मुख्य समाचार

भाइरल हेपाटाइटिस विरुद्ध जुट्न ११ देशका स्वास्थ्यमन्त्रीलाई अमिताभ बच्चनको आग्रह

उनी आफैं भएका थिए हेपाटाइटिसको शिकार

img

डिबी खड्का

माल्दिभ्स– बलिउडका बादशाह अमिताभ बच्चनले भाइरल हेपाटाइटिस निर्मुलका लागि सक्रिय हुन आव्हान गरेका छन् । हेपाटाइटिस निर्मुलका लागि डब्लुएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रका सद्भावना दूत अभिनेता बच्चनले यसको रोकथाम र प्रभावितमाथि हुने विभेदका लागि सचेतना बढाउन जरुरी रहेको बताए । 
सेप्टेम्बर ६ देखि १० सम्म माल्दिभ्समा भइरहेको दक्षिण–पूर्वी एशिया क्षेत्रका स्वास्थ्य मन्त्रीस्तरीय बैठकलाई लाइभ भिडियो कल मार्फत् सम्बोधन गर्ने क्रममा उनले यस्ता आग्रह गरेका हुन् । उनले दक्षिण–पूर्वी एशियामा यसको ठूलो समस्या रहेको बताउँदै सबै एकजुट भएर लाग्यो भने भएकालाई उपचार गरेर निको पार्न सकिनुका साथै अन्यलाई हुन नदिन सकिने बताए । 

उनले भने, ‘यो मनोबैज्ञानिक र सामाजिक विषय हो । सबभन्दा पहिला त हेपाटाइटिस बी भएकाहरुमाथि हुने अन्तरदेशीय  विभेद हटाउन जरुरी छ,’ उनले भने, ‘कति देशले त भिषा नै नदिने गरेका छन् । यो ठीक भएन ।’

हेपाटाइटिस विरुद्धका दूत अभिनेता बच्चन पनि यसबाट प्रभावित व्यक्ति हुन् । उनलाई रगतको माध्यमबाट भाइरल हेपाटाइटिस सरेको थियो । सन् १९८२ ताका फिल्म ‘कुली’को सुटिङमा उनी घाइते भएका थिए । उनको उपचारका क्रममा झण्डै दुई सय जनाले रक्तदान गरेका थिए । तीमध्ये एकमा भाइरल हेपाटाइटिस रहेकाले उनमा सरेको थियो । त्यो समय सम्झिदै बच्चन भन्छन्, ‘डाक्टरले मेरो एक चौथाई कलेजो मात्रै सद्दे छ भनेका थिए त्यो समय ।’

उनले आफूले सही उपचार पाएर निको भाग्यमानी व्यक्ति रहेको बताए । उनले हाल पनि धेरै देशमा यसको उपचार होइन, पत्ता लगाउनै समस्या रहेको दर्शाए । आफू यसबाट प्रभावित भइसकेकाले पीडा थाहा पाएकाले सद्भावना दूतका रुपमा सचेतना फैलाउन राजी भएको उनी बताउँछन् । 

हेपाटाइटिस बी बाट प्रतिवर्ष १० लाख दक्षीण–पूर्वी एशियाका मात्रै प्रभावित हुने गरेकाृ डब्लुएचओले जनाएको छ भने ४ लाख १० हजारको यसैका कारण मृत्यु हुने गरेको छ, जुन एचआईभी र मलेरिया भन्दा बढी हुन आउँछ ।
यो लिभर क्यान्सर र सिरोसिसको मुख्य कारण हो । यसले प्रजनन क्षमतामा ह्रास र नवजात शिशु मृत्युदर बढावा दिन पनि ठूलो भूमिका खेल्छ ।

डब्लुएचओकी क्षेत्रीय निर्देशक पुन खेत्रपाल सिंहले सबै देशले यस विरुद्धको कदमलाई प्रथामिकतामा राख्नुपर्ने बताइन् । दक्षिण–पूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रले सन् २०३० सम्ममा हेपाटाइटिस बी निर्मुल पार्ने कार्य योजना बनाएका छन् । डब्लुएचओले सामाजिक कार्यकर्ता, विकास साझेदार, प्रबुद्ध वर्ग, पेशाकर्मी समाजसँग मिलेर यस बिरुद्ध अभियान छेडिरहेको छ । यसैगरी नवजात शिशुलाई हेपाटाइटिस बी विरुद्ध सुई लगाउने कुरामा जोड दिइरहेको छ भने सुरक्षित रगत  र सुई, स्वच्छ पानी र खाना लगायतले हेपाटाइटिस बी र सी हुनबाट रोक्न सकिन्छ । 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live