प्रवास

बाल मुटुरोग उपचारको खोजमा सक्रिय डा घिमिरे

जन्मजात मुटुरोगका अध्येता

img

डिबी खड्का

डा. लक्ष्मी विलास घिमिरे केही वर्षदेखि अमेरिकामा छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबिबिएस गरेपछि उनले अमेरिकास्थित भान्डरबिल्ट युनिभर्सिटीमा क्लिनिकल फर्माको जेनेटिक्स र फर्माकोलोजीमा पोस्ट डक्टरल फेलोसिप गरे । यस्तै युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट बाल रोगमा विशेषज्ञता गरेका डा. घिमिरेले सनफ्रान्सिस्कोबाट बच्चाको मुटु सम्बन्धी तीन वर्षे फेलोसिप पूरा गरेका छन् । 

अनुसन्धान र उपचार सम्बन्धी अध्ययन/ अध्यापनका लागि विश्वकै पाचौं नम्बरमा रहेको युनिभर्सिटी अफ सनफ्रान्सिस्को पुगे उनी ।  जहाँ उनले डा. एब्राहम रुडल्फ भेटे, जसलाई बाल मुटुरोगका पिता भनिन्छ । ९४ वर्ष पुगिसकेका रुडल्फको नयाँ खोजमा सक्रिय छन् उनी । भन्छन्, ‘डा. रुडल्फले ६० देखि ८० को दशकसम्म भेंडामा गरेको अध्ययनको नतिजाका कारण अहिले पनि आमाको पेटमा रहेको बच्चाको अवस्थाबारे थाहा पाउने र उपचार गर्ने क्रम नरिन्तर छ।’ 

डा. घिमिरे अनुसन्धानमा रुची भएकै कारण ‘भिजिटिङ साइन्टिस्ट’ भएर ग्लाडस्टोन इन्सिच्युट अफ कार्डियो भास्कुलर डिजिज सेन्टरमा पुगे । जहाँ उनले बाल रोगका हरेक किताबमा मुटु कसरी बन्छ र कसरी रोगी हुन्छ भन्ने विषयका लेखक डा. दीपक श्रीवास्तवलाई भेटाए । उनीसँगै बेसिक साइन्समा अनुसन्धान गर्ने मौका पाए । जोे ३५ वर्षकै उमेरमा प्रोफेसर र ३९ वर्षकै उमेरमा सेन्टरका निर्देशक भइसकेका थिए। 

बाल मुटुरोगका यी भेट्रानसँगको संगत र अनुसन्धानप्रतिको रुचीले उनलाई जन्मजात बाल मुटुरोगका विषयमा नेपालमा पनि केही गर्ने हुटहुटी जागेको छ । जसका लागि उनी तीन वर्षे तालिम सकिने बित्तिकै नेपाल आइपुगेका छन् । यहाँ बाल मुटुरोगको उपचारमा संलग्न डाक्टर र अस्पतालहरुलाई जन्मजात मुटुरोग सम्बन्धी ज्ञान–सीप बाँडिरहेका छन् उनी । 

कहाँ होलान् नेपालका तीन लाख जन्मजात मुटुरोगी ?

बाल मुटुरोगमा फेलोसिप गरिरहँदा उनको मनमा जाग्ने जिज्ञासा हो यो । किनभने, कुल जनसंख्याको १ प्रतिशतमा जन्मजात मुटुरोग हुने अनुसन्धानले निकालेको निष्कर्ष छ । विकासोन्मुख देशमा यो संख्या अझ बढी हुने अनुमान गरिएको छ । डा. जुलियन हफम्यान जस्ता विश्व चर्चित अनुसन्धानकर्ताले गरेको अनुसन्धानको नतिजा भएकाले पनि यसलाई कसैले काट्न सकेका छैनन् ।

जसअनुसार तीन करोडको हाराहारीमा पुगेको नेपाली जनसंख्यामा तीन लाख जन्मजात मुटुरोगी भएको अनुमान गर्न गाह्रो छैन । उनी भन्छन्, ‘नेपालमा जन्मजात मुटुरोगी त्यो भन्दा पनि बढी हुन सक्छन् । किनभने निरोधात्मक कार्यक्रम हामीकहाँ कमजोर छ । रुबेला भ्याक्सिन नपाउँदा, गर्भवती अवस्थामा डायबिटिज नियन्त्रण नगर्दा, औषधिको प्रयोग आदिले जन्मजात मुटुरोगीको संख्या बढाइरहेको हुन्छ ।’ 

उनका अनुसार यीमध्ये एक तिहाईलाई जन्मेको पहिलो वर्षमै सर्जरी वा क्याथेटर गर्नैपर्छ, नभए ढिलो चाँडो अकालमै मृत्यु हुन्छ । जन्मजात मुटुरोगीहरुमा मुटु प्वाल परेका, मुटु उल्टिएका, मुटुका चारमध्ये दुईवटा मात्रै कोठा भएका र नसा उल्टिएर बसेका बढी हुन सक्ने उनी बताउँछन् । डा. घिमिरेले भने, ‘जन्मजात अपाङ्गता भएका मध्ये मुटको समस्या भएका बालबालिका एक चौथाइ हुन्छन् । सबैभन्दा बढी गम्भीर बिरामी मुटुकै हुन्छन् । यसैगरी, सरुवा रोगबाहेक नसर्ने रोगमा सबैभन्दा बढी बच्चाको ज्यान लिने कारण पनि जन्मजात मुटुको रोग नै हो ।’

