विचार/ब्लग

मुखको स्वास्थ्यमा सुदूरपश्चिमको अवस्था

डा पदम नेपाली

स्वास्थ्य समस्याको दृष्टिले सुदूरपश्चिम सधैंजसो समाचारमा छाइरहने क्षेत्र हो । छाउपडी प्रथादेखि गर्भवतीहरुले अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउनुपरेको जस्ता धेरै स्वास्थ्य समस्या सुनिराखेकै विषय हुन् । यही भेगको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा आठ महिनाअघि मेरो पोस्टिङ भयो । लोकसेवा मार्फत डेन्टल सर्जनको रुपमा छनोट भई पदस्थापन भएर जानुपर्ने थियो।

हत्तपत्त कसैको रोजाइमा नपरेको त्यस्तो ठाउँमा जागिर खान जानुपर्ने भएपछि रातभर निद्रा लागेन । काठमाडौंबाट सडक मार्ग हुँदै ७ सय ७३ किलोमिटर (२४ घन्टा बसयात्रा) छिचोलेपछि डडेल्धुरा पुगिने रहेछ । जहाजमा जाँदा काठमाडौंबाट धनगढीसम्म सवा एक घन्टाको  हवाई यात्रा र ४-५ घन्टाको बसयात्रापछि पुगिन्छ।

पहिले कांग्रेस नेता शेरबहादुर देउवाको गृहजिल्ला भनेर मात्र चिनेको डडेल्धुरामा आठ महिना बसेपछि सुदूरपश्चिमका धेरै कुरा बुझ्ने मौका पाएँ । यो क्षेत्रको स्वास्थ्य स्थिति पनि सूक्ष्म रुपमा बुझिरहेको छु् । त्यसैले यहाँ बसेर अनुभव गर्दाको वास्तविकता चित्रण गर्ने उद्देश्यले यो लेख लेख्दै छु । समग्र सुदूरपश्चिमको स्वास्थ्य स्थितिबारे आगामी लेखमा चर्चा गर्नेछु, यो पालि भने आफ्नो दखल रहेको 'मुख स्वास्थ्य'को बारेमा चर्चा गर्दै छु।

डडेल्धुरा सदरमुकामको तुफानडाँडाबाट बायाँतिर लागेपछि उपक्षेत्रीय अस्पताल पुगिन्छ । बाहिरबाट हेर्दा अस्पताल टिनका धेरै छाप्राको देखिन्छ । त्यही छाप्राभित्र इमर्जेन्सी, ओपिडी वार्ड लगायत ५० बेडको अस्पताल सोचेभन्दा व्यवस्थित तरिकाले मिलाइएको छ । तर, भवन र फराकिलो ठाउँको अझै अभाव नै छ । भित्रपट्टि  कुनामा रहेको १९ नम्बरमा मैले काम गर्ने दन्त विभाग छ।

सुरु-सुरुमा दाँत र मुखका बिरामी दैनिक २/३ जना मात्र आउँथे । आजकाल भने दिनमा १०/१५ जनासम्म आउँछन् । बिहान ९ देखि ३ बजेसम्म नियमित सेवामा समर्पित भए पिन टाढाको बिरामी भएको बेलामा ४/५ बजेसम्म बिरामीको उपचारमा खट्दा पनि सन्तुष्टि नै मिल्छ । परेको बेला फोनबाट पनि इमर्जेन्सीमा मुख-दाँत सम्बन्धी सेवा बिरामीलाई चौबीसै घन्टा प्रदान गरिन्छ।

यहाँको सरकारी अस्पतालमा दाँत सम्बन्धी सम्पूर्ण आधारभूत सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको पाएँ । म सुरुमा आउँदा यो देखेर सुदूरपश्चिमका जनतालाई दाँत-मुख स्वास्थ्यमा आधारभूत सेवा दिन सक्छु भनेर खुसी लाग्यो । आफ्नो विभागमा सहयोग गर्ने जनशक्तिको पनि अभाव थिएन । टिम वर्कबाट दाँत झिक्ने, दाँत भर्ने, जरैदेखि भर्ने आरसिटी, दाँत सफा गर्ने, दुख्ने तथा पाक्ने खालको संक्रमणको उपचार गर्ने, नयाँ दाँत राख्ने लगायतको सेवा दिन सफल भएका छौं।

स्वास्थ्य सेवा लिन आउन बझाङ, बाजुरा, डोटी, बैतडी लगायत बिरामीलाई यो ठाउँ पनि धेरै टाढा पर्छ । त्यसैले सबै जिल्लामा सेवा विस्तार गर्नु जरुरी देखिन्छ । केही जटिल उपचारको लागि बिरामीलाई बुटवल, चितवन, काठमाडौं, भारत लगायतमा रेफर गर्नुपर्ने बाध्यता अझै छँदै छ।

मुख तथा दाँत स्वास्थ्यमा पनि अरु विकट पहाडी भेग झैं सुदूरपश्चिम पनि धेरै पछाडि नै देखिन्छ । दाँत कीराले खाएर होस् वा अन्य कारणले, प्रायले १६/१७ वर्षकै उमेरमा ४/५ वटा दाँत गुमाइसकेका हुन्छन् । त्यस्ता धेरै बिरामी आउँछन्, जसलाई नयाँ दाँत राख्न ४/५ पटकसम्म अस्पताल आउनुपर्ने हुन्छ । खर्च पनि ५०/६० हजार रुपैयाँ लाग्छ । जसका लागि उनीहरु समयका साथै र आर्थिक कठिनाइका कारण आउन सक्दैनन् । राज्यले आर्थिक भार बेहोर्न पनि असम्भव नै हुन्छ।

