विचार/ब्लग

औषधि : विधि पुर्‍याएर सेवन गरे अमृत नत्र विष

सुनिल तिमल्सिना

सामान्य रुघाखोकीदेखि जटिल समस्या सम्म औषधिको प्रयोग गरिन्छ। वातावरणीय प्रकोप बढेसँगै औषधिको प्रयोग पनि बढ्दै छ। वातावरणीय परिस्थिति सामान्यबाट जटिल हुँदै गएकाले दिनानुदिन नयाँ रोगहरु थपिँदो छ। अव्यवस्थित सहरीकरण, उद्योगधन्दा तथा चरम वातावरणीय विनासले स्वास्थ्ययमा प्रतिकूल असर पर्दै गएको छ। वातावरणीय प्रकोप सँगै थरिथरिका स्वास्थ्यय समस्या बढ्नाले चिकित्सा क्षेत्रमा पनि चुनौति थपिएको छ।

औषधिले रोगलाई पूर्ण रुपमा निको बनाउन र औषधिले काम गर्न उचित वातावरण हुनपर्छ। पूर्ण रुपमा औषधि सेवन नगर्नाले तथा समयको ध्यान नदिई सेवन गर्नाले रोगलाई पूर्ण रुपमा निको पार्न सक्दैन। औषधिको उचित प्रयोग हुँदा पुनःजीवन प्राप्त हन्छ भने सबै कुरा ध्यान नदिँदा नकारात्मक असर पर्नुका साथै मृत्य समेत हुन सक्छ।

बजारमा विभिन्न प्रकारका औषधि पाइन्छ। उपचार पद्धति अनुसार औषधि पनि फरक–फरक प्रकारका हुन्छन्। सामान्य रुपमा आयुर्वेदिक औषधिभन्दा एलोपेथिक औषधिको अधिक प्रयोग हुन्छ। आयुर्वेदिक औषधिको साइडइफेक्ट कम हुने भए पनि छिटो निको हुने भएकाले एलोपेथिक औषधिको बढी प्रयोग हुन्छ।

जब शरीरमा कुनै पनि रोग निम्त्याउने तत्वको प्रवेश हुन्छ तब बिस्तारै रोगको लक्षण देखा पर्ने गर्छ। सरुमा त शरीरले नै रोगसँग लड्ने प्रयास गर्छ। तर्सथ, कुनै पनि रोगको लक्षण देखा पर्नासाथ औषधिको प्रयोग नगरी शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन सकिन्छ। आजकल मानिसहरु खानपानमा ध्यान नदिई सानातिना लक्षण देखा पर्नासाथ औषधि सेवन गर्न थाल्छन्। जसले भविष्यमा जटिल समस्या निम्त्याउन सक्छ।

औषधि सेवन गर्दा बिरामीले पनि धेरै कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह अनुरुप औषधि सेवन नगर्दा पूर्ण रुपमा सफल काम गर्न सक्दैन भने औषधिले नकारात्मक असर समेत देखाउन सक्छ। स्वास्थ्ययकर्मीको सल्लाह अनुरुप खाली पेटमा वा खाना खाएपछि, अर्को कुनै औषधिसँग खाँदा असर गर्छ गर्दैन, सँगै खाइने खानेकुरासँग प्रतिक्रिया गर्छ गर्दैन, समय (पटक) आदि कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ।

अहिले एन्टिबायोटिकको अधिक प्रयोग हुँदै आएको छ। बजारमा बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक खुल्ला रुपमा वितरण हुने गरेको छ। एन्टिबायोटिकको प्रयोग गर्दा धेरै कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ। सुरुमा रोगको निदान भएपछि कम क्षमताको एन्टिबायोटिकबाट उपचार सरु गर्नुपर्छ र ठिक नभए मात्रै कडा क्षमताको एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ। तर सबै ठाउँमा यो विधि अपनाएको पाइँदैन। अझै कतै त, स्वास्थ्ययकर्मीले आफूलाई उत्कृष्ट देखाउन कडा क्षमताको एन्टिबायोटिक प्रेस्क्राइब गर्छन्। यसबाट स्वास्थ्यमा प्रत्यक्ष असर पर्न जान्छ। तत्कालीन समयमा रोग पूर्ण रुपमा निको भए पनि पछि त्यही एन्टिबायोटिकले उही रोगमा काम नगर्न सक्छ।

अनावश्यक तथा धेरै एन्टिबायोटिकको प्रयोग गर्नाले एन्टिबायोटिक रेसिस्टेन्ट हुन्छ र अन्ततः कुनै पनि एन्टिबायोटिकले काम नगर्ने हुन्छ, जुन अवस्थालाई ‘सुपरबग’ भनिन्छ। जुन अवस्थामा कुनै पनि एन्टिबायोटिकले काम गर्दैन र सानो घाउखटिरा तथा सामान्य स्वास्थ्य समस्याले पनि मानिसको मृत्यु हुन सक्छ।

तसर्थ अनावाश्यक एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन। एन्टिबायोटिकको प्रयोग गर्दा सकेसम्म ल्याब परीक्षण गरेर कुन एन्टिबायोटिक उपयुक्त छ भन्ने यकिन गरेर मात्र चिकित्सकले पनि प्रयोगका लागि सिफारिस गर्नुपर्छ। बिरामीले झन् आफूखुसी एन्टिबायोटिक किनेर प्रयोग गर्नै हुँदैन। एन्टिबायोटिकको प्रयोग अवधि, समय र मात्रामा एकदम ध्यान दिनुपर्छ।

