेत जोगाइरहेका छन् । चिकित्सकीय अभ्यासका क्रममा अहिलेसम्म उनले १८ जना बिरामीलाई रगत दिएर ज्यान बचाइसकेका छन् । 

उनका अनुसार दुर्गममा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मी मोवाइल रक्तदाता हुनुपर्छ । मुगुमा पनि ब्लड बैंक छैन । मुगु अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीले धेरै पटक रगत दान गरेर बिरामी बचाइसकेको उनको भनाइ छ । उनले नेपाल रेडक्रस सोसाइटीसँग कुरा गरेर मुगुमा कार्यरत सबै सरकारी कर्मचारी, सेना, प्रहरी तथा अन्य व्यक्तिहरुको नाम र रक्त समूह उपलब्ध गराउन भनेका छन् । रेडक्रसले यसमा सहयोग गर्ने बताएको छ । उक्त सूचि तयार पारेर आवश्यकता अनुसार आकस्मिक अवस्थामा रक्तदानका लागि बोलाउने योजनामा छन् उनी । 

मुगुमा बिरामीका आफन्त रक्तदान गर्न हत्तपत्त तयार नहुने उनको अनुभव छ । ‘बिरामी जस्तो जटिल अवस्थामा पुगे पनि आफन्तहरु रगत दिन तयार हुँदैनन्,’ उनले मुगुको यथार्थ बताउँदै भने, ‘यस्तो अवस्थामा हामी नै अगाडि सर्ने हो ।’ डा कँडेलले मुगुमा उपचार सँगसँगै चेतना फैलाउने काम पनि अगाडि बढाएका छन् । रगत दान गर्नेदेखि सरसफाइ, शुद्ध पिउने पानी लगायत जनस्वास्थ्यका विषयमा उनले चेतना जगाउने काम गरिरहेका छन् । चेतना अभिवृद्धिको कामलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा उनले छायाँनाथ रारा नगरपाकिलाका प्रमुखसँग समेत कुरा गरिसकेका छन् । 

डा कँडेल एमडिजिपी हुन् । एमडिजिपी डाक्टरले गर्भवती तथा सुत्केरी अवस्थाका जटिलताको समाधान सहित आकस्मिक समस्याको व्यवस्थापन गर्छन् । दुर्गम तथा ग्रामीण भेगमा गर्भवती र सुत्केरीका जटिलातालाई सामाधान गर्ने दक्ष जनशक्ति नहुँदा धेरै आमा र बच्चाको मृत्यु भइरहेको छ । यो समस्या समाधानमा एमडिजिपीको ठूलो भूमिका रहन्छ । 

मुगु अघि उनी डडेलधुरामा थिए । त्यहाँ ९ महिनामा १७ वटा मात्र शल्यक्रियामार्फत सुत्केरी गराइएको तथ्यांक थियो । अस्पतालमा दक्ष जनशक्ति नहुँदा धेरै गर्भवतीलाई अन्यत्र रेफर गरिन्थ्यो । तर, उनी गएपछि ९ महिनामा एक सय ४६ जनाको सफल शल्यक्रिया गरे । उनले हाइड्रोसिल, हर्निया, एपेक्टोमी लगायतको सेवा समेत सुरु गरे । डा. कँडेलले मुगु, डडेलधुरा, जाजरकोटमा सेवाको दौरानामा सामान्य उपचारदेखि गम्भीर अवस्थामा पुगेका धेरै गर्भवतीको ज्यान बचाएका छन् । भन्छन्, ‘आफूले सक्ने अवस्थासम्म दुर्गमको सेवामा जुटिरहनेछु ।’
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live