कतिपय अवस्थामा एउटै बिरामीमा गिजा सुन्निने, पाक्ने, दाँत हल्लिने जस्ता समस्या एकसाथ देखिन्छ । यस्तो अवस्थामा कुन उपचार पहिले सुरु गर्ने भन्नेमा कहिलेकाहीँ आफैं अलमल्ल पर्छु । एउटा व्यक्तिको सम्पूर्ण दाँतको उपचार राम्रोसँग गर्नै एक महिना चाहिन्छ जस्तो लाग्छ । केहीमा मुखको क्यान्सर पनि भेटिन्छ त कोही चोटपटक लागेर मुखको तल-माथिको हड्डी नै भाँचेर आइपुग्छन्।

केही महिनाअघि अछामबाट ६ वर्षे बालिका भीरबाट लडेर अनुहारको हड्डी भाँचिएको अवस्थामा यहाँ ल्याइयो । यो केस जटिल भएकाले एक्स-रे र बालिकाको फोटो पठाएर कलेज अफ मेडिकल साइन्सेजमा कार्यरत ओरल एन्ड म्याजिलोफेसियल सर्जन डा आशुतोष कुमार सिंहसँग सल्लाह गरेँ । त्यस क्रममा अनुहारको हड्डी भाँचिएकाले अपरेसन नै गर्नुपर्ने निष्कर्षमा पुगियो।

यस्तो अपरेसनका लागि नजिकमा बुटवलसम्म पठाउनुपर्ने हुन्छ । आर्थिक अभावका कारण अभिभावकले बल्लबल्ल ३/४ दिनमा मात्र बालिकालाई बुटवल लैजान सके । बडो दु:खसाथ खर्च जुटाएर टाढासम्म जाँदा परिवारका सदस्यको मुहारमा पीडा झल्किन्थ्यो । डडेल्धुरामा सम्भव नभए पनि धनगढीमा अपरेसन सेवा उपलब्ध गराउन सकिए सुदूरपश्चिमका जनतालाई धेरै राहत हुनेथ्यो ।

अर्को उपाय, सरकारले यस्तो सेवा दिन सक्ने सर्जनलाई सके हप्तामा १ पटक र त्यो सम्भव नभए महिनामा २ पटक सुदूरपश्चिममा ल्याएर बिरामीलाई सेवा दिन सकिन्छ । यहाँको गरिब जनताले महँगो फिस तिर्न नसक्ने भएकाले प्राइभेटबाट डाक्टर ल्याउँदा गाह्रो नै हुन्छ । भ्रमण भत्तामा राज्यकोषबाट करोडौं खर्च भइरहेको अवस्थामा डाक्टरलाई पनि सेवा-सुविधा दिएर जनताको जनताको घरदैलोमा पुर्‍याउनु सराहनीय कार्य नै हुने थियो।

दाँतको संक्रमणलाई उपेक्षा गर्दा कतिपल्ट संक्रमण फैलिएर घाँटी सुन्निने र खानेकुरा निल्न गाह्रो हुने, गाला सुन्निने, आँखाको वरिपरिको भाग सुन्निने, सास फेर्न समस्या हुने र मुख नै खोल्न गाह्रो हुने र बिरामीलाई भर्ना गरेरै उपचार गर्नुपरेको घटना पनि छ । कतिपय बिरामीलाई रेफर समेत गर्नुपर्ने हुन्छ।

यसरी दाँत तथा मुखको स्वास्थ्य समस्या विकराल रहनुको मुख्य कारण अशिक्षा र जनचेतनाको अभाव हो । चेतना अभावमा बच्चाको दाँत भोलि झर्ने त हो नि भनेर हेरविचार गरेको पाइँदैन । त्यसले गर्दा सबै दाँत कीराले खाएर मुख नै संक्रमणको प्रमुख स्रोत बन्छ । यो समस्या हटाउन स्कुलदेखि गाउँ-गाउँसम्म चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ।

दाँत कीराले खाए पनि नदुखुन्जेल र जटिल समस्या ननिम्तिएसम्म उपचारमा नलाग्ने हाम्रो बानी हुन्छ । अर्को कुरा, आर्थिक अभावका कारण पनि धेरै मानिसले दाँतको महँगो उपचार उपभोग गर्न पाएका छैनन् । यसका लागि सरकारी स्तरबाटै उपचार सेवालाई सहज र सर्वसाधारणको पहुँचमा ल्याउन सक्नुपर्छ।

सामान्यतया मुखको स्वास्थ्यलाई हामीले कम आँकिरहेका हुन्छौं । फलस्वरुप दाँत र मुखको रोगले सताएपछि पैसा खर्च हुने त छँदै छ, असह्य दुखाइ भोग्नुपर्ने र उपचारका लागि धाउँदा समय पनि नष्ट हुन्छ । यो  अवस्था आउन नदिन मुखको सरसफाइमा ध्यान दिनुपर्छ।

हरेक पटक खाना खाइसकेपछि कुल्ला गर्ने, दिनमा दुई पटक खानापछि फ्लोराइड भएको टुथपेस्टले दाँत माझ्ने, धेरै जमेको फोहोर भए मेसिनद्वारा दाँत सफा गर्ने गर्नाले मुख स्वच्छ राख्न सकिन्छ।

हामीले खानपिनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । धेरै गुलियो र दाँतमा टाँसिने खालका र बजारमा पाइने रेडिमेड खानेकुराभन्दा काँक्रा, मुला, गाँजर र अन्य फलफूल तथा खानाले मुख स्वस्थ राख्न सकिन्छ । त्यति गर्दागर्दै कुनै समस्या आएमा समयमै दन्त चिकित्सककोमा गएर परामर्श लिन र उपचार गराउनुपर्छ । यति गरेमा पछि पछुताउनु पर्दैन।

(डा नेपाली डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत छन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live