मुख्य समाचार

डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने प्रकरणः यस्तो छ मन्त्री परिषद्को निर्णय

img

डिबी खड्का

काठमाडौं–  असोज २ गते बसेको मन्त्री परिषद्को बैठकले उपचारमा लापरबाही भए डाक्टरलाई क्षतिपूर्ति तिराउने आशयको निर्णय गरेको भन्दै डाक्टरहरु आन्दोलित छन् । मन्त्री परिषद्को बैठकपछि नेपाल सरकारका प्रवक्ता सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बढ्दो चिकित्सकीय लापरबाही रोक्न डाक्टरलाई क्षतिपूर्ति तिराउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्री परिषद्को बैठकपछि बताएका थिए । 

तर, मन्त्री परिषद्ले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा  मन्त्री बस्नेतले भने जस्तो  बेहोरा उल्लेख छैन । मन्त्री परिषद्काे निर्णय कार्यान्वयनार्थ पठाइएको पत्रमा चिकित्सकको चरम लापरबाहीको स्वतन्त्र अनुसन्धान गर्ने, पेशागत वा व्यवसायिक बिमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भनिएको छ । ‘चिकिसकीय चरम लापरबाही (ग्रस नेग्लिजेन्स)का कारण बिरामीको मृत्यु वा अंगभंग भएको घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायिका बिमा (प्रोफेशनल लायबिलिटी इन्स्योरेन्स) र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने’ कार्यान्वयनार्थ पठाइएको पत्रमा भनिएको छ। 

उक्त निर्देशन स्वास्थ्य मन्त्रालय पुगेपछि स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले बिहीबार बेलुका आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरेका थिए । नेपाल चिकित्सक संघका पदाधिकारी सम्मिलित छलफल सकारात्मक रहेको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रीज्यू उक्त मन्त्री परिषद्को बैठकमा उपस्थित हुनुहुन्थेन । त्यसैले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनार्थ आएपछि यथार्थ बताउन उहाँले हिजो आन्दोलनरत पक्षसहितकाे बैठक बोलाउनु भएको थियो ।  उहाँहरु सहमतिका लागि सकारात्मक हुनुहुन्छ।’

उक्त छलफलमा आन्दोलनको निर्णय आफूहरुले मात्रै नभइ बृहत भेलाले गरेकाले तुरुन्तै सहमति गर्न नसकिने आन्दोलनरत पक्षका प्रतिनिधीले बताएका थिए । आन्दोलनरत चिकित्सकले अन्य दुई माग पनि अघि सारिरहेकाले बिहीबारको वार्ता टुंगोमा पुग्न नसकेको बताइएको छ । उनीहरुले चिकित्सकमाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान (जेल विथआउट बेल) र यसअघि मन्त्रालयसँग भएका सम्झौताको कार्यान्वयनको माग पनि राखेका छन्। 

यी तीन मागसहित असोज ६ गतेदेखि देशभरका अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा ठप्प पार्ने निर्णय नेपाल चिकित्सक संघले गरेको छ ।  
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live