फिचर

औषधि कम्पनी र डाक्टरबीचका सेतु

सिर्जना खत्री

अस्पताल जाँदा ओपिडी बाहिर धेरैले देखेको हुनुपर्छ, सर्ट, पाइन्ट, टाई लगाएर कालो झोला भिरेका केही व्यक्ति । बिरामी जस्तै डाक्टरको समय कुरेर बसेका उनीहरु को हुन्, के गर्छन्, किन आउँछन् त्यहाँ? भन्ने प्रश्न धेरैको मनमा उब्जिँदो होला । उनीहरु बिरामी भने होइनन्, न त बिरामीका आफन्त नै । उनीहरु हुन्, मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर।

उनीहरु औषधि कम्पनी र डाक्टरलाई जोड्ने सेतुको भूमिकामा हुन्छन् । डाक्टरलाई आफू आबद्ध कम्पनीले ल्याएको नयाँ औषधि, त्यसको प्रभावकारिता र असरबारे जानकारी दिन्छन् । उनीहरुले दिएको वैज्ञानिक र तथ्यगत सूचनाका आधारमा डाक्टरले बजारमा नयाँ आइरहेका औषधिबारे थाहा पाउँछन् । बिरामीका लागि सकेसम्म आफूलाई गुणस्तरीय र विश्वसनीय लागेको औषधि सिफारिस गर्छन् । 

बजारमा कुन रोग नियन्त्रणका लागि कस्तो अनुसन्धान भइरहेको छ ? नयाँ औषधि, भ्याक्सिन के आयो ? के आउँदैछ ? भन्ने कुरामा आफूहरु ‘अपडेट’ रहने र डाक्टरहरुलाई जानकारी गराउने एसियन फर्मास्युटिकल्सका एमआर जितेन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘हामी डाक्टरका लागि कन्टिन्यु मेडिकल एजुकेसनको एउटा अंगका रुपमा रहन्छौं भने कम्पनीका लागि बजारमा माग सिर्जना गर्ने प्रतिनिधि ।’

औषधि कम्पनीको भविष्य नै एमआरले निर्धारण गर्ने हुन् । उनीहरुले माग सिर्जना गरे मात्रै कम्पनीको औषधि धेरैभन्दा धेरै बिक्री हुने हो । आफूहरु कम्पनीका लागि अनुसन्धानकर्ताको भूमिकामा समेत रहने सोही कम्पनीका अर्का एमआर दामोदर खड्का बताउँछन् । उनी भन्छन्, ‘हामी डाक्टरका ओपिडी र बजारमा निरन्तर पुग्ने भएकाले कुन रोगका बिरामी बढ्दै गइरहेका छन् ? कस्तो औषधि धेरै बिक्री हुन्छ भन्ने सूचना कम्पनीलाई दिन्छौं ।’

एमआर बन्नका लागि न्यूनतम बिएससी माइक्रोबायोलोजी वा बि फार्मेसी अध्ययन गरेको हुनुपर्छ । खड्का भन्छन्, ‘हामीले औषधिबारे डाक्टरलाई पूरा सूचना दिन सकेनौं वा गलत सूचना दियौं भने त्यसको असर बिरामीमा पर्ने भएकाले कम्पनीले सकेसम्म अध्ययनशील, सचेत र स्मार्ट मान्छे छान्छ ।’

मार्केटिङ आफैंमा चुनौतीपूर्ण पेशा भएकाले एमआर हुन थप केही विशेषता चाहिन्छन् । स्वउत्प्रेरित, स्पष्टवक्ता, सबैसँग मिल्न सक्ने, समयप्रति सजग र धैर्यता जस्ता गुण हुनैपर्ने एमआर खड्काको अनुभव छ । 

मिहिनेत गरेर काम गर्नेहरुका लागि आयआर्जनका हिसाबले आकर्षक पेशा मध्य नै पर्छ एमआर । श्रेष्ठ भन्छन्, ‘स्नातक मात्रै पास गरेर आकर्षक तलब पाउने जागिर मध्येमा पर्छ यो ।’ तर, सरकारले औपचारिक रुपमा यसलाई पेशाका रुपमा ग्रहण नगरदिँदा केही चुनौती खेप्नु परेको श्रेष्ठको अनुभव छ । उनीहरुले नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन नामक संगठन खोलेर आफ्ना समस्याको सहजीकरण गरेका छन् ।