सामान्यतया एन्टिबायोटिकको प्रयोगपछि पूर्ण मात्रामा औषधि नखाईकन रोग ठीक भएको अनुभव हुन्छ र बिरामीले बीचैमा खान छोडिदिने गर्छन्। तर एन्टिबायोटिकको पूरा मात्रा सेवन नगरी रोग पूर्ण रुपमा निको भएको हुँदैन। फेरि त्यही रोगले आक्रमण गर्दा पहिले प्रयोग गरेको एन्टिबायोटिकले काम गर्न सक्दैन र जटिल समस्या देखिन थाल्छ। त्यसैले चिकित्सकको सल्लाह बमोजिम पूर्ण मात्रामा एन्टिबायोटिक सेवन गर्नुपर्छ।

यसैगरी, ‘स्टेरोइड’को खुल्ला अनावाश्यक तथा अनुचित प्रयोगले जनस्वास्थ्यमा जटिल समस्या देखापरेको छ। स्टेरोइडको प्रयोग मुख्यतया शारीरिक जटिल अवस्था (बाथरोग, हाडजोर्नी सम्बन्धी तथा रक्तनली सुन्निए) मा गरिन्छ। तर, अहिले सामान्य स्वास्थ्य समस्यामा पनि स्टेरोइडले धेरै रोग छिटो निको पार्ने हुनाले अनुचित प्रयोग गरिँदै आएको छ। स्टेरोइड धेरै साइडइफेक्ट भएको औषधिभित्र पर्छ।

अहिले धेरै स्वास्थ्यकर्मीले बालबालिकामा स्टेरोइडको प्रयोग गराइएको देखिन्छ, यसको नकारात्मक असर धेरैपछि देखापर्छ। स्टेरोइडको प्रयोगले हर्टअट्याक, उच्च रक्क्तचाप, अधिक तौल, मिर्गौला तथा कलेजोमा समस्या देखा पर्ने गर्छ। त्यसैले यसको प्रयोग गर्दा स्वास्थ्यकर्मी तथा सेवाग्राही दुवै सर्तक रहनुपर्छ।

स्टेरोइडको प्रयोग खुल्ला रुपमा जिमखानाहरुमा गरिन्छ, यसको प्रयोग शरीरलाई आकर्षक बनाउन तथा मांसपेसीलाई मजबुत देखाउन प्रयोग गरिन्छ, जसबाट खतरनाक दीर्घकालीन असर देखापर्छ।

यसैगरी, खुल्ला रुपमा औषधिको बिक्रीबितरण हुनाले पनि जनस्वास्थ्यमा चुनौती थपिएको छ। चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्रीबितरण हुँदा कतिपय औषधि लागूऔषधका रुपमा समेत प्रयोग हुने गरेको छ। फेन्सिडिल, कफ ट्याब, कफ सिरप, डिकोल्ड जस्ता औषधि आवश्यकताभन्दा बढी मात्रामा सेवन गर्दा झुम्म हुने हुनाले यसलाई नसाका रुपमा प्रयोग गर्नेहरु पनि भेटिन्छन्। यसबाट शरीरमा नकारात्मक असर देखापर्छ।

यस्ता औषधि चिकित्सकको प्रेस्किप्सनबिना लागू औषध प्रयोगकर्ताहरु किन्न आउने र औषधि बितरकले बढी रकम लिएर बेच्ने गरेका छन्। औषधि व्यवस्था विभागको कमजोर निगरानीका कारण बजारमा खुल्ला रुपमा नसाका रुपमा प्रयोग गरिने औषधिको प्रयोग बढ्दो छ।

उचित परामर्श नहुँदा औषधि सेवनका क्रममा धेरै समस्या देखिन थालेको छ। त्यसैले औषधि सेवन गर्ने मानिसले स्वास्थ्यकर्मीसँग सम्पूर्ण जानकारी लिनुपर्छ र आफ्नो बारे पनि सबै कुरा बताउनुपर्छ।

कतिपय धुलो औषधिलाई झोलमा परिणत गरेर सेवन गर्नुपर्छ, कतिपय औषधि बाहिरी प्रयोगका लागि मात्र हुन्छन्, कतिपय औषधि चपाएर तथा कतिपय नचपाई खानुपर्ने हुन्छ। जुन कुरा स्वास्थ्यकर्मीसँग राम्ररी सल्लाह लिएर मात्र सेवन गर्नु फाइदाजनक छ। कतिपय सँगै खान नमिल्ने औषधिलाई कम्तिमा २ घन्टाको फरकमा मात्र सेवन गर्नुपर्छ नत्र औषधिले राम्रो काम गर्दैन र स्वास्थ्य खराब हुन जान्छ।

समग्रमा भन्नुपर्दा जीवन जोगाउने औषधिको अनावश्यक प्रयोग बढ्यो र अनुशासित प्रयाग हुन सकेन भने यसले रोग निको पार्ने होइन कि मानिसको जीवन नै तलमाथि पर्न सक्छ।

(तिमल्सिना औषधि विज्ञानका विद्यार्थी हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live