नेपालमा जन्मजात मुटुरोगको निदान ढिलो हुने गरेको उनको ठम्याइ छ । विकसित देशमा भने कतिपय जन्मजात मुटुरोग पेटमै पत्ता लगाइने गर्छ । उनका अनुसार बच्चा जन्मेपछि बाँच्ने सम्भावना कति रहन्छ ? परिवार र समाजलाई कसरी असर पर्छ ? राख्ने कि फाल्ने ? सर्जरी कति गर्नुपर्छ भनेर बच्चा पेटमा हुँदै अभिभावकलाई जानकारी दिइन्छ । 

नेपालमा यस्तो प्रविधि र प्रणाली नभित्रिएकाले जन्मजात मुटुरोग लिएर बच्चाहरु जन्मिन्छन् । जन्मिँदा बच्चामा त्यस्तो कुनै समस्या नदेखिने भएकाले २४ घन्टाभित्र घर पठाइने गरिन्छन् । उनी भन्छन्, ‘२४ घन्टापछि भने मुटुरोग भएका बच्चामा छिटो सास फेर्ने, खुट्टा निलो हुने आदि समस्या देखिन्छ । धेरैले यही कारणले चाँडै ज्यान गुमाउँछन्।’ 

उनको अनुभवमा, नेपाली डाक्टरहरु जन्मजात मुटुरोग र नवजात शिशुमा देखिने लक्षणबारे खासै सचेत छैनन् । बच्चामा मुटुरोग हुनु दुर्लभ मानिने भ्रमले कैयौँ बच्चा सही उपचारबाट वञ्चित हुने गरेको भेटेका छन् उनले । भन्छन्, ‘बच्चामा मुटुरोग हुँदैन निमोनिया, टिबी वा दम होला भनेर त्यतातिरको उपचार थालिन्छ । यसरी गलत उपचारका कारण बिरामी बच्चा मुटुको उपचार हुने ठाउँमै नपुगी बित्छन् ।’ 

यति ठूलो संख्यामा जन्मजात मुटुरोगी जन्मिने तथ्यांक रहे पनि बाल मुटुरोगको उपचार गर्ने विशेषज्ञ नेपालमा ५–६ मात्रै पाए उनले । ‘ठूलो मान्छेको भन्दा बच्चाको शल्यक्रिया बढी जटिल हुने भएकाले विशेष तालिम चाहिने विश्वव्यापी मान्यता छ,’ उनले नेपालको अवस्थाबारे भने, ‘तर, नेपालमा वयस्कको मुटु शल्यक्रिया गर्नेले नै केही समय तालिम लिएर बच्चाको पनि शल्यक्रिया गरिरहेका छन् ।’

उनका अनुसार जन्मजात मुटुरोगी बच्चालाई जोगाउन विभिन्न रणनीतिक कदम चाल्नुपर्छ । जसका लागि तथ्यांक जरुरी पर्छ । तर, नेपालमा कसैले यसबारे अनुसन्धान गरेका छैनन् । भन्छन्, ‘बिरामी कति छन्, कति उपचारको पहुँचमा पुगे ? उपचार पाएका कति बाँचे ? हाम्रा बच्चाको शल्यक्रिया भइरहेको छ तर बाँचेकै छैनन् कि ? यस्ता सवाल बुझ्न तथ्यांक चाहिन्छ ।’

जन्मजात मुटुरोग छ कि छैन भनेर पत्ता लगाउन विश्वले निकै सजिलो उपायको विकास गरेको बताउँछन् उनी । जसलाई ‘स्क्रिनिङ फर क्रिटिकल कन्जनाइटेल हार्ट डिजिज’ भनिन्छ । तर, नेपालमा न यो प्रविधि भित्रिएको छ, न त पर्याप्त जनशक्ति नै छन् । ‘नेपालमा बाल मुटुरोगको उपचार गर्ने जनशक्तिको कमी छ,’ डा. घिमिरे भन्छन्, ‘हातमा गन्न सकिने बाल मुटुरोगका विशेषज्ञले हजारौंलाई सेवा दिन सम्भव छैन ।’ 

उनका अनुसार बच्चा जन्मेको एकदेखि दुई दिनभित्र शरीरमा र फोक्सोमा रगत सञ्चार गर्ने ठाउँ जसलाई ‘डक्टस’ भनिन्छ, त्यो खुला हुन्छ । ९९ प्रतिशत बच्चाको डक्टस दुई दिनभित्र बन्द हुन्छ । ‘क्रिटिकल डिजिज’ हुनेको चाहिँ खुला रहनुपर्छ, किनकि बन्द भएपछि मृत्यु हुने सम्भावना हुन्छ । तर, बच्चा जन्मेको २४ घन्टामा अक्सिजन मापन गर्‍यो भने, यो समस्या स्पष्ट देखिने उनको भनाइ छ । 

जन्मजात मुटुरोग भएका बच्चाको ‘ब्लड अक्सिजन स्याचुरेसन’ घट्छ । यसका लागि अमेरिका लगायतका देशले सबै बच्चाको ‘पल्स अक्सिमिटर’ जाँच्ने उपाय अवलम्बन गरिरहेका छन् । उनी भन्छन्, ‘सामान्यतः स्वस्थ बच्चामा अस्किजन स्याचुरेसन ९५ प्रतिशत हुन्छ । यदि योभन्दा कम भयो भने मुटुमा समस्या छ भनेर बुझ्न सकिन्छ ।’ 
नेपालमा उनकै पहलमा शिक्षण अस्पताल महाराजगञ्जमा पल्स अक्सिमिटरबाट बच्चाहरुको मुटुरोग स्क्रिनिङ गर्ने विधि चाँडै सुरु हुन लागेको छ । यसका लागि चाहिने उपकरण र अन्य तारतम्य मिलाउन आफू लागिपरेको उनी बताउँछन् ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live