विचार/ब्लग

सहरी क्षेत्रमा किन फैलिँदैछ स्क्रब टाइफस ?

डा शेरबहादुर पुन 

केही वर्ष अगाडिसम्म स्क्रब टाइफस धेरैजसो पहाडी भेगमा देखिँदै आएको थियो । पछिल्लो समय भने सहरी सहरी क्षेत्रमा पनि यसको संक्रमण फैलिन थालेको छ । काठमाडौं उपत्यकामा अस्वाभाविक रुपमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको देखिएको छ। 

त्यसो त सन् २००४ मा पाटन अस्पतालले गरेको एक अनुसन्धानले काठमाडौंमा ज्वरोका बिरामीमध्ये ३.२ प्रतिशत (८७६ जना) मा ज्वरोको कारण स्क्रब टाइफस पुष्टि भएको थियो । त्यसयता भने नेपालमा यस रोगबारे खासै चर्चा गरिएको तथा तथ्यांक राखिएको पाइँदैन। 

हालसम्म काठमाडौंमा झन्डै साढे एक सय बिरामीमा स्क्रब टाइफस संक्रमण देखिइसकेको छ । यी बिरामी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरेका तथा काठमाडौंको विभिन्न अस्पतालबाट स्क्रब टाइफस परीक्षणका लागि पठाइएका नमुनामा देखिएका हुन्। 

यी बिरामीमा स्क्रब टाइफस विरुद्धको एन्टिबायोटिक चलाउने बित्तिकै ४८ घन्टामा ज्वरो नियन्त्रणमा आएको देखिन्छ । यसमध्ये कम्तीमा पनि नौ जना संक्रमित बालबालिका थिए । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका यी बालबालिकाको बाल रोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा सफल उपचार गरिएको थियो। 

स्क्रब टाइफस अहिले चाखलाग्दोसँगै चुनौती र शीघ्र सम्बोधन गर्नुपर्ने विषय बनेको छ । किनभने गाउँले स्क्रब टाइफस हाल आएर सहरिया रोग बन्दै छ। 

हुन त सन् २००४ मै काठमाडौंमा देखा परिसकेको थियो । त्यसपछि किन देखिएन वा यसबारे परीक्षण गरिएन भन्ने अहम् प्रश्न हो । सामान्यतया मानवीय क्षति पश्चात् कारण खोज्दै जाँदा परीक्षण गरिन्छ । सन् २०१५ मा पहिलो पटक ६ जना बालबालिकाको ज्यान गएपछि खोजी गर्दै जाँदा यसको कारण स्क्रब टाइफस भएको पत्ता लागेको थियो । रोचक कुरा के हो भने, सन् २००४ मै काठमाडौंमा देखिएको स्क्रब टाइफस सन् २०१५ सम्म आइपुग्दा त्यस बीचमा किन मानवीय क्षति भएन होला वा नियमित परीक्षण गरिएन त? 

नेपालमा ज्वरो आयो कि टाइफाइड भनेर तुरुन्तै औषधि चलाइहाल्ने चलन छ । सन् २००४ देखि सन् २०१५ सम्म आइपुग्दा स्क्रब टाइफसबाट खासै मानवीय क्षति नहुनुको एउटा मुख्य कारण त्यो पनि हुन सक्छ । किनभने केही वर्ष अगाडिसम्म पनि टाइफाइडको शंका लागे वा ज्वरो देखिएमा 'सिप्रोफ्लोक्सासिन' एन्टिबायोटिक चलाउने गरिन्थ्यो, जुन स्क्रब टाइफसको लागि पनि प्रभावकारी भएको हुनुपर्छ।

यो पनि पढ्नुस्-
स्क्रब टाइफसको लक्षण र उपचार
स्क्रब टाइफसका बिरामी चिन्न स्वास्थ्यकर्मीलाई ५ सुझाव

