फिचर

भरतपुर अस्पताल: पाकोसँगै परिपक्व

img

प्रवीण ढकाल

देशको मध्य भागमा रहेको चितवनको भरतपुर पहुँचका हिसाबले सबैजसो ठाउँसँग यातायातले जोडिएको सहर हो । यसरी भरतपुर पायक पर्नुको लाभ सर्वसाधारणले कुनै रुपमा उठाएका छन् भने स्वास्थ्य सेवाबाटै हो । भरतपुर भन्नेबित्तिकै भरतपुर अस्पतालको परिचय गाँसिएर आइहाल्छ ।

५६ वर्षे यो सरकारी अस्पतालले बीचमा लामो समय अन्य सरकारी संस्थाको जस्तै अस्तव्यस्तताको नियति खेप्यो । तर, पछिल्लो समय स्वास्थ्य क्षेत्रप्रति जनताको चासो र आशा बढेसँगै यसले उत्कृष्टताको कसीमा आफूलाई उभ्याएको छ ।

२०१८ सालमा २५ बेडको अस्पताल हुँदै भरतपुर अस्पताल अहिले ६ सय बेडमा सञ्चालित छ । यस क्रममा जति पाको हुँदै छ, अस्पतालले सेवा प्रवाहमा परिपक्वता सावित गर्दै गएको छ । 

भरतपुर अस्पतालले खासगरी चितवन र आसपासका ८ जिल्लासहित देशका ३५ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । वार्षिक करिब २ लाख जनाले उपचार सेवा लिने गरेको अस्पतालको तथ्यांक छ ।

ओपिडीमा दैनिक करिब एक हजार बिरामी हेर्ने क्षमता रहेको अस्पतालले पछिल्लो समय संख्यासँगै सेवाको गुणस्तरमा ध्यान दिन थालेको छ । हाल विशेषज्ञ सेवा दिइरहेको अस्पतालले विभिन्न विधामा अति विशेषज्ञ सेवा (सुपर स्पेसलिस्ट सर्भिस) दिन सुरु गरिसकेको छ ।

अस्पतालले अत्याधुनिक उपकरण र उपचार प्रणाली भित्र्याएर पछिल्लो समय आफूलाई अब्बल रुपमा प्रस्तुत गरेको छ । यति मात्र हैन, थप उत्कृष्ट सेवा दिन भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना नै बनाएर अघि बढिरहेको छ ।

अस्पतालले ३१ बिघा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गर्ने गुरुयोजना थालेसँगै गुणस्तर सुधारका काम पनि गरिरहेको छ । केही समयअघि आकस्मिक कक्षलाई पुनर्निर्माण गरेको अस्पतालले पूर्वाधार विकास अन्तर्गत ‘ए’ र ‘बी’ ब्लक निर्माण गरिसकेको छ । अहिले ‘सी’ ब्लक निर्माणको काम अघि बढाएको छ । अबको ३ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको सो भवनमा ल्याब, एमआरआई, ट्रमाका अति विशेषज्ञ सेवा दिइने जनाइएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार, पूर्वाधार र अत्याधुनिक सेवा थपेर भरतपुर अस्पताललाई नेपालकै नमूना केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले साढे एक वर्षअघि आफू आउँदा अस्पतालको अवस्था चित्त नबुझेर सुधारको प्रयास थालेको बताए ।
‘अस्पतालको दुरवस्था देख्दा हामी युवाले नै केही सुधार गर्नुपर्छ भनेर समन्वय गर्‍यौं’, हाडजोर्नी विशेषज्ञ समेत रहेका डा मरासिनीले भने, ‘यसमा व्यवस्थापन समिति, विभागीय प्रमुख लगायत सबैले सहयोग गर्नुभयो ।’

भरतपुर अस्पतालको विगत वर्षको अस्तव्यस्तता नियाल्ने हो भने अहिलेको सुधार र उत्कृष्टता कसरी सम्भव भयो भन्ने लाग्न सक्छ । हजारौं बिरामीको आशाको केन्द्र अस्पताल आफैं बिरामी थियो । एक वर्षयता भने सामूहिक प्रयासले अस्पताल काँचुली फेर्ने दिशामा अघि बढेको हो ।

