डक्टर्स आर्टिकल

बिर्सिने रोग अल्जाइमर्सबाट जोगिने कसरी ?

डा रमेश कंडेल

हरेक वर्ष जस्तै यो सेप्टेम्बरलाई पनि ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’ नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा विश्वभर 'अल्जाइमर्स महिना’का रुपमा मनाइँदैछ। यसै महिनाको २१ तारिखलाई ‘रिमेम्बर मी (मलाई सम्झ)’ भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवश, २०१७’ मनाइँदैछ।

विकसित राष्ट्रमा ‘डिमेन्सिया (विस्मृति)’ को बारेमा विभिन्न खालका अध्ययन–अनुसन्धानका साथै नागरिक सचेतना भए पनि नेपालको परिवेशमा यो स्वास्थ्य समस्यालाई अझै गम्भीर रुपमा लिइएको पाइँदैन। फलस्वरुप यो समस्याको उचित निदान र उपचार पनि खासै भएको पाइँदैन। स्वास्थ्यसँग सम्बन्धित विविध सरोकारवाला निकायहरु एवं आम स्वास्थ्यकर्मीमा यो समस्याबारे यथार्थ जानकारीको अभाव रहेको प्रस्ट रुपमा देख्न सकिन्छ।

के हो डिमेन्सिया (विस्मृति) अल्जाइमर्स रोग?

मानव मस्तिष्कका विविध कार्यक्षमता हुन्छन्। सम्झिन सक्ने क्षमता, सोच्ने, तर्क–वितर्क गर्ने, राय दिने, गणितका समस्या समाधान गर्ने, सामाजिक परिवेशको हिसाबले आफूलाई प्रस्तुत गर्ने, दिशा–पिसाबमा आवश्यक नियन्त्रण गरी उपयुक्त स्थानमा मात्र गर्ने आदि। कुनै पनि कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’ भनिन्छ। विस्मृतिका विविध कारणमध्ये प्रमुख कारण ‘अल्जाइमर्स’ हो। अध्ययनहरू अनुसार प्रति १ सय जना विस्मृतिका बिरामीमध्ये दुई तिहाई बिरामीमा ‘अल्जाइमर्स’ रोग देखिन्छ।

तथ्यांकले के भन्छ?

यो रोग विशेषगरी ज्येष्ठ नागरिकहरुमा देखिने स्वास्थ्य समस्या हो। अन्तर्राष्ट्रिय आँकडा अनुसार ६५ वर्षभन्दा कम उमेर समूहका ४ प्रतिशतलाई यो रोग देखिन्छ। ६५ देखि ७५ वर्ष उमेर समूहका १५ प्रतिशत र ७५ देखि ८५ वर्ष उमेर समूहका ४४ प्रतिशतमा अल्जाइमर्स देखिन्छ। सरसर्ती हेर्दा अल्जाइमर्स रोग निदान भएका मध्ये ८२ प्रतिशत जति बिरामी ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्छन्।

हाम्रो देशको परिप्रेक्षमा हालसम्म अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’को प्रक्षेपण अनुसार सन् २०१५ मा यस रोगबाट पीडितको संख्या ७८ हजार छ। यो संख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्ममा २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ।

अल्जाइमर्स रोगको कारण

अल्जाइमर्स रोग विशेषगरी ज्येष्ठ नागरिकमा लाग्ने रोग भए पनि यसको यकिन कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। यस रोगको कारणका सम्बन्धमा विभिन्न सिद्धान्त प्रतिपादित भएका छन् र केही अनुसन्धानकै दायरामा छन्। मस्तिष्कको स्नायु–तन्त्रसँग सम्बन्धित कोषिकाहरूमा बढ्दो उमेरसँगै आउने खराबी (न्युरो डिजेनेरेसन) ले यो रोग लाग्ने मानिन्छ।

विभिन्न अध्ययन–अनुसन्धानले देखाए अनुसार बुढ्यौली, आनुवांशिकता, अधिक मोटोपना, मधुमेह, उच्च–रक्तचाप, ‘मेटाबोलिक सिन्ड्रोम’, रगतमा अधिक चिल्लोपना (डिसलिपिडेमिया), डाउन सिन्ड्रोम, मस्तिष्क सम्बन्धी चोटपटक जस्ता विभिन्न स्वास्थ्य समस्याले कुनै पनि व्यक्तिमा अल्जाइमर्स रोग लाग्ने जोखिमलाई बढाइरहेका हुन्छन्।

लक्षण

यो रोगका निम्नलिखित तीन अवस्था र सोही अनुसारका लक्षणहरू हुन्छन्।

() कम कडा अवस्था (माइल्ड स्टेज)

