समाचार

जाजरकोट: भाइरल ज्वरोका कारण मृत्यु

स्वास्थ्य खबरपत्रिका

जाजरकोट- कुशे गाउँपालिका–५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको आज बिहान भाइरल ज्वरोका कारण मृत्यु भएको छ। 

जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिइन्। यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उनको भनाइ छ । 
कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन्। 

आज मात्र त्रिवेणी नलगाड नगरपालिका–८ मा शिविर सञ्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ । 
गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् । यसभन्दा अगाडि बारेकोट गाउँपालिका–५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live