अस्पताल कति अस्थिर अवस्थामा चलेको थियो भने, दुई वर्षको अवधिमा लगालग चार जना मेसु फेरिएका थिए । यो अस्थिरताले सिंगो अस्पतालको सञ्चालन र सेवा प्रवाहमै असर परेको थियो ।   

अस्पतालमा गत वर्षसम्म पावर ब्याकअप समेत थिएन । बत्ती जानासाथै शल्यकक्ष, एक्स–रे लगायत सारा सेवा बन्द हुने अवस्था थियो । त्यो समस्या समाधान गर्न जेनेरेटरको व्यवस्था गरियो । त्यसपछि विशेषज्ञ सेवा इआरसिपी सुरु गरियो, यो अपरेशन बिनै पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्ने विधि हो । यसपछि सरकारी अस्पतालमा काठमाडौं बाहिर पहिलो पटक भरतपुरमा घुँडाको अर्थोस्कोपी सर्जरी पनि सुरु भयो । यसमा घुँडाको जोर्नी नफुकाली दूरबीनबाट रोग पत्ता लगाई उपचार गरिन्छ ।

डा मरासिनी मेसु भएर आउँदा ‘ए’ ब्लकको भवन बनिसकेर पनि प्रयोगविहीन अवस्थामा थियो । उनको प्रयासमा भवन सञ्चालनमा आयो । उक्त भवनमा २० बेडको आइसियू, १८ बेडको पोस्ट अपरेटिभ वार्ड, ६ वटा अपरेसन थिएटर सञ्चालन गरियो । 

‘त्यहीँ हामीले मेडिसिन वार्ड र क्याबिन पनि सुरु गर्‍यौं’, डा मरासिनीले भने ।

अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना भएपछि बिरामीहरु लाभान्वित भएका छन् । ट्रमा सेन्टर ५० बेड क्षमताको छ भने १२ बेड क्षमताको स्पाइनल इन्जुरी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । अस्पतालले उक्त सेन्टरलाई थप विस्तार गर्दै लाने योजना बनाइसकेको छ ।

अस्पतालले मुख र अनुहारका हड्डी भाँच्चिँदा गरिने शल्यक्रिया (ओरल एण्ड म्यागजिलो फेसियल सर्जरी) सेवा सुरु गरेको छ । यस्तै, अस्पतालमा १६ वटा नियोनेटल केयर युनिट र १२ बेडको छुट्टै एनआइसियू सेवा निःशुल्क उपलब्ध गराइएको छ । 

भरतपुर अस्पताल विपन्न वर्गको लागि वरदान नै बनेको छ । अस्पतालले गरिब तथा विपन्न नागरिक उपचार राहत कोष खडा गरेको छ । सरकारले दिने निःशुल्क उपचार सेवा पूर्ण नभएकोले त्यसलाई पूर्णता दिन यो कोष बनाएको मेसु डा मरासिनीले बताए । उनका अनुसार अस्पतालले सामाजिक सेवा इकाइ मार्फत विभिन्न ११ वटा लक्षित समूहमा बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । गत वर्ष मात्र अस्पतालले एक करोड भन्दा बढी रकमको निशुल्क उपचार सेवा बिरामीलाई दिएको छ ।

अस्पतालले सरकारले निःशुल्क गरेको डायलाइसिस सेवा यसै वर्षदेखि सुरु गरेको छ । चितवनका निजी अस्पतालहरुमा डायलाइसिस सेवा नयाँ नभए पनि सरकारी अस्पतालमा सुरु गरिएको यो सेवाले त्यस क्षेत्रका मिर्गौलाका बिरामीलाई निकै राहत मिलेको छ । अस्पतालसँग १२ वटा डाइलाइसिस मेसिन छन् । 