तर, एमआर पेशालाई व्यवस्थित र मर्यादित बनाउन सरकारले पहल गरिदिए अझै पेशाको मर्यादा बढ्थ्यो भन्ने एमआरहरुको चाहना छ । श्रेष्ठ भन्छन्, ‘सरकार वा औषधि व्यवस्था विभागले आचारसंहिता पनि बनाइदिए अझ मर्यादित हुन्थ्यो हाम्रो पेशा ।’

सबै एमआरलाई मर्यादामा राख्नकै लागि उनीहरु आफैंले कस्तो लुगा लगाउने ? कस्तो झोला बोक्ने ? कपाल–दाह्री कस्तो काट्ने ? लगायतका नियम बनाएका छन् ।
श्रम ऐनमा उल्लेख भएको निश्चित समय काम, मनोरञ्जन र आराम जस्ता कुरा एमआर पेशामा अझै लागू हुन सकेका छैन । बढी काम लगाए बापत थप पारिश्रमिक, बीमा सुविधा, निश्चित समयपछि उपदान जस्ता सुविधा भइदिए पेशा सुरक्षित हुन्थ्यो भन्ने अपेक्षा एमआरहरुको छ । 

यसैगरी, अन्तर्राष्ट्रिय अभ्यास जस्तै नेपालमा पनि डाक्टर भेट्ने समय मिलाउने व्यवस्था एसोसिएसनले गर्न थालेको छ । डाक्टरकहाँ भीडभाड नहोस् भनेर एमआर आफैं पालो मिलाएर भेट्न जान थालेका छन् । तर, यसलाई औपचारिक रुपमै डाक्टर, अस्पताल र सरकारले ग्रहण गरिदियास् भन्ने उनीहरुको चाहना छ । एमआर श्रेष्ठ भन्छन्, ‘हामीले डाक्टर भेट्ने निश्चित समय तोकिए हुन्थ्यो । कि ओपिडी सकिसकेपछि वा सुरु हुनुभन्दा अघि भए राम्रो ।’

आफूले काम गर्ने कम्पनीको औषधिले बजार लेओस् भन्ने चाहना हरेक एमआरसँग हुन्छ । श्रेष्ठका अनुसार एमआरले औषधिको गुणस्तरको पनि पैरवी गर्ने काम गर्छन् । उनी भन्छन्, ‘एउटा मापदण्ड त सबैले पूरा गरेर औषधि बनाएका हुन्छन् तर सबैभन्दा राम्रो औषधि पाए बिरामीको उपचारमा अझ सहज हुन्छ ।’

अहिले डाक्टरले औषधिको ‘ब्रान्ड’ सिफारिस गर्ने चलन हटाइएको छ । ‘जेनेरिक’ नाममा औषधि सिफारिस गर्ने परिपाटि बसाइएको छ । यसले एमआरलाई केही असहज बनाए पनि उनीहरु सरकारको यो निर्णयको पक्षमै छन् । तर, बजार अनुगमनमा कडाइ गर्नुपर्ने भनाइ छ एमआरहरुको । कमजोर अनुगमन प्रणालीका कारण बिरामीले कम गुणस्तरको औषधि सेवन गर्न वाध्य हुनुपर्ने खड्काले बताए ।

औषधि व्यवस्था विभागको फितलो अनुगमन र गुणस्तर मापनको कमजोर उपस्थितिले बजारमा कमसल औषधि हाबी हुने हो कि भन्ने एमआरहरुकै चिन्ता छ । उनले भने, ‘औषधि पसलेलाई बढी नाफा चाहिएको हुन्छ । उसले धेरै कमिसन दिने कम गुणस्तरको औषधि मात्रै बेचिदिन सक्छ । त्यसैले बजारले जेनेरिक नाम सिफारिसको गलत फाइदा उठाउन सक्छ ।’

औषधि कम्पनीको बजार प्रवद्र्धनमा खट्ने एमआरहरुले चुनौती पनि उत्तिकै झेल्नुपर्छ । उनीहरुमाथि हेयभाव, अस्वीकार, रिस, गाली आदि पोखिन सक्छ कहिलेकाहीँ । तर, सदैव उज्यालो अनुहार लिएर स्फुर्तीका साथ आफ्नो औषधिबारे थोरै समयमा धेरै जानकारी दिइरहेका हुन्छन् एमआरहरु । उनीहरुले बुझेका हुन्छन्, एमआर हुनु भनेकै केही मानवीय कमजोरी लुकाउन सक्नु र केही मानवीय क्षमता भरपूर प्रयोग गर्न जान्नु हो ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live