केही समयअघि प्रकाशित अनुसन्धान लेखले रिकेटसियाल जातका रोगहरुमा सिप्रोफ्लोक्सासिन एन्टिबायोटिक प्रभावकारी भएको देखाएको थियो । तर, केही समययता भने नेपालमा ज्वरो आएमा वा टाइफाइड शंका लागे 'सेफेक्जिम' नामक अर्कै एन्टिबायोटिक चलाउने गरिएको छ, जुन स्क्रब टाइफसमा खासै प्रभावकारी देखिएको छैन । नतिजा स्वरुप हाल स्क्रब टाइफसको समस्या बढी देखिएको हुनसक्छ । स्क्रब टाइफस पहिलेदेखि नै रहिरहेको हुन सक्छ, तसर्थ एन्टिबायोटिकको प्याटर्न बदलिँदा यो रोग सतहमा बढी देखापरेको हुनुपर्छ । या त हालै आएर कुनै कारणले यो रोग फैलिँदै गएको अनुमान गर्न सकिन्छ। 

नेपालमा स्क्रब टाइफस १२ महिना नै देखिने गरे पनि खासगरी वर्षाको समयमा बढी देखा पर्छ । तसर्थ चिकित्सकहरुले सहरमा सेवा दिने क्रममा ज्वरोको कारण पत्ता लगाउँदा स्क्रब टाइफसको निदान गर्न पनि छुटाउनु हुँदैन । निदान गर्ने किट नभएको अवस्थामा पनि परीक्षणका लागि एक/दुई दिन 'डक्सिसाइकिलिन' एन्टिबायोटिक चलाएर हेर्न सकिन्छ । यदि ज्वरो कम हुँदै गएमा पूरै डोज चलाउन सकिन्छ । तर, यो सँगै स्क्रब टाइफसका लक्षणहरु पनि विचार गर्नु जरुरी हुन्छ। 

यो रोगबाट बच्ने उपायहरु भनेर अहिलेसम्म ग्रामीण इलाकामा देखिने स्क्रब टाइफसलाई लक्षित गरेर बनाएको देखिन्छ । तर, सहरमा गाउँमा जस्तो जताततै बोट-बुट्यान, झाडी, अव्यवस्थित अन्न भण्डारन नहुने भएकाले किर्ना तथा मुसा रहने सम्भावना कम हुन्छ । तसर्थ अहिले जारी गरेका उपायहरु सहरको लागि उपयुक्त नहुन पनि सक्छ । यसैले बच्ने उपाय सम्बन्धी छुट्टै निर्देशिका बनाउनुपर्ने देखिन्छ।

स्क्रब टाइफस नेपाललाई मात्र होइन, विकसित देशहरुका लागि पनि टाउको दुखाइको विषय बनिरहेको देखिन्छ । हालैको एक अनुसन्धानले दक्षिण कोरियाको राजधानी सोलमा पनि स्क्रब टाइफस बढ्दै गएको देखाएको थियो । त्यसैले हामीले सहरी इलाकालाई पनि लक्षित गरेर बच्ने उपाय निर्देशिका विकसित गर्न सके अन्य देशको लागि पनि अनुकरणीय हुन सक्छ।

स्क्रब टाइफसबारे जनचेतना भए यो रोगका कारण कसैले पनि मृत्युवरण गर्ने अवस्था आउँदैन । स्क्रब टाइफस विरुद्धको खोप हालसम्म विकास भइसकेको छैन । तर, बेलैमा रोग निदान भए वा शंका लागे जतिसक्दो छिटो औषधिको प्रयोग गरेर ४८ घण्टाभित्र ज्वरो नियन्त्रणमा आउँछ।

नेपालमा स्क्रब टाइफस यसअघि नदेखिएका जिल्लाहरुमा पनि फैलिरहेको देखिएकाले आगामी दिनमा सम्भावित प्रकोपबाट बच्न नेपाल सरकारको एकल प्रयास मात्र पर्याप्त नहुन सक्छ । तसर्थ सर्वसाधारणले यसबारे विशेष चासो राखिराख्नु जरुरी हुन्छ। 

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live