मुख्य समाचार

प्रदेश २ का महिलामा रक्तअल्पत्ताको समस्या बढी (कुन प्रदेशमा कति?)

रक्तअलपत्ता के हो, गर्भवती किन बढी जोखिममा? 

img

प्रवीण ढकाल

काठमाडौं- पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पत्ताको समस्या झन बढेको छ। स्वास्थ्य मन्त्रालयले रक्तअल्पत्ता नियन्त्रणका लागि कार्यक्रमहरु विस्तार गरे पनि पाँच वर्षको अवधिमा थप ६ प्रतिशत महिलामा यो समस्या बढेको छ।

स्वास्थ्यमा हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा प्रजनन उमेरका महिलामा रक्तअल्पत्ता बढेको देखाएको हो। सन् २०११ मा १५ देखि ४९ वर्षसम्मका महिलामा रक्तअल्पत्ताको समस्या ३५ प्रतिशतमा थियो। सन् २०१६ को अध्ययनले यो दर बढेर ४० दशमलव ८ प्रतिशत पुगेको देखाएको छ।

सर्भेक्षणले पोषिलो खानाको अभावमा नै महिलाहरुमा रक्तअल्पत्ताको दर बढेको जनाइएको छ। महिलामा बढेको रक्तअल्पत्ताका कारण मातृ मत्युदर बढ्न सक्नेमा चिन्ता व्यक्त गरिएको छ।

प्रजनन उमेरका महिलामा रक्तअल्पत्ता बढे पनि गर्भवति महिलाको रक्तअल्पत्तामा भने सुधार आएको छ। सर्भेक्षण अनुसार पाँच वर्षको अवधिमा गर्भवतिमा हुने रक्तअल्पत्ताको दरमा २ प्रतिशतले सुधार आएको छ। सन् २०११ मा ४८ प्रतिशत गर्भवतीमा रक्तअल्पत्ताको समस्या थियो। सन् २०१६ मा यो समस्या घटेर ४६ मा आएको छ। गर्भवतीलाई आइरन चक्की सँगै आवश्यक पौष्टिक आहार खुवाउने दरमा केही सुधार आएको तथ्यांकले देखाएको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ।

कुन प्रदशमा कति ?

सर्भेक्षण प्रतिवेदन अनुसार प्रजनन उमेरका महिलामा सबैभन्दा बढी प्रदेश नम्बर २ मा रक्तअलपत्ताको समस्या बढी छ। यो प्रदेशका ५७ दशमलव ८ प्रतिशत प्रजनन उमेरका महिलामा रक्तअल्पत्ताको समस्या छ। यसपछि क्रमश प्रदेश ५ मा ४३ दशमलव ५, प्रदेश १ मा ४३ दमलव ३, प्रदेश ७ मा ३९ दशमलव ३, प्रदेश ६ मा ३४ दशमलव ९, प्रदेश ३ मा २९ र प्रदेश ४ मा २८ प्रतिशत प्रजनन उमेरका महिलामा रक्तअलपत्ताको समस्या छ। 

उमेरका आधारमा

उमेरका आधारमा हेर्दा रक्तअलपत्ताको समस्या सबैभन्दा बढी १५ देखि १९ वर्षका महिलामा छ। यो उमेर समूहका ४३ दशमलव ६ प्रतिशत महिलामा रक्तअल्पत्ता छ। यस्तै, २० देखि २९ वर्षका ४२ दशमलव ७, ३० देखि ३९ का ३९ दशमलव ६ र ४० देखि ४९ वर्षका ३५ दशमलव ८ प्रतिशत महिलामा रक्तअल्पत्ता रहेको सर्भेक्षणले देखाएको छ।

के हो रक्तअल्पत्ता ?

