फिचर

मानसिक स्वास्थ्यमा ‘कोशिश’

दशकयता मानसिक स्वास्थ्यमा मल्हम बन्दै 

जीवन कार्की

दुःखी–पीडितहरुलाई आश्रय दिने भन्दै सहरमा धेरै आवास केन्द्र खुलेका छन् । त्यसमा शारीरिक तथा बौद्धिक अपांगता भएकाहरुको लागि आश्रय केन्द्र पनि उत्तिकै छन् । मानसिक बिरामीहरुमै केन्द्रित भएर एक दशकदेखि क्रियाशील ‘राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन– कोशिश’ गिनेचुनेकोमा पर्छ।

संस्थाले आपतकालीन मनोसामाजिक सहायता तथा पुनःस्थापना कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत संस्थाले मानसिक बिरामीहरुको स्वास्थ्य जाँच, उपचार अवधिभर औषधि सुविधा, मनोविमर्श सेवा, नियमित थेरापेटिक क्रियाकलाप, पोषणविद्को सल्लाह अनुरुप पोषणयुक्त आहार, परिवारमा पुनर्मिलन जस्ता सेवा दिने गर्छ । कोशिशको काम किन उदाहरणीय छ भने, पुनःस्थापना वा पारिवारिक पुनर्मिलनपछि पनि यसले स्वास्थ्य अवस्थाबारे नियमित फलोअप गरिरहन्छ ।

२०६५ सालमा स्थापित कोशिशले त्यसको दुई वर्षपछि बिरामीहरुका लागि आवास गृह सञ्चालनमा ल्याएको हो । सुरुमा महिलाहरुका लागि मात्र व्यवस्था गरिएको यस्तो उपचार तथा पुनःस्थापना कार्यक्रम भूकम्प (२०७२) पछि पुरुषहरुका लागि पनि उपलब्ध गराइएको हो ।

संस्थाले सञ्चालन गरेको महिला सेवा गृह ललितपुरको नख्खुमा (हाउस अफ होप) छ भने पुरुषहरुका लागि बाग्डोलमा (हाउस अफ पिस) छ । महिलाहरुको लागि ४० बेड र पुरुषका लागि २५ बेडको सुविधा छ । बस्ने, खाने, औषधोपचार लगायत सबै सुविधा बिरामीहरुले निःशुल्क पाउँछन् । महिला सेवा गृहमा पाँच नर्ससहित २१ कर्मचारी छन् भने पुरुषतर्फ ७ जनाले बिरामीको रेखदेख गर्छन् । दुवै गृहका बिरामीलाई नेपाल मेडिकल कलेजका डाक्टर (कन्सल्ट्यान्ट साइक्रियाटिस्ट) ले साताको दुई चोटि आएर जाँच गर्छन् ।


धेरैजसो सेवा गृहले प्रभावितहरुलाई वर्षौंसम्म राखिरहन्छन् । तिनैलाई देखाएर सञ्चालकहरु ‘डलरको खेती’ मा रमाउने गरेको आरोप पनि लागिरहन्छ । तर, कोशिशले भने सेवामूलक सामाजिक संस्थाको परिचय अहिलेसम्म कायमै राखेको छ । संस्थाले आफ्नो आवास गृहलाई ‘अल्पकालीन सुरक्षित घर’ नाम दिएको छ । नाम यस्तो राखिनुमै संस्थाको उद्देश्य पनि गाँसिएको छ ।

‘दीर्घकालीन रुपमा संस्थामा राखी पुनस्र्थापना गर्ने कुरालाई हामी कुनै पनि हालतमा अवलम्बन गर्दैनौं’, कोशिशका प्रमुख मातृका देवकोटा भन्छन्, ‘संस्थाले विशेष उपचारका लागि न्यूनतम समयका लागि आवासीय सेवा दिन्छ ।’ अर्थात् कोशिशले निश्चित समयमा उपचार गरेर परिवारको जिम्मा लगाई त्यो ठाउँमा अर्को बिरामी ल्याएर उपचार गर्ने कुरालाई प्राथमिकता दिने गर्छ । संस्थाले मूल मन्त्र नै बनाएको छ– ‘मानसिक स्वास्थ्य समस्या÷मनोसामाजिक समस्यालाई समुदायमा आधारित पुनःस्थापना कार्यक्रममा समायोजन गर्नुपर्छ ।’

अधिकांश बिरामी निको पार्ने औंसत समय तीन महिनाको राखिएको छ । तीन महिनादेखि बिरामीको मानसिक स्वास्थ्यको जटिलता हेरी बढीमा ६ महिनासम्म राखेर रेखदेख र सोही अनुसारको उपचार गर्छ ।

