विचार/ब्लग

काउन्सिलका विकृति बढार्न आएको हुँ– नवनिर्वाचित उपाध्यक्ष डा थापा

स्वास्थ्य खबरपत्रिका

नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा डा नारायण विक्रम थापा निर्वाचित भएका छन् । उपाध्यक्षकै आकांक्षी डा पुष्पमणि खराल र डा सतिश देवलाई उछिन्दै उनले विजयी हासिल गरेका हुन् । निर्वाचित भएपछि डा थापाले स्वास्थ्यखबरकर्मी प्रवीण ढकाललाई दिएको छोटो प्रतिक्रियाः

पछिल्लो समय नेपाल मेडिकल काउन्सिलदेखि समग्र स्वास्थ्य क्षेत्रमा व्यापक विकृति–विसंगति छ भन्ने खबर बाहिर आइरहेको छ । गुणस्तरीय उपचार सेवा दिनुपर्ने डाक्टरहरुको विषयमा प्रश्न आइरहेको छ । काउन्सिलले यो विषयमा काम गर्न सकिरहेको छैन । अर्कातिर, काउन्सिलमा व्यापक भ्रष्टाचार छ भन्ने खबर पनि आइरहेको छ । हामीले यी समस्या समाधान गर्नुपर्छ भनेर बाहिरबाट आवाज उठाइरह्यौं । मेडिकल क्षेत्रको सुधारका लागि डा गोविन्द केसीले आवाज उठाइरहनुभयो । सरकारले डा केसीसँग सम्झौता पनि गरे पनि कार्यान्वयन भएन । त्यही भएर काउन्सिलमै गएर विकृति बढार्न आएको हुँ । 

म इमानदारीका साथ काम गर्छु ।  पारदर्शी भएर काम गर्ने मेरो प्रतिबद्धता छ । अर्को, काउन्सिलमा भएको विकृतिकै कारण समग्र डाक्टरहरुकै बदनाम हुँदै गएको छ । त्यसकारण त्यसलाई रोक्ने कुरा मेरो प्राथमिकतामा छ ।  डाक्टरहरुको गुम्दो साख फर्काउन म लाग्नेछु । 

काउन्सिलमा भ्रष्टाचार हुन्छ भन्ने बाहिर हल्ला छ । म अब काउन्सिललाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लाग्छु । जनताका पक्षमा इमानदार भएर काम गर्ने प्रणाली बसाल्ने नै मेरो मुख्य एजेन्डा हो। 

मलाई थाहा छ, अहिले हामीले काउन्सिलको विकृति सफा गरेनौं भने भोलि हामीलाई डाक्टर भन्न पनि लाज लाग्ने अवस्था आउनेछ । त्यसकारण मेरो योजना नारामा मात्र सीमित हुँदैन । आजको भोलि नै सुधार गर्न त मसँग जादुको छडी छैन । तर, मसँग इमानदारीका साथ काम गर्ने आत्मबल छ। 

मेरो एक्लो प्रयासले मात्र काउन्सिलमा एकै पटक सुधार आउने होइन । काउन्सिलमा जाने सबैको टिमवर्क चाहिन्छ । तर, हाम्रो टिममा कसैले गलत गर्न खोज्यो भने त्यसलाई हामी बाहिर ल्याउँछौं । कसैले काम गर्न रोक्यो भने किन रोक्यो, के अप्ठेरो पर्यो, कसले दबाव दियो भनेर सबै सार्वजनिक गर्छु।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live