डक्टर्स आर्टिकल

ट्रमा सेन्टरमा मेरुदण्ड शल्यक्रियाको नयाँ प्रविधि

डा गौरवराज ढकाल

विगत दुई दशकदेखि मेरुदण्डको शल्यक्रिया (स्पाइन सर्जरी) मा आशा लाग्दो विकास देखिएको छ । आधुनिक र नयाँ प्रविधि तथा उपकरणले शल्यक्रियालाई अझ सरल र सुरक्षित बनाएको छ । हाल विश्व प्रचलनमा रहेको सबैभन्दा आधुनिक प्रविधिलाई राष्ट्रिय ट्रमा सेन्टरको मेरुदण्ड विभाग (स्पाइन युनिट) ले अवलम्बन गरेको छ।

स्पाइन न्युरोमोनिटरिङ, होल स्पाइन एक्सरे र मिनिमल्ली इन्भेजिभ स्पाइन सर्जरी (एमआइएसएस) जस्ता प्रविधिले स्पाइन युनिटलाई अझ सुदृढ बनाएको छ । अस्पताल सुरु भएदेखि करिब दुई सयभन्दा बढी मेरुदण्डको शल्यक्रिया भइसकेको छ । दुर्घटना, सङ्क्रमण, हड्डी खिइनु, हड्डीको विकृति, मासु पलाउनु (ट्युमस) जस्ता कारणले मेरुदण्डका धेरैजसो शल्यक्रिया जटिल प्रकृतिका छन्।

परम्परागत रुपमा यस्ता शल्यक्रियामा धेरै भाग खोल्नुपर्ने (लङ्गर इन्सिजन) हुन्छ । धेरै मांशपेसी नष्ट भएर जान्छन् र अत्यधिक रक्तस्राव हुने गर्छ । जसले गर्दा शल्यक्रियापछि घाउ निको हुन लामो समय लाग्छ । तर, एमआइएसएस प्रविधिको प्रयोग गर्दा ढाडको छाला थोरै चिरेर सानो प्वाल पारिन्छ । जहाँ मांशपेसीहरु नष्ट हुने सम्भावना कम हुन्छ । साथै, रक्तस्राव पनि कम हुन्छ । यो प्रविधिबाट शल्यक्रिया गरेका बिरामीको स्वास्थ्यमा चाँडै सुधार आउँछ।

एमआइएसएस प्रविधिको प्रयोगबाट बिरामीको खर्च र तनाव दुवै कम हुन्छ । थोरै मात्रामा चिरेको हुनाले घाउको दाग अत्यन्तै सानो हुन्छ । यसले सौन्दर्यमा खासै प्रभाव पर्दैन । नेपालमा एमआइएसएस प्रविधि नहुँदा बिरामीहरु उपचारका लागि विदेश जान वाध्य थिए । तर, स्पाइन सर्जरीका लागि ट्रमामा उपलब्ध यो अत्याधुनिक प्रविधिका कारण अब विदेश गई शल्यक्रिया गर्नेको संख्यामा पक्कै कमी आउनेछ। 

सरकारी स्वास्थ्य संस्थाबाट एमआइएसएस जस्तो प्रविधि प्रयोग गर्दा शल्यक्रिया खर्चमा पनि कमी आउँछ । हाल हामीले यो प्रविधि मेरुदण्डको समस्या÷विकृति (स्पाइनल स्टेनोसिस, डिस्क प्रोल्याप्स, स्लिप्ड भर्टेब्रा) का लागि प्रयोग गर्छौं ।

निकट भविष्यमा हामी एमआइएसएसलाई अरु मेरुदण्डको शल्यक्रिया गर्न समेत प्रयोग गर्नेछौं । ट्रमा सेन्टरमा  युएसएफडिए मान्यता प्राप्त अत्याधुनिक एमआइएसएस उपकरण सञ्चालनमा छ । सबैभन्दा सुरुमा एमआइएसएस प्रविधिको उपचयोग ढाडको नसा च्यापिएको बिरामीको शल्यक्रियामा गरिएको थियो । बिरामी आउँदा हिँड्न पनि नसक्ने अवस्थामा हुन्थे । एमआइएसएस शल्यक्रियापछि दुई हप्तामै बिरामीले निको भएर आफ्नो नियमित कामकाज  गर्न सक्छन्। 

तसर्थ, मेरुदण्डको शल्यक्रियाका लागि देशमै अत्याधुनिक प्रविधि एमआइएसएससँगै विशेषज्ञ स्पाइन सर्जनहरु उपलब्ध छन् । जनचेतना र प्रचारप्रसारको कमीले यसबारे धेरै बिरामीलाई जानकारी नभएको हुन सक्छ । तर, बिस्तारै स्पाइन सर्जनहरुको आवश्यकता महसुस हुँदै जानेछ । हामी केन्द्रीय रिफरल अस्पतालमा कार्यरत चिकित्सकहरुले हाम्रा बिरामीलाई सकेसम्म विकसित देशमा जस्तो सुविधा र प्रविधिको माध्यमबाट उपचार गर्नुपर्छ।

ट्रमा सेन्टरको स्पाइन युनिट दक्षिण एसियाकै नमूना र उत्कृष्ट बनाउने लक्ष्य लिएर हामी अगाडि बढेका छौं । उत्कृष्ट बन्न अठोट, लक्ष्य, मिहिनेत र काम गर्ने इच्छाशक्ति चाहिन्छ । हामीसँग उत्कृष्ट स्पाइन समूह छ । आफ्नै देशमा भित्रिएको अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिबाट मेरुदण्डको शल्यक्रिया गर्न बिरामीले हिचकिचाउनुपर्ने अवस्था छैन।

(डा ढकाल नेसनल ट्रमा सेन्टरका स्पाइन सर्जन हुन्)
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live