अस्पतालले निकट भविष्यमै न्यूरो सर्जरी सेवा सुरु गर्न लागेको छ । यसका लागि उपकरणहरु खरिद गरिसकेको छ । यसअघि विभिन्न विभागमा औजार–उपकरणको व्यापक अभाव हुँदा उपचारमा समस्या हुने गरेको थियो । त्यो समस्या निराकरण गर्न १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान मेसिन, एनेस्थेसियाका उपकरण, लाइट, अल्ट्रासाउण्ड मेसिन लगायतका उपकरण थपिएको छ । 

‘एक्स–रे र ल्याबमा बिरामीको चाप बढी भएकाले त्यहाँ उपकरण दोब्बर बनाइयो’ मेसु डा मरासिनीले बताए, ‘२० वटा आइसियूमा ३ वटा भेन्टिलेटर रहेकोमा ५ वटा थप्यौं ।’
यति धेरै सेवा–सुविधा उपलब्ध रहेको भरतपुर अस्पतालको बलियो र ख्याति कमाएको विभाग कुन हो त ?

अस्पतालमा स्त्री तथा प्रसूति सेवा राम्रोमध्येको पर्छ । चितवन र आसपासका अधिकांशले प्रसूतिका लागि भरतपुरलाई नै रोज्दा रहेछन् । 

मेसु डा मरासिनी भन्छन्, ‘यो अस्पताल प्रसूति सेवाका लागि प्रसूति गृहपछिको ठूलो हो । जनशक्तिको हिसाबले पनि ठूलै हो ।’

यो अस्पतालमा वार्षिक करिब १२ हजार र दैनिक करिब ४० जना सुत्केरी हुन्छन् । गुरुयोजना अनुसार, प्रसूतिको छुट्टै ब्लक बनाउने योजना छ । 

प्रसूतिका साथै यहाँ ट्रमा सेवालाई पनि प्राथमिकता दिइएको छ । राजमार्ग नजिकै अस्पताल भएकाले अन्यत्रका बिरामी ल्याउन सहज हुने भएकाले ट्रमा सेवा विस्तार गर्ने तयारी पनि भइरहेको छ ।

भावी योजना

भरतपुर अस्पतालले तात्कालिक योजनादेखि केही महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । अबको पाँच वर्षभित्रमा एक हजार शय्या क्षमताको अस्पताल सञ्चालन गर्ने योजना पास भैसकेको छ ।

अहिले अस्पतालमा चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स) अन्तर्गत प्रमाणपत्र तह नर्सिङ, एमडीएमएस र बिएनको कक्षा सञ्चालन भइरहेको छ । अस्पताललाई भविष्यमा प्रतिष्ठानका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

अस्पतालले करिब ५ महिनापछि अक्सिजन प्लान्ट बनाएर आफैंले अक्सिजन उत्पादन गर्ने भएको छ । एक दिनमा ६०-७० सिलिण्डर उत्पादन हुने जनाइएको छ ।
‘अक्सिजनमा प्रतिमहिना ५ लाख खर्च हुन्थ्यो । हामी आफैंले उत्पादन गरेपछि अस्पतालको रकम जोगिन्छ र आवश्यक परे बेच्न पनि सकिन्छ’, मेसु डा. मरासिनी बताउँछन् ।
यसका साथै अस्पतालले कपडा धुने मेसिन राख्ने र फोहोर व्यवस्थापन प्लान्ट बनाउने गृहकार्य गरिरहेको छ ।

पूर्वाधार विकासकै क्रममा अस्पतालले अहिले पुरानो संरचनामा सञ्चालित १६ बेडको इमर्जेन्सी सेवालाई अत्याधुनिक बनाउन छुट्टै इमर्जेन्सी ब्लक बनाउने योजना पनि बनाएको छ । 

‘व्यवस्थापन समितिले अस्पताल बनाए पनि सेवा विस्तार र अरु गर्न नसक्ने भएकोले बजेटका लागि मन्त्रालयसँग पत्राचार गर्दै छौं’, अस्पतालका अध्यक्ष राजभण्डारीले भने, ‘सरकारी अस्पताल भएकोले हामीले निःशुल्क सेवा दिनुपर्ने अवस्था छ । त्यो कारणले आम्दानी नहुँदा थप सेवा र पूर्वाधार विस्तारका लागि सरकारी सहयोग अपरिहार्य छ ।’
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live