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्यका अनुसार शरिरमा रहेको रगतमा हेमोग्लोबिनको मात्रा कम हुनुलाई रक्तअल्पत्ता भनिन्छ । हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबैभन्दा महत्वपूर्ण रक्ततत्व हो । हेमोग्लोबिनले नै शरिरका अंगअंगमा अक्सिजन पुर्‍याउने काम गर्छ । स्वासप्रस्वासका क्रममा हामीले लिएको अक्सिजन फोक्सोमा पुगेपछि रगतकै माध्यमबाट शरिरका कोषकोषमा पुग्छ । यसरी शरिरका कोषकोषमा अक्सिजन पुर्‍याएर शक्ति प्रदान गर्ने राता रक्तकोषमा रहेको हेमोग्लोविनले नै हो । त्यसकारण शरिरमा हेमोग्लोविन कमी हुनु भनेको खतरा निम्तिनु हो । 

‘रगतमा हेमोग्लोबिन प्रोटिन र अक्सिजन मिलेर बनेको हुन्छ । यसैगरी राता रक्तकोष बन्ने क्रममा आइरनको आवश्यकता पनि पर्दछ । आइरन सूक्ष्म पोषक तत्व हो’ उनले भनिन्, ‘त्यसकारण पोषण तत्वको कमी, रक्तश्राव तथा विभिन्न समस्याले रगत बन्ने प्रक्रियामा अवरोध सृजना हुँदा हेमोग्लोविनको उत्पादन कम हुने, आइरनको कमी हुने समस्या देखापर्छ। यस्तो समस्यालाई नै चिकित्सकिय भाषामा रक्तअल्पत्ता अर्थान एनिमिया भन्ने गरीन्छ ।’ उनका  अनुसार यो रोग लाग्ने वित्तिकै श्वासप्रस्वासमा समस्या देखिन्छ । स्वास फेर्दा स्वाँस्वाँ हुन थाल्छ भने मानिस कमजोर हुन्छ । 

गर्भवती बढी जोखिममा

सामान्यतया यो समस्या महिलाहरुलाई बढी हुने गर्छ । अझ गर्भवति अवस्थाका महिलाहरुमा यो समस्या धेरै नै देखिन्छ । गर्भावस्थामा रक्तअल्पक्ता हुँदा आमा र गर्भे शिशुलाई समेत गम्भिर असर गर्न सक्छ । गर्भवती अवस्थामा आवश्यकता अनुसार पोषण तत्त्वको कमी हुँदा चाहिए जति रगत बन्न नसकी शरीरमा रगतको कमी हुन जान्छ । रगतको कमी भएपछि शरीरलाई चाहिने आइरन तथा अक्सिजनको कमी हुन्छ । यसरी शरिरमा आइरन र अक्सिजनको कमी क्रमश बढ्दै जाँदा आमा र बच्चा दुवैको मृत्यु समेत हुने खतरा रहन्छ । नेपालमा गम्भिर खालको रक्तअल्पत्ताको समस्या बढी हुने गरेको छ ।

हेमोग्लोविन कति हुनुपर्छ ?

सामान्यतया शरिरमा हेमोग्लोविनको मात्रा ११ ग्राम प्रति एक सय मिलिलिटर भन्दा कम भए रक्तअल्पत्ता भनिन्छ । सामान्यतया शरिरमा तीन किसिमले रक्तअल्पत्ता हुने गर्दछ । पहिलो भनेको आवश्यकता अनुसारको पोषण तत्वको कमी हुनु हो । जस्तो शरिरमा आवश्यक पर्ने आइरन,फोलिक एसिड, भिटामिन बि १२, प्रोटिन जस्ता पोषक तत्वमा कमी हुनु ।

दोस्रो भनेको विभिन्न कारणले धेरै रक्तश्राब हुनु र तेस्रो भनेको खेतबारी तथा माटोमा काम गर्ने क्रममा नङमा जुकाको फुल टाँसिएर शरिर भित्र प्रवेश गर्नु र पेट भित्र जुका बन्दा समस्या देखिन्छ । यस्का साथै बोनमेरोको कमी, हेमोग्लोबिनकै रोगहरु तथा अन्य रोग तथा संक्रमणको कारण पनि रक्तअल्पत्ता हुने गर्दछ । नेपाल तथा अन्य धेरै देशहरुमा पोषणतत्वको कमीले र रक्तश्राबबाट नै रक्तअल्पत्ता हुने गर्दछ ।

