टिप्स/जानकारी

गर्भवती र सुत्केरी महिलाले जान्नैपर्ने कुरा

पार्वती विष्ट

गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो। 

गर्भवती हुनुभन्दा पहिले विभिन्न किसिमका तयारी जस्तै: आफ्नो पोषणको अवस्था, स्वास्थ्य अवस्था, विवाह भएको उमेर, हालको उमेर, आर्थिक अवस्था, गर्भवती अवस्थामा गर्नुपर्ने आराम, पारिवारिक अवस्था, गर्भावस्थामा नियमित जाँच गराउने स्वास्थ्य संस्थाको चयन, गर्भावस्था, प्रसूति अवस्था, सुत्केरी अवस्था र नवशिशुमा देखिने खतराका लक्षणहरु आदिबारे जानकारी हुन जरुरी छ।

मातृ मृत्यु र नवशिशु मृत्यु हुने प्रमुख कारण चेतनाको अभाव भएकाले सुरक्षित मातृत्वबारे थाहा पाइरहन आवश्यक छ । भावी सन्ततिका साथै सम्पूर्ण परिवार निरोगी र स्वस्थ हुन पहिले आमा नै स्वस्थ हुनु जरुरी हुन्छ।

गर्भावस्था, प्रसूति अवस्था, सुत्केरी अवस्था तथा नवशिशु स्याहारका बारेमा सबैले जान्नैपर्ने केही महत्वपूर्ण कुरा यसप्रकार छन्:

गर्भधारणको समय र जन्मान्तर

बिहेवारी २० वर्षपारि 

  • २० वर्षभन्दा पहिले प्रजनन अंगहरु परिपक्व नहुने भएकाले कुनै पनि महिलाले २० वर्ष पुगेपछि मात्र गर्भधारण गर्नुपर्छ।
  • बच्चाको जन्मान्तर कम्तीमा पनि ३ वर्ष राख्नुपर्छ।

सुरक्षित मातृत्व

सुरक्षित मातृत्व भन्नाले महिलाले इच्छा गरे अनुसार गर्भवती हुन वा नहुन, गर्भवती अवस्थामा स्वस्थ रहन, सुरक्षित रुपमा प्रसुती हुन, सुत्केरी अवस्थामा स्वस्थ रहन तथा स्वस्थ शिशु जन्माउन, गर्भदेखि सुत्केरी अवस्थामा हुन सक्ने जटिलताबारे जानकारी पाउन र नवशिशुलाई स्वस्थ रहनका लागि स्तरयुक्त सेवाहरु उपलब्ध हुने अवस्थाको सिर्जना गर्नु हो । सुरक्षित मातृत्व अन्तर्गत निम्न सेवा पर्छन्:

- गर्भवती सेवा                                 
- प्रसूति सेवा                                   
- सुत्केरी सेवा
- नवशिशु  सेवा
- सुरक्षित गर्भपतन सेवा

गर्भवती सेवा

गर्भवती आमाले कम्तीमा ४, ६, ८ र ९ महिनामा स्वास्थ्य संस्थामा अनिवार्य जाँच गर्नुपर्ने हुन्छ।

नियमित गर्भ जाँच गराउनाले आमा र शिशुको स्वास्थ्य अवस्था थाहा हुन्छ र सम्भावित खतराको लक्षणहरुको बेलैमा व्यवस्थापन गर्न सकिन्छ।

आइरन चक्की र जुकाको औषधि खानाले आमालाई रक्त अल्पता हुन पाउँदैन र बच्चाको वृद्धि विकास राम्रोसित हुन्छ।

टि.डी. खोप लगाउनाले आमा र शिशुलाई धनुष्टंकार हुनबाट बचाउन सकिन्छ।

नियमित रक्तचापको जाँच गर्नाले मुर्छा परी बेहोस हुने जस्ता खतराका लक्षण बेलैमा थाहा पाई उचित व्यवस्था गर्न सकिन्छ।

