मुख्य समाचार

स्थानीय भन्छन्– आँखामा राख्दा पनि नबिझाउने अहेब

ओम अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु प्रकरण

चन्द्रकान्त खनाल

रुपन्देही– अहेबका रुपमा १८ वर्ष काम गर्दा कमला भट्टराईले कति जनाको उपचार गरिन्, लेखाजोखा हुने कुरै भएन । उपचारका क्रममा हुने सबै घटना–दुर्घटना देखेकी उनको केही दिनअघि उपचारका क्रममा ज्यान गयो । राजधानीको ओम हस्पिटलमा भएको त्यो घटनालाई बुटवल शंकरनगरका स्थानीयहरुले पत्याउन सकेका छैनन् । हेल्थपोष्टबाट हाँसीखुसी बिदा भएकी कमलाको मृत्यु कसरी पत्याऊन् उनीहरु ! 

गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ४ मा जन्मेकी कमला भट्टराईले आफ्नो आधा जीवन स्वास्थ्य सेवामा बिताइन् । अहेब पदमा करिब १८ वर्ष बिताइन् । यस क्रममा पहाडका विकट गाउँहरु, दलित, गरिब बस्तीहरु, मधेसका पिछडिएका बस्तीहरुमा समेत पुगेर सेवा गरेकी थिइन्।

शंकरनगरकी माया अर्याल कमलाको आत्मीय स्वभावका कारण गाउँभरिकी प्रिय रहेको बताउँछिन् । उनी भावुक हुँदै भन्छिन्, ‘बिरामीको पीडा बुझ्ने भएकाले सबैकी प्यारी थिइन् ।’ उनका अनुसार महिला, बालबालिका र बूढाबूढीलाई उपचारका क्रममा पनि प्राथमिकता दिन्थिन्।

जन्मँदै नाकको हड्डी अलिकति बाङ्गो थियो उनको । आफन्तका अनुसार, उनले पिनासको समस्या झेलिरहेकी थिइन् । डाक्टरले शल्यक्रिया सहज हुने बताएपछि उनी नाक-कान-घाँटी विशेषज्ञ खोज्दै काठमाडौंको ओम अस्पताल पुगेकी थिइन् । उनको डा राजेन्द्र गुरागाईँको टिमले शल्यक्रिया गरेको थियो।  

शल्यक्रिया पश्चात् पोस्ट अपरेसन वार्डमा सामान्य अवस्थामा निस्किएकी उनलाई एक्कासी बान्ता सुरु भएको आफन्त बताउँछन् । आफन्तका अनुसार, त्यसपछि नाकबाट निरन्तर रगत बग्न थाल्यो र पिसाब पनि रोकियो । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि आफन्त र ड्युटीमा गएका नर्सहरुले बारम्बार अस्पताल प्रशासनलाई आग्रह गर्दा पनि लामो समयसम्म कुनै डाक्टर नआएको आफन्त सन्तोष लम्साल बताउँछन् ।

यसरी शंकरनगरले एक सेवी स्वास्थ्यकर्मी गुमायो । यतिबेला आफन्तहरु अस्पतालले लापरबाही गरेको भन्दै छानबिनको माग गरिरहेका छन् । यसबारे स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ।

शंकरनगर भने गहिरो शोकमा डुबेको छ । स्थानीयहरु भन्छन्, ‘छानबिनमा जे देखिए पनि हामीले कमला पाउँदैनौं र उनी जस्तो अहेब त झन् पाउँदैनौं ।’

उनीहरुको चाहना छ– लापरवाही भएको हो भने कडाभन्दा कडा कारबाही होस्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live