– स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिँदै जानु। 

– पूर्वजानकारी भएका व्यक्ति/नातागोता एवं ठाउँहरूलाई चिन्नमा समस्या हुनु। 

– साविकका कामहरू गर्न आवश्यकता भन्दा धेरै समय लिनु।

– गरिरहेको कारोबार/व्यवसाय गर्नमा समस्या हुनु।

– क्रमिक रुपमा गलत किसिमका निर्णयहरु गर्दै जानु।

– व्यवहार/व्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु। 

() अलि कडा अवस्था (मोडरेट स्टेज):

– माथि उल्लेखित समस्याहरू, क्रमिक रुपमा बढ्दै जानु।

– परिवारभित्रैका सदस्यलाई पनि चिन्नमा समस्या हुनु।

– पढाइ/लेखाइ/गणितमा समस्या देखिँदै जानु। 

– नयाँ विषय तथा कार्यहरू सिक्नमा समस्या हुनु।

– साविकको घरको बाटो बिराउनु/हराउनु। 

– एउटै कुरा/काम अनावश्यक रुपमा दोहोर्‍याइरहनु।

– अधिक/अनावश्यक शंका गर्नु; नभएको कुरा देख्नु/सुन्नु; अधिक डराउनु; अधिक आवेशमा आउनु आदि।

– सामाजिक रुपमा आपत्तिजनक काम/व्यवहार/भाषा प्रयोग गर्नु। 

() अति कडा अवस्था (सिभियर स्टेज)

– माथि उल्लेखित लक्षणहरू क्रमिक रुपले अरु बल्झिदै जानु।

– खाना खान/चपाउन/निल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने न्युमोनिया (एस्पिरेसन न्युमोनिया) बाट बिरामी बारम्बार पीडित भइरहनु।

– तौल घट्दै जानु; आलस्य र निद्रा बढ्दै जानु।

– दिसा/पिसाबमा नियन्त्रण हराउँदै जानु; कपडा/बिस्तारामै हुनु।

– बोल्नमा पनि समस्या बढ्दै गई अस्पष्ट रुपमा आवाज निकाल्नु। 

– विस्तारामा सीमित भई, सो सम्बन्धी जटिलताहरू बढ्दै जानु।

निदान

यसको निदान विशेषज्ञ चिकित्सकले बिरामी र बिरामीका नजिकका आफन्तजनसँग सोधेर लक्षण पत्ता लगाउँछन् र  त्यही अधारमा उपचारमा गर्छन्। 

अल्जाइमर्स बाहेक विस्मृतिका अन्य कारणहरू पनि हुने हुँदा रगतसँग सम्बन्धित केही र आवश्यक लागेको खण्डमा मस्तिष्कको पानी (सी.एस.एफ)को जाँच पनि गर्नुपर्ने हुनसक्छ। त्यसैगरी मस्तिष्कको सी.टी.स्क्यान, एम.आर.आई. जस्ता जाँचहरू पनि गर्नुपर्ने हुन सक्छ। किनभने अल्जाइमर्स रोगसँग मेल खाने अन्य विस्मृतिसँग सम्बन्धित कारणहरूको पनि समयमै निदान हुन सकोस्। 

यी बाहेक यस रोगको भरपर्दो निदानका लागि गर्न सकिने विविध खालका जाँचहरू हालसम्म अनुसन्धानकै क्रममा छन्। 

उपचार

दु:खको कुरा के छ भने; हालसम्म उपलब्ध उपचार पद्दति र औषधिले यो रोगलाई पूर्ण रुपमा निको पार्न चाहिँ सकिदैन । केवल रोग एक अवस्थादेखि अर्को अवस्थासम्म बल्झिदै जाने गतिलाई कम गर्न मात्र सकिन्छ। विविध सम्भाव्य औषधीहरू अनुसन्धानको दायरामा छन् र केही आशालाग्दा नतिजाहरू पनि आउने क्रममै छन्। 

हालसम्म यो रोगको उपचारमा प्रयोग हुने औषधिहरु ‘कोलिनइस्टरेज इन्हिबिटर्स’ र ‘एन.एम.डी.ए. एन्टागोनिष्ट’ गरी दुई समूहमा पर्दछन्। व्यवहारजन्य समस्याहका कारण यस रोगका बिरामीहरुको उपचार अझै बढी जटिल हुने गर्दछ। उपलब्ध विभिन्न औषधिको सहयोगमा यस्ता व्यवहारजन्य समस्याहरूलाई समयमै नियन्त्रण गर्न सकिन्छ। 