पेटको जाँच गर्नाले शिशुको स्वास्थ्य स्थिति (बसाइ/चलाइ) पत्ता लगाउन सकिन्छ।

गर्भवती अवस्थामा चार पटक स्वास्थ्य जाँच (४, ६, ८ र ९ महिनामा) गराई स्वास्थ्य संस्थामा सुत्केरी गराएमा र कम्तिमा एकपटक (पहिलो पटक) सुत्केरी जाँच गराएमा स्वास्थ्य संस्थाबाट ४ सय रुपैयाँ प्रोत्साहन रकम पाइन्छ।

गर्भवती अवस्थामा कम्तीमा चार पटक अनिवार्य चार प्रकारका (अन्न, गेडागुडी, हरियो सागपात तथा फलफूल र पशुपंक्षीजन्य ) खाना खानुपर्छ।
यौनांगको नियमित सरसफाईमा विशेष ध्यान दिनुपर्छ।

दिउँसो पनि प्रशस्त आराम गर्नुपर्छ । आराम गर्नाले महिलाको स्वास्थ्य राम्रो हुन्छ।

गह्रौं भारी उचाल्नु हुँदैन । भारी उचाल्नाले बच्चा खेर जान सक्ने तथा आङ (पाठेघर) खस्ने जस्ता समस्या आउन सक्छन्।

रक्सी, जाँड, चुरोट, खैनी खानु हुँदैन । यस्ता पदार्थको सेवनले गर्भपतन हुने, शिशुको वृद्धि विकास नहुने, कम तौल भएको बच्चा जन्मिने आदि खतरा हुन सक्छ। 

खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्छ।

गर्भावस्थामा देखिने खतराका लक्षण:

योनिबाट रगत बग्ने,

आँखा धमिलो देख्ने,

टाउको बेस्सरी दुख्ने,

तल्लो पेट बढी दुख्ने,

शरीरमा कम्पन आउने / मूर्छा पर्ने,

अत्यधिक बान्ता हुने,

योनिबाट गन्हाउने पानी बग्ने,

पेटमा बच्चा नचल्ने/कम चल्ने,

प्रसूति व्यथा सुरु नहुदै पानी पोका फुट्ने।

गर्भावस्थामा गर्नैपर्ने तयारी:

आवश्यक पैसाको व्यवस्था गर्ने,

प्रसूति गराउन दक्ष स्वास्थ्यकर्मीको पहिचान गर्ने,

स्वास्थ्य संस्थामा बच्चा जन्माउने तयारी गर्ने,

यातायातको व्यवस्था गर्ने,

सुत्केरी सामग्री ल्याएर राख्ने,

रगत दिने मान्छेको व्यवस्था गर्ने,

आमा र शिशुका लागि कपडाको व्यवस्था गर्ने।

प्रसूति सेवा 

हरेक गर्भवती आमाले स्वास्थ्य संस्थामै गएर दक्ष प्रसूतिकर्मीद्वारा प्रसूति सेवा लिनुपर्छ।

घरमै प्रसूति गराउँदा विभिन्न खतराका लक्षण देखिँदा तुरुन्तै उपचार नपाएमा आमा र बच्चाको ज्यान जान सक्छ । नेपाल सरकारले स्वास्थ्य संस्थामा प्रसूति सेवा नि:शुल्क गरिएको छ । साथै, यातायात खर्चको व्यवस्था गरिएको छ । नवशिशुको नि:शुल्क उपचारको व्यवस्था पनि नेपाल सरकारले गर्ने गरेको छ। 

प्रसूति अवस्थामा देखिने खतराका लक्षण:

बच्चा जन्माउने बेला अत्यधिक रक्तश्राव हुनु,

एक घन्टाभन्दा बढी प्रसूति व्यथा लाग्नु,

कम्पन आउने/मूर्छा पर्नु,

बेस्सरी टाउको दुख्नु,

आँखा धमिलो देखिनु,

बच्चा जन्मिनुभन्दा अगाडि हात, खुट्टा, नाल निस्किनु,

साल अड्कनु,

पाठेघर खस्नु।

सुत्केरी सेवा 

सुत्केरी अवस्थामा कम्तीमा पनि ३ पटक अनिवार्य सुत्केरी जाँच गराउनुपर्छ ।

सुत्केरी जाँच गराउँदा पहिलो पटक २४ घण्टा भित्र, दोस्रो पटक ३ दिनमा र तेस्रो पटक ७ दिनमा गराउनुपर्छ।

