मुख्य समाचार

बढेको अविश्वास कि लापरबाही ?    

img

डिबी खड्का

काठमाडाैं– भदौको अन्तिम दुई सातामा मात्रै स्वास्थ्य मन्त्रालयले अस्पतालको उपचार प्रणाली सही भए/नभएको छानबिन गर्न तीन वटा समिति बनाउनुप¥यो । नर्भिक, ओम र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीन जनाका आफन्तले अस्पताल र डाक्टरको उपचार प्रणालीमाथि प्रश्न उठाए । उपचारमा भएको लापरबाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै आफन्तले नाराबाजी गरेपछि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय छानबिन समिति बनाउनुपरेको होे।
 
यस वर्षका पाँच महिनामा मात्रै १० वटा यही प्रकारका घटना भइसकेका छन् । अधिकांश अस्पतालले क्षतिपूर्ति तिरेर स्थितिलाई साम्य पारेका छन् । पछिल्ला वर्षमा अस्पताल, डाक्टर विरुद्ध नाराबाजी हुने र क्षतिपूर्ति तिरेर सहमति गर्ने प्रक्रिया नियमित जस्तै हुन थालेका छन् । नेपाल चिकित्सक संघका अनुसार डाक्टरमाथि बिरामी पक्षद्वारा हातपात हुने क्रम बढ्दै गएको छ । संघले राखेको रेकर्ड अनुसार पनि पछिल्लो १० वर्षमा ५० भन्दा बढी डाक्टरमाथि हातपात र दुव्र्यवहारका घटना भएका छन् । अस्पतालमा हुने तोडफोडका घटना पनि उत्तिकै बढेका छन्। 

उपचारमा अस्पताल र डाक्टरको लापरबाही बढेको हो वा जनतामा अविश्वास ? यो प्रश्नको ठ्याक्कै उत्तर कसैसँग छैन । तर, पछिल्लो समय देखिएको प्रवृत्तिले नियामक निकाय, अस्पताल र डाक्टरहरुलाई सोच्न वाध्य बनाएको छ । कुनै समय आफ्नो अस्पतालमा सरकारको छायाँ देखिनसहने निजी अस्पताल सञ्चालकहरु अहिले निगरानी बढाइदिओस् भन्ने चाहना व्यक्त गर्न थालेका छन् । काठमाडौंको चावहिलस्थित ओम अस्पतालका निर्देशक बाबुकाजी कार्की भन्छन्, ‘सरकारले हामीमाथि निगरानी र सर्वसाधारणलाई उपचारमा चित्त नबुझे गुनासो गर्ने संयन्त्रको विकास गरिदेओस्।’

विश्वासका आधारमा बिरामीले ज्यान सुम्पिने र ज्यानमाथि छुरी (स्कालपेल) चलाउनुपर्ने चिकित्सकीय सेवामा विश्वासको संकट गहिरिँदै जानुका बेफाइदा दुवै पक्षले उत्तिकै भोगिरहेका छन् । वीर अस्पतालका हाडजोर्नी विशेषज्ञ समेत रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरी भन्छन्, ‘अस्पतालमाथि आइपर्ने सम्भावित संकटलाई मध्यनजर गरेर धेरै निजी अस्पतालहरुले गम्भीर प्रकारका बिरामीलाई भर्ना गर्नै छाडिसके । सरकारी अस्पतालमा आउने धेरै गम्भीर बिरामी निजीबाट रिफर गरिएका हुन्छन्।’

बिरामीको उपचारमा समयको ठूलो महत्व हुन्छ । कतिपय स्वास्थ्य समस्याका लागि ‘गोल्डेन आवर’ अर्थात् बाच्न सक्ने समय तय गरिएको हुन्छ । तर, नजिकको निजी अस्पतालले उक्त समस्याको आफूकहाँ उपचार नहुने भनेर रिफर गरिदिँदा ज्यानै तलमाथि पर्ने उनले बताए । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत पनि गम्भीर केसमा हात हाल्न डाक्टरहरु डराउन थालेको बताउँछन् । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा यस्तै अविश्वास र अराजकता रहने हो भने उपचार सेवा नराम्ररी प्रभावित हुन सक्छ।’