यस रोगको समयमै निदान गर्न सकियो भने हाल उपलब्ध उपचार पद्दतिले बिरामीलाई लामो समयसम्म बिना कुनै जटिलता बचाइ राख्न सकिन्छ। उचित औषधी–उपचार, नियमित रुपमा विशेषज्ञसँग परामर्श र उचित स्याहार–सुसारको प्रबन्धबाट यो रोग निदान भएपश्चात दुई दशकभन्दा बढी बिरामी बाँचेका उदाहरण पनि छन्। त्यसको विपरित उचित स्वास्थोपचार र स्याहार–सुसारको अभावमा दुई वर्ष पनि नपुग्दै बिरामीले  मृत्युवरण गर्न पुगेका पनि छन्। यस रोगमा बिरामीको मृत्युको प्रमुख कारण खाना/पानी सर्केर हुने फोक्सोको सङ्क्रमण ‘एस्पिरेसन न्युमोनिया’ नै हो। 

पारिवारिक एवं सामाजिक प्रभाब

अल्जाइमर्स रोगको बारेमा छलफल गर्दा, यो रोगले पार्ने पारिवारिक एवं सामाजिक प्रभावलाई आँखा चिम्लिनु प्रत्युत्पादक हुन सक्दछ। यो रोग दीर्घकालीन प्रकृतिको हुने र रोग बल्झिदै जाँदा बिरामी दैनिक जीवनका सामान्य कामकुरामा पनि पारिवारिक सदस्यहरूमा पूर्ण रुपमा निर्भर हुने हुँदा यसले परिवारमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ। यो रोगले बिरामीको प्राथमिक स्याहारकर्ता (प्राइमरी केयरगिभर)लाई ‘डिप्रेसन’ जस्तो घातक मानसिक समस्या तर्फ धकेल्दै जाने जोखिम बढी हुन्छ। 

स्मरणशक्तिको क्षयीकरणसँगै देखिने मानसिक समस्याका कारण बिरामीले सामाजिक रुपमा आपत्तिजनक मानिने व्यवहार गर्ने र कुनै–कुनै अवस्थामा यौनजन्य अपराधिक क्रियाकलापमा समेत संलग्न हुने जोखिम रहन्छ। त्यसको परिणामस्वरुप परिवारभित्रै र समाजभित्र पनि बिग्रहको अवस्था आउन सक्ने सम्भावना पनि रहन्छ। 

तसर्थ यो रोगको उपचार गर्ने क्रममा बिरामी मात्र होइन, बिरामीको पारिवारिक वातावरण र सदस्यहरुको शारिरिक एवं मानसिक स्वास्थ्यको पनि ख्याल गर्नु अत्यन्तै आवश्यक रहन्छ।

राज्यस्तरमा पहल

अल्जाइमर्स रोगप्रति बढ्दो सचेतनासँगै र यस सम्बन्धमा काम गर्ने विभिन्न सामाजिक संघसंस्थाहरूको पहलमा राज्यले अल्जाइमर्स रोगबाट पिडितहरूको औषधि उपचारको लागि रू. १ लाख प्रति बिरामी सहयोग गर्ने नीति लिएको छ। विशेषज्ञ चिकित्सकको सिफारिसमा यो रोग निदान भएपश्चात केही औपचारिक प्रक्रिया पूरा गरी नेपाल सरकारबाट तोकिएका ‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल’ लगायतका अन्य सरकारी स्वास्थ्य संस्थाहरूबाट यो सहुलियत लिन सकिन्छ।

एउटा तहसम्म सामान्य काम/कुराहरू बिर्सनु बुढ्यौलीकै उपज हुन सक्ने भएता पनि माथि उल्लेखित लक्षणहरू क्रमिक रुपमा देखिंदै गएका छन् भने ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर्स रोग लाग्ने सम्भावना बढी हुन्छ। बेलैमा विशेषज्ञ चिकित्सकसँग परामर्श गराई हाल उपलब्ध औषधि–उपचार शुरु गरिएको खण्डमा यो रोग बल्झिने गति र यससँग सम्बन्धित जटीलताहरूलाई पनि नियन्त्रणमा राख्न सकिन्छ र यसबाट स्याहारकर्ताहरूमा देखिन सक्ने शारीरिक, मानसिक पीडा एवं आर्थिक समस्याहरूको पनि न्युनिकरण गर्न सकिन्छ। व्यक्तिगत, पारिवारिक, सामाजिक एवं राज्यकै तहबाट अल्जाइमर्स रोगका बिरामीहरूले सम्मानजनक जीवन जिउन पाउने बातावरण निर्माणका लागि पहल गर्नुपर्छ।

पाटन अस्पतालमा कार्यरत डा कंडेल बृद्धबृद्धा रोग विशेषज्ञ हुन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live