सुत्केरी भएको ३ महिनासम्म आइरन चक्की नियमित रुपमा खानुपर्छ । यसका साथै भिटामिन ए अनिवार्य खानुपर्छ।

सुत्केरी अवस्थामा साविकभन्दा कम्तीमा थप २ पटक पोषणयुक्त खान खान दिनुपर्छ । यसले आमा र शिशुको वृद्धि विकास राम्रो हुनुको साथै रोगसँग लड्न सक्ने क्षमता बढाउँछ।
व्यक्तिगत सरसफाइमा उचित ध्यान दिनुपर्छ, जसले गर्दा संक्रमण हुनबाट बचाउँछ । गह्रौं भारी उचाल्नु हुँदैन । किनकि पाठेघर (आङ) खस्ने जस्ता समस्याहरु आउन सक्छन्।

खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्छ।

सुत्केरी अवस्थामा देखिने खतराका लक्षण:

अत्यधिक रक्तश्राव हुने,

योनिबाट गन्हाउने पनि बग्ने,

ज्वरो आउने,

तल्लो पेट दुख्ने,

कम्पन आउने / मूर्छा पर्ने

पाठेघर खस्ने।

नवजात शिशु कसरी स्याहार्ने ?

नवशिशु जमिनेबितिकै सफा नरम कपडाले पुछेर सुख्खा पार्नुपर्छ।

नवशिशुको नाभी काट्ने बितिकै नाभी मलम लगाउनुपर्छ । अन्य कुनै पनि कुरा लगाउनु हुँदैन । नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ।

नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ । नवशिशुलाई २४ घन्टासम्म नुहाइदिनु हुँदैन।

ठूलो बच्चाहरुभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले समयमै विशेष ध्यान दिनुपर्छ । नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भिडभाड भएको स्थानमा लैजानु हुँदैन।

शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची अनिवार्य रुपमा हात धुनुपर्छ । नवशिशुलाई २४ घन्टामा कम्तीमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ । शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउनुपर्छ। 

नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ । बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य रुपमा जन्म दर्ता गराउनुपर्छ।

नेपाल सरकारले नवशिशु बिरामी तथा मृत्यु दर घटाउन यसै आर्थिक वर्ष २०७२/०७३ देखि नि:शुल्क नवशिशु उपचार गर्ने व्यवस्था सबै स्वास्थ्य संस्थामा गरेको छ।

नवशिशुमा देखिने खतराका लक्षण: 

कम्पन हुनु,                   

सास फेर्न गाहो हुने / छिटोछिटो सास फेर्नु,

धेरै कम तौलको हुनु,

धेरै ज्वरो आउनु,

बच्चाको हात-खुट्टा चिसो हुनु,

दूध चुस्न नसक्नु,

नाइटोबाट रगत वा पिप बग्नु,

आँखा र छाला पहेंलो देखिनु,

बच्चा सुस्त वा बेहोस हुनु,

जन्मेको २४ घन्टासम्म बच्चाले दिसा-पिसाब नगर्नु,

शरीरभरि बिमिरा/फोका आउनु,

आँखा रातो हुनु, सुन्निनु वा पिप बग्नु।

मातृ तथा नवशिशु मृत्यु गराउने मुख्य ३ वटा कारण:

निर्णय गर्नमा ढिलाइ,

स्वास्थ्य संस्थामा पुर्‍याउन ढिलाइ,

स्वास्थ्य संस्थामा सेवा प्राप्त गर्न ढिलाइ।

(पब्लिक हेल्थ नर्स विष्ट जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा कार्यरत छिन्।)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live