गर्भवतीलाई यसरी जोगाउ

गर्भावस्थामा रक्तअल्पत्ता देखिएलगत्तै कस्तो खालको रक्तअल्पत्ता हो भन्ने पत्ता लगाउनु पर्छ । यस्का लागि गर्भवती महिलाको रगतको मात्र हेर्ने र रक्तअल्पत्ताको कारण खोजिन्छ र त्यही अनुसारको उपचार गरिन्छ । जस्तो आइरनको कमी छ भन ेआइरन दिने, फोलिक एसिडको कमी छ भने फोलिक एसिड तथा भिटामिनको कमीले भएको छ भने भिटामिन सप्लिमेन्ट दिने गरीन्छ । त्यही भएर गर्भवतीलाई चिकित्सकले आवश्यकता अनुसार सुत्केरी भएको केही महिनासम्म आइरन चक्की तथा अन्य सप्लिमेन्ट दिने गरेका हुन् । जसको नियमित प्रयोग गर्नुपर्ने हुन्छ । यसका साथै गर्भवती महिलालाई आवश्यकता अनुसार पोषिलो खानेकुरा पनि नियमित खुवाउनु पर्ने हुन्छ।

रक्तअल्पत्ताबाटा जोगिने सबैभन्दा उत्तम उपाय भनेको नै सन्तुलित आहार हो । त्यसपछि अनावश्यक रुपमा हुने रक्तश्रावको कारण पत्ता लगाएर गरिने उपचार हो । खानेकुराहरुमा आइरन बढी पाइने पालुङगो, चम्सुर, मेथीको सागजस्ता हरिया सागपात खाने गर्नुपर्छ । यसका साथै प्रोटिन तथा अन्य पोषक तत्वका लागि मासु, गेडागुडी तथा अन्य अन्नहरु खानु पर्ने हुन्छ । रोग लागिहालेमा चिकित्सकको सल्लाहअनुसार औषधि तथा अन्य उपचार गर्न सकिन्छ ।

रक्तअल्पत्ता भएकी महिलाबाट बच्चा जन्मँदा हुने खतरा

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्यका अनुसार सामान्यतया दम्पत्तीले बच्चा जन्माउने योजना बनाएपछि महिलाको रगतको अवस्थाको जाँच गर्नु राम्रो हुन्छ । तर, नेपालमा गर्भ बोकेको लामो समयपछि समस्या देखिपछि मात्र जाँच गर्ने चलन छ । जुन सरासर गलत हो । यदि शुरुमै रगतको जाँच गरेर रगतको अवस्था थाहा पाउने हो भने आमा तथा बच्चा दुवैको स्वास्थ्यका लागी राम्रो हुन्छ । यदि पहिलेदेखी नै रक्तअल्पत्ता भएकी महिला गर्भवती भएमा त्यसले गर्भावस्थामा झन खतरा निम्त्याउँछ ।

शुरुदेखी नै रगतमा हेमोग्लोबिनको मात्रा ११ भन्दा कम रहेको महिलाको पेटमा बच्चा बढ्दै जाँदा रक्तअल्पक्ता झन बढ्दै जाने खतरा हुन्छ । अझ गर्भवती महिला ३२ हप्ता पुग्दा झन खतरनाक हुन्छ । यस्तो आमाबाट जन्मिएको बच्चा पनि शारिरिक तथा मानिसक रुपमा कमजोर हुने, रक्तअल्पत्ता नै भएको जन्मने, बच्चा जन्माउने क्रममा आमालाई निकै गाह्रो हुने, अवधि नै नपुगि बच्चा जन्मन सक्ने, रक्तअल्पत्ता धेरै भएमा आमाको ज्यान नै तलमाथी हुने खतरा रहन्छ । त्यसकारण गर्भवती महिला तथा परिवारलार्इ विशेष ध्यान दिन सुझाउँछिन् डा बैद्य।


यो पनि पढौँ

प्रदेश २ का ३७ प्रतिशत बालबालिका पुड्का (कुन प्रदेशमा कति?)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live