सेवा गृह सञ्चालन गरेको सात वर्षे अवधिमा अहिलेसम्म ४ सय २१ जनाले उपचार पाएर समाजमा पुनःस्थापना भइसकेको तथ्यांक संस्थासँग छ । यसरी सेवा पाउनेमा महिलाहरुको संख्या बढी छ । हाम्रो समाजको बनौट अनुसार हरेक तरहले महिलाहरु चपेटामा परेकाले स्वाभाविक रुपमा मानसिक समस्याबाट उनीहरु नै बढी प्रभावित पनि छन्। 
‘मानसिक समस्याबाट प्रभावित भई यौन दुव्र्यवहारमा परेका, गर्भावस्थामा रहेका र नवजात शिशुसहितका महिलाहरुलाई पनि कोशिशले सेवा प्रदान गर्दै आएको छ’, सञ्चालक देवकोटा भन्छन्, ‘शिशुहरुलाई सुरक्षित वार्डमा हेरचाहको व्यवस्था गरिन्छ ।’

केही महिलाहरु त सेवा गृहमै आएर सुत्केरी भएका पनि छन् । अहिलेसम्म २८ जना बच्चा सेवा गृहमा हुर्किएर गएकोमा खुसीसँगै थोरै खिन्नता मान्छन् देवकोटा । खिन्नता चाहिँ किन त ?

४५ वर्ष पुगिसक्दा अविवाहित रही मानसिक बिरामीहरुको उद्धार र उपचारमा केन्द्रित उनी भावुक हुँदै भन्छन्, ‘यिनीहरु नै हुन् मेरो परिवार र लालाबाला । लामो समय आफ्नो सामीप्यमा रहेकाहरु बिदा भएर जाँदा परिवारका सदस्य टाढिए जस्तो लाग्छ ।’

रोचक त के छ भने, मानसिक बिरामीका रुपमा कोशिशमा आएर उपचारपछि कतिपय युवादेखि वृद्धसम्मले संस्थामै काम समेत पाएका छन् । ६० नाघेका वृद्धले पनि सञ्चालक देवकोटालाई बुवा भनेर सम्बोधन गर्छन् । यसो हुनुमा उनी नेतृत्वको कोशिश परिवारबाट बिरामीहरुले पाएको अभिभावकत्व र छत्रछायाको प्रभाव देखिन्छ ।

देवकोटाले ‘कोशिश’ जन्माउनुको कारण के हो भने, उनी आफैं पनि एक समय मानसिक बिरामी भएर यसले दिने सामाजिक पीडा खेपेका भुक्तभोगी हुन् । उपचारबाट त्यसबाट पार पाएपछि उनले आफू जस्तैका लागि काम निर्णय गरे, सुरुमा व्यक्तिगत स्तरमा बिरामीहरुको उद्धार तथा उपचार थाल्दै पछि संस्थागत स्वरुपमा ‘कोशिश’ स्थापना गरे । 
उनले कस्तोसम्म स्थिति खेपे भने, घर–परिवारले मानसिक समस्या भनेर नबुझ्दा युवावयमा उनी ८ वर्षसम्म घरमै पूर्ण निस्क्रिय जीवन बाँचे । मानसिक रोगले शारीरिक र मानसिक रुपमा गलाएर परिवार र समाजको लागि आफू बोझ बन्ने देखेपछि उनले ०५३ सालतिर आत्महत्याको प्रयास समेत गरेका थिए ।

‘तर मैले जीवित रहेर यसरी अरुहरुका लागि काम गर्नुपर्ने रै’छ । आत्महत्याको प्रयास गर्दा ७२ घण्टापछि ब्युँझिएँ’, उनी भन्छन्, ‘मलाई मानसिक रोग नलागेको भए म यस क्षेत्रमा लाग्ने नै थिइनँ ।’

मानसिक रोगी भन्नासाथै समाजमा कलंक ठानेर हेलाहोचा र अपमान गर्ने प्रवृत्तिप्रति उनी असन्तुष्टि पोख्छन् । तर, उनी आफैंले साबित गरेका छन्, यो कलंकको टीका मेट्न सम्भव छ ।

स्वास्थ्य सामान्य अवस्थामा फर्केपछि ०५४ सालमा फरेस्ट टेक्निसियनको जागिर खाएर अरुसरह काम गरेका उनी भन्छन्, ‘सबै खालको मानसिक स्वास्थ्य समस्याको उपचार र व्यवस्थापन गर्न सकिन्छ, उनीहरुले पनि समुदायमा अरु सरह योगदान पु¥याउन सक्छन् ।’

