फिचर

छानविन छलेर क्षतिपूर्ति तिर्दै उम्किँदै अस्पताल

img

डिबी खड्का

काठमाडाैं– अस्पतालमा आफन्तको मृत्यु हुनुमा केही आशंका उत्पन्न हुनासाथ नाराबाजीमा उत्रिहाल्ने स्थितिमा पुगेका छन् सेवाग्राही। त्यसैले निजी अस्पताल सञ्चालकहरु अहिले ‘काल पल्क्यो’ भनेर चिन्ता गरिरहेका छन्। तर, काल पल्काउनुमा उनीहरुको योगदान पनि कम छैन । कसैले आफ्नो गल्ती विरुद्ध आवाज उठाउने बित्तिकै कमजोरी ढाकछोप गर्न आर्थिक प्रलोभनले मुख बुजो लगाउन चाहन्छन् अस्पताल सञ्चालकहरु। 

पछिल्लो समय सबैभन्दा धेरै लफडा झेलिरहेको चाबहिलस्थित ओम अस्पतालले अधिकांस घटना क्षतिपूर्ति तिरेर मिलाइसकेको छ । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय छानबिन कमिटी बनाएर अनुसन्धान गरिरहेको बुटवलकी कमला भट्टराई मृत्यु प्रकरणमा पनि उसले आफन्तलाई क्षतिपूर्ति दिएर मिलाइसकेको बताइएको छ । सोही घटनामा विशेषज्ञका हिसाबले छानबिनमा सक्रिय एक डाक्टर भन्छन्, ‘क्षतिपूर्ति दिएर आफन्तलाई मिलाइसके । हामी छानबिनको नाटक गर्दैछौं।’

पछिल्लो पाँच महिनामा क्षतिपूर्ति तिरेर उम्किनेमा ओम अस्पताल मात्रै छैन। सबैभन्दा धेरै रकम क्षतिपूर्ति तिरेर गल्ती ढाकछोप गर्नेमा मिडाट अस्पताल ललितपुरको नाम आउँछ । गत जेठ २० गते लगनखेलस्थित अस्पतालमा पाठेघरको शल्यक्रिया गर्दा बिरामीको आन्द्रासमेत काटिएपछि काभ्रे बनेपाकी पूर्णकुमारी श्रेष्ठको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरे । अस्पतालले गल्ती स्वीकार गर्दै मृतकका परिवारलाई ३० लाख रुपैयाँ तिर्ने सहमति जनायो। 

साउन २४ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी ९ वर्षीया सुनिता बस्नेतको मृत्यु भयो । चिकित्सकले लेखिदिएको औषधिका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेरेपछि पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिरेर घटना सल्टाइयो । यसैगरी, असार ११ गते झापाको विर्तामोडस्थित कन्काई अस्पतालले पाँच महिने बालक सुवाङ राईको मृत्यु प्रकरणलाई एक लाख रुपैयाँ तिरेर साम्य पार्यो‍‍ । 

पछिल्ला वर्ष निजी अस्पतालमा न्यायिक छानविन चाहने भन्दा पनि क्षतिपूर्ति दिएर घटनालाई सामसुम पार्ने प्रवृत्ति हावी भएको देखिन्छ । सबै घटनामा अस्पतालले मृतक /बिरामीका आफन्तलाई क्षतिपूर्ति तिर्नु परेको गल्ती भएरै हो त ? यो प्रश्नमाथि बहस गर्नुपर्ने बेला आइसकेको छ। सबै घटनामा अस्पताल र डाक्टरको गल्ती हुन्छ भन्ने हुँदैन । केही समयअघि मात्रै किड्नी चोरीको आरोप खेपेको काठमाडौंको प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालको मुद्दाले भने अर्कै संकेत गर्छ। 

मिर्गौलामा पत्थरी भएर गत २५ जेठमा स्वयम्भूस्थित मनमोहन अस्पताल पुगेका नुवाकोट विदुरका ३२ वर्षीया शिवप्रसाद रिमालको उपचारका क्रममा समस्या आएपछि एउटा मिर्गौला झिक्नुपर्ने भयो । अत्यधिक रक्तस्राव भएपछि ज्यान जोगाउनका लागि आफन्तको सल्लाहमै चिकित्सकले समस्याग्रस्त मिर्गौला झिकिदिए । तर, मिर्गाैला झिकिएको कुरालाई लिएर आफन्तले गर्ने सम्भावित आन्दोलनप्रति डराएर अस्पताल प्रशासनले जागिर दिनेदेखि लिएर सन्तानको पढाइ खर्च ब्यहोर्नेसम्मको सहमति गर्यो‍। 