अस्पताल तोडफोड र चिकित्सकमाथि दुव्र्यवहार हुनुमा सेवाग्राहीमा अविश्वास बढेको हो वा सेवा प्रदायकको लापरबाही ? यो प्रश्नको सही उत्तर पनि अहिले कसैसँग छैन । तर, आफूले दिइरहेको उपचार सेवालाई पुनःमूल्यांकन गर्नुपर्ने बेला आएको अस्पताल र चिकित्सकहरुले महसुस गर्न थालेका छन्।

सबै डाक्टरलाई उस्तै नजरले हेर्न नहुने पक्षमा छन् चिकित्सकहरु । नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका नेपाल चिकित्सक संघका उपाध्यक्ष डा ढुण्डिराज पौडेल भन्छन्, ‘पढाइमा लाग्ने खर्च उठाउन कतिपयले उपचारमा जति सकिन्छ धुत्न खोजिरहेका हुन्छन्। बिरामीको मुटु छाम्ने बहानामा खल्ती छाम्नेहरु पनि छन्।’

लापरबाही भन्ने बित्तिकै डाक्टरकै नाम अग्रभागमा ल्याइने प्रवृत्ति भने गलत रहेको उनको भनाइ छ । यसमा सबैभन्दा ठूलो दोषी अस्पताल सञ्चालकहरु रहेको ठान्छन् उनी । ‘अस्पताल सञ्चालक नाफाका लागि जुनसुकै हदसम्म पनि जाने, तर परिआउँदा अग्रभागमा डाक्टरलाई लगाउने प्रचलन छ,’ उनले भने, ‘अस्पताल सञ्चालकले बिरामीबाट मोटो रकम असुल्छन् । डाक्टरलाई सानो अंश मात्रै दिन्छन् । त्यो बीचमा उनीहरुले लिने चर्काे नाफाले पनि सेवाग्राही चिढिएका हुन्।’ 

अस्पतालमा एउटा बिरामीको ज्यान जोगाउन उपकरण, औषधिसँगै अन्य व्यवस्थापन चुस्तदुरुस्त छ कि छैन भन्ने कुराले पनि अर्थ राख्छ । तर, यी सबै कुरामा नजरअन्दाज गरिदिएर डाक्टरमाथि मात्रै दोष थोपरिएको बताउँछन््, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गिरी। 

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भने यी घटनालाई सेवाग्राहीले आफू ठगिएको बुझ्न थालेको रुपमा अथ्र्याउँछन् । भन्छन्, ‘कुनै समय चिकित्सक र अस्पतालले भनेका हरेक कुरा पत्याउने उपभोक्तामा अहिले सचेतना बढेको छ । आफूले तिरेको शुल्क अनुसारको सेवा पाए/नपाएको मूल्यांकन गर्न थालेका छन् । मूल्य अनुसार सेवा नपाइरहेकाले आक्रोशित हुँदै गएका हुन् ।’

‘चिकित्सकीय लापरबाही’मा पिएचडी गरेका अधिवक्ता रमेश पराजुली डाक्टरले बिरामीसँग गर्ने सञ्चारमा कमी देख्छन् । उनी भन्छन्, ‘बिरामीलाई समय दिएर कस्तो समस्या हो ? कति रुपैयाँसम्ममा उपचार हुन सक्छ ? जटिलता के–के आउन सक्छन् ? भन्ने विषयमा राम्ररी बुझाउनुपर्छ ।’ नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका डा ढुण्डिराज पौडेल पनि डाक्टरहरु बिरामीसँग संवाद गर्ने कुरामा चुकिरहेको बताउँछन् । उनी भन्छन्, ‘सबै जटिलता भनिदियो भने उपचारै गराउँदैनन् कि भनेर लुकाउने प्रवृत्ति डाक्टरहरुमा छ । सुई लगाउँदा पनि जटिलता हुन्छ भन्ने कुरा भनिदिनुपर्छ बिरामीलाई ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live