विचार/ब्लग

क्षतिपूर्ति प्रकरण: डाक्टरलाई विदेश लखेट्ने प्रपञ्च!

डा आस्था रेग्मी

अस्पताल पुग्दा अरु दिनभन्दा फरक अनुभूति भयो । साथीहरु, सिनियर, जुनियर र गुरुहरु चिन्तित मुद्रामा देखिन्थे । सबैको अनुहारमा आवेग झल्किएको थियो।

सबै घटनाक्रम अनौठो लागिरहेको थियो।

एकैछिनमा राउन्ड सुरु भयो । राउन्डमा डोटीका बिरामीलाई डाक्टरले महँगा जाँचहरु  'जसरी पनि गराउनुस्, नभए हामी उपचार गर्न सक्दैनौं' भने । यस्तो जवाफ सुनेर बिरामी कालोनीलो भए।

सधैं त डाक्टरले बिरामीको मर्का, आर्थिक अवस्था बुझेर मात्र एकपछि अर्को जाँच गराउँदै जान्थे । आज त कडा रुपमा प्रस्तुत हुँदै अड्की कसेर भनिरहेका थिए- 'जहाँबाट जसरी भए पनि परीक्षण गराउनुस्, नभए उपचार हुँदैन।'

राउन्ड अर्को बेडमा सुरु भयो । डाक्टरको क्लिनिकल जाँच र सामान्य भिडियो एक्स-रेको आधारमा भोलिका लागि अपरेसन तोकिएको बिरामीको 'हैन, कन्फर्म गरेर मात्र अपरेसन गर्ने, आजै एमआरआई गराएर मात्र अपरेसन तय गर्ने भनियो । पछाडिबाट सिस्टरले भनिन्- 'डाक्टर, हाम्रो अस्पतालको त एमआरआई मेसिन बिग्रेको छ।'  

डाक्टरको जवाफ थियो- 'ठीकै छ, अब भोलि नै अपरेसन गर्ने भए आज जहाँबाट भए पनि यो जाँच गराउनुस् । नभए अपरेसन हुँदैन।

डाक्टरको कडा मिजास देखेर अझै विचित्र लागिरहेको थियो।

राउन्ड अर्को बेडसम्म पुग्दा मुटुरोगी ७० वर्षीया हजुरआमा २० वर्षदेखि खसेको पाठेघरको अपरेसन हुने आसमा डाक्टरलाई कुरिरहेकी थिइन् । उनको पाठेघर पूरै बाहिर निस्केर हिँड्नै समस्या परेपछि घर नजिकैको अस्पतालले उनलाई काठमाडौं रेफर गरेको रहेछ।

त्यो बेडमा पुग्नेबितिकै डाक्टरले आमाको आफन्तलाई भने- 'उहाँको अपरेसन गर्न सकिँदैन, आज घर लैजानुस् ।' यो सुनेपछि हिजोसम्म अपरेसन हुने कुराले फुरुंग भएको आमाको अनुहार अँध्यारो भयो।

डाक्टरले थप भनिदिए, 'आमाको उमेर धेरै पाको छ र मुटु रोगले जोखिम उत्तिकै छ । त्यसैले हामी केही गर्न सक्दैनौं।'

राउन्ड अगाडि बढ्दै जाँदा भोलि ओटीमा केस नहुने भो भनेर म रिलिफ हुँदै थिएँ । किनकि हिजो ३६ घन्टासम्म एकोहोरो ड्युटीमा कुदेको र भोलि फेरि त्यही ३६ घन्टे ड्युटीको पालो आइसकेकाले एउटा पनि केस नभए आनन्द लाग्नु नमीठो यथार्थ थियो।

अन्तिम बेडमा पुग्दा उपचारपछि घर फर्कन लागेकी ६९ वर्षीया आमा हर्षित मुद्रामा  थिइन् । १५ वर्षदेखिको खसेको पाठेघर, प्रेसर, बाथ रोग, मुटुको रोग, एक झोला औषधिको पीडा सुनाउँदै उनले भनिन्- 'डाक्टर नानीलाई धन्यवाद । हजुर त मेरा लागि भगवान् हुनुहुन्छ ।'

यो देखेर मेरो मन सन्तोष मान्दै थियो । सँगै, प्रश्न पनि थियो- आज अघिल्लो बेडको अपरेसन किन रोकियो ? नरोकेको भए त्यो आमा पनि यस्तै खुसी हुन्थिन् होला।

राउन्ड सकिएर साथीहरु आपसमा बहस गर्दै थिए । यसै क्रममा सुदूरपश्चिममा काम गर्दै गरेको साथीको फोन आयो । भन्न थाल्यो- 'मैले ५ दिनदेखि एक जना दमरोगी भर्ना गरेर राखेको । निकै गरिब र पाको छन् । सुधार त हुँदै छ । तर, यहाँ सबै जाँच गर्न पनि सम्भव छैन । त्यतै रेफर गर्दिन्छु है।'

मैले उसलाई थुमथुम्याएँ, 'कहाँ सिओपिडीको बिरामीलाई पनि रेफर गरेर साध्य हुन्छ ! त्यही सुधार हुँदै छ भने गर न ।

उसले भन्यो- 'तिम्ले आजको न्यूज हेरेको छैन जस्तो छ । बिरामीको मृत्यु भए पैसा डाक्टरले नै तिर्