अस्पताल प्रशासनले हडबडीमा गरेको उक्त सहमति बिरामी र उनका आफन्तलाई आशंका गर्ने बलियो प्रमाण बन्यो । त्यसैलाई आधार बनाउँदै बिरामी रिमालले १ महिनापछि आफ्नो मिर्गौला बिक्रीका लागि झिकिएको भन्दै उपचारमा संलग्न डा गुणकुमार श्रेष्ठमाथि आरोप लगाए । उनका आफन्तले अस्पताल घेरे र यो प्रकरण सतहमा आयो । त्यसपछि स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित उच्चस्तरीय छानविन समिति गठन गर्‍यो। 

समितिले गत साउन १७ मा स्वास्थ्य सचिव डा किरण रेग्मीलाई प्रतिवेदन बुझायो । प्रतिवेदनमा मिर्गौला झिक्नुमा गलत नियत र लापरबाही दुवै नरहेको उल्लेख छ । कसैले गल्ती औंल्याइदिँदा त्यसलाई सुधार गर्ने भन्दा पनि ढाकछोप गर्ने प्रवृत्ति अस्पताल सञ्चालकमा रहेको मन्त्रालय प्रवक्ता डा श्रीकृष्ण गिरीको बुझाइ छ । जसको मारमा चिकित्सकहरु परिरहेका छन् । यो प्रकरणमा अस्पतालको ढाकछोप गर्ने नियतले युरो सर्जनका रुपमा नाम चलेका डा श्रेष्ठको साख गिराउने काम गर्यो। 

यसैगरी, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सकले लेखिदिएको औषधिका कारण बालिका बस्नेतको मृत्यु भएको भन्दै आफन्तले घेरेपछि अस्पतालले पाँच लाख रुपैयाँ क्षतिपूर्ति ति¥यो । साउन २२ गते पलङबाट लड्दा खुट्टा मर्किएपछि अभिभावकले उनलाई केएमसी अस्पताल पु¥याएका थिए । चिकित्सकले खुट्टामा ब्यान्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि लेखिदिएका थिए । सोही दिन घर फर्किई औषधि सेवन गर्दा बालिकालाई पेट फुल्ने लगायतका ‘साइड इफेक्ट’ देखिएपछि पुनः २३ गते बेलुका ५ बजे अस्पताल पु¥याइएको थियो। बालिकाको सोही साँझ ७ बजेतिर मृत्यु भयो । यो घटनामा डाक्टरले दिएको औषधि र उपचार प्रणालीमा खोट नभए पनि अस्पतालले हतार–हतार क्षतिपूर्ति मात्रै तिरेन, उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गर्ने सहमति समेत गर्यो‍। 

प्रायः औषधिको ‘साइड इफेक्ट’ हुने र त्यसले कसैलाई जटिल समस्या ल्याउने कुरा जगजाहेर छ । जबकि अस्पतालका प्रशासन प्रबन्धक डा प्रकाश भट्टराईले औषधिले असर देखाउनासाथ बालिकालाई अस्पताल नल्याउँदा बचाउन नसकिएको बताएका थिए । यसलाई वैधानिक छानविन प्रक्रियामा पुर्या‍एको भए डाक्टर दोषी देखिने सम्भावना थिएन । तर, ढाकछोप गर्नमै अस्पताल सक्रिय रह्यो। 

नेपाल चिकित्सक संघका उपाध्यक्ष डा ढुण्डिराज पौडेलले यस्ता घटनाबारे भन्छन्, ‘अस्पतालले आफ्नो साख जोगाउने नाममा चिकित्सकको सेवा र प्रतिष्ठा दाउमा लगाइरहेका छन् ।’

डाक्टर र अस्पतालमाथि अाक्रमण १: बढेको अविश्वास कि लापरबाही ?   

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live