विभिन्न जिल्लामा बाँधेर र दुव्र्यवहार गर्दै राखिएका मानसिक बिरामीलाई उद्धार गरेर उपचार गरेको छ । कतिपय बिरामी प्रहरी, महिला तथा बालबालिका कार्यालय र अन्य मार्फत संस्थामा आइपुग्छन् ।

‘कोशिश’ ले मानसिक रोगीहरुले समाजमा अरु जस्तै सम्मान र मर्यादापूर्वक जीवनयापन गर्ने अवसर पाउनुपर्छ भनेर कानुनी लडाइँ पनि लड्दै आएको छ । मानसिक स्वास्थ्यका क्षेत्रमा अधिकार रक्षाको लागि काम गर्न संस्थाले सन् २०१३ देखि फुल टाइम वकिल नै राखेको छ । कोशिशले सन् १९९७ को मानसिक स्वास्थ्य नीतिलाई परिमार्जन गर्न अग्रसरता लिएको र त्यो छिटै पास हुने क्रममा रहेको देवकोटाले सुनाए ।

अहिलेसम्म ‘कोशिश’ देश–विदेशबाट आउने सहयोगबाटै सञ्चालन भइरहेको छ । समाज कल्याण परिषद्ले वार्षिक १५ लाख रुपैयाँ दिन्छ । यसअघि मेनोनाइड सेन्ट्रल कमिटि क्यानडाबाट वार्षिक १० हजार डलर आउँथ्यो ।

संस्थामा काम गर्दै आउँदा सञ्चालक देवकोटाले बेल्जियमबाट सन् २०१३ मा ५० हजार डलरको अवार्ड समेत पाए, मानसिक स्वास्थ्यको क्षेत्रमा कलंक मेटेको भनेर । पुरस्कार रकम संस्थाको भावी कार्यक्रमको लागि सञ्चय गरिएको छ ।

‘अहिलेसम्म संस्था कसरी चलाउने भनेर आर्थिक समस्या आएको छैन’, देवकोटा भन्छन् ‘भूकम्पको बेला ३ महिनाका लागि मात्रै हामीसँग ब्याक अप थियो । तर बिस्तारै फण्ड मिल्दै गयो ।’

संस्थाले काभ्रे, दक्षिण ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र तनहुँमा शिक्षा कार्यालय, महिला बालबालिका र स्वास्थ्य कार्यालयसँग समन्वय गरेर मानसिक स्वास्थ्यका क्षेत्रमा काम समेत गर्दै आएको छ । ती जिल्लाहरुमा मानसिक बिरामीहरुको लागि ओपिडी पनि चलाइरहेको संस्थाका कर्मचारी बताउँछन् । जिल्लाहरुमा बिरामीलाई मनोपरामर्शका साथै जनचेतना जगाउने, परिवारलाई मनोशिक्षा दिने, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुलाई आवश्यक तालिम दिने लगायत काम पनि संस्थाले गर्दै आएको छ ।

कोशिशको दीर्घकालीन योजना छ, अहिले सञ्चालित आपतकालीन मनोसामाजिक सहायता तथा पुनःस्थापना सुविधालाई सातै प्रदेशमा लैजाने । स्थानीय तथा प्रादेशिक स्तरमा निजी–सार्वजनिक साझेदारीको स्वरुपमा यो कार्यक्रमलाई विस्तार गर्दै यो लक्ष्यले सीमित स्रोत–साधनका बीच धेरै तयारी माग्छ । यो अवस्थामा संस्था अर्को योजनामा लागेको छ, केन्द्रीय स्तरमा महिला र पुरुष सेवा केन्द्र उपत्यकाका ग्रामीण भेगमा बनाउने । जसले गर्दा बिरामीले प्राकृतिक वातावरणमा रहेर स्थानीय समुदायमा घुलमिल हुँदै सहज रुपमा उपचार पाऊन् ।

गरिबीको रेखामुनि बहुसंख्यक जनता रहेको नेपाल जस्तो देशमा चरम बेरोजगारी, पारिवारिक समस्या लगायतका कारण मनोसामाजिक समस्या पेचिलो बनिरहँदा ‘कोशिश’ जस्ता संस्थाहरुले सानो प्रयासबाट यो समस्या निराकरण गर्न त्यति सजिलो छैन । यस्ता प्रयासले सरकारलाई मानसिक स्वास्थ्यका क्षेत्रमा अग्रसरता लिन दायित्वबोध भने पक्कै गराउँछ ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live