मुख्य समाचार

काठमाडौं नेसनलको सम्बन्धन खारेज

img

प्रवीण ढकाल

काठमाडौं- त्रिवि कार्यकारी परिषद्ले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ ।

त्रिविले स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले स्वीकृति नलिई अस्पताल सञ्चालन गरेको, अस्पतालको पूर्वाधार पूरा नभएको प्रतिवेदन जानकारी त्रिविलाई गराएको थियो।

यसअघि त्रिविले नेसनललाई दिइएको सम्बन्धन स्थगन गर्ने निर्णय गत शनिबार गरेको थियो।

त्रिविले गठन गरेको तीन सदस्यीय समितिले बुधबार बिहान घट्टेकुलोस्थित काठमाडौं नेसनल शिक्षण अस्पतालको आकस्मिक निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा अस्पतालका बेडहरु रित्ता थिए भने डाक्टर र प्रशासनका कर्मचारी कोही पनि भेटिएका थिएनन्।

त्रिवि कार्यकारी परिषदले सो शिक्षण अस्पताललाई साउन १२ गते सम्बन्धन दिएको थियो।

डा गोविन्द केसीले काठमाडौं नेसनलको सम्बन्धन खारेज नभए आजबाट आमरण अनसन गर्ने चेतावनी दिएका थिए।

काठमाडौं नेसनललाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक डा जैनुद्दिन अन्सारी र बसुरुद्दिन अन्सारी दाजुभाइले खोलेको हुन्।

नियम अनुसार मेडिकल कलेजले सञ्चालन गरेको अस्पतालमा ६० प्रतिशत ‘बेड अकुपेन्सी’ भएको कम्तिमा तीन सय शय्याको चालू अस्पताल अनिवार्य हुनुपर्छ। जबकि, अस्पताल पुग्दा न कुनै डाक्टर भेटिए न कुनै बिरामी नै। 

मेडिकल कलेजलका लागि ३ सय शय्या क्षमताको अस्पताल अनिवार्य चाहिन्छ। तर, अस्पताल स्थापना र सञ्चालनका लागि सरकारले तोकेको मापदण्ड अनुसार घट्टेकुलोमा रहेको काठमाडौं नेसनलको शिक्षण अस्पतालमा बढीमा ४५ शय्या मात्र चलाउन उपयुक्त देखिन्छ।

स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संसोधन)’ अनुसार घट्टेकुलोको २ रोपनी १० आना १ दाम जग्गामा बनेको उक्त अस्पतालमा बढीमा ४५ शय्याको अस्पताल मात्र चलाउन मिल्छ।

तर, यसका लागि पनि अस्पतालले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालयबाट भूकम्प प्रतिरोधी भवनको र वातावरण मन्त्रालयबाट वातवरणीय प्रभाव मूल्यांकन (इआइए) पास भएको प्रतिवेदन बुझाउनुपर्ने हुन्छ। काठमाडौं नेसनलले अहिलेसम्म यी दुवै प्रमाणपत्र नबुझाएका कारण अस्पताल सञ्चालनको स्वीकृति समेत पाएको छैन।

निर्देशिकाको दफा १६ मा रहेको अस्पतालको पूर्वाधारसम्बन्धी मापदण्ड अनुसार ३ सय शय्याको शिक्षण अस्पताल चलाउन प्रतिशय्या ५५ वर्गमिटर जग्गा अनिवार्य चाहिन्छ। यो आधारमा हेर्दा ३ सय शय्याका लागि १६ हजार ५ सय वर्गमिटर जग्गामा भवन बनाउनुपर्ने हुन्छ। अर्थात् ३२ दशमलव ४३ रोपनी जग्गामा अस्पताल भवन बनाउनुपर्ने हुन्छ। 

 

तस्बिर: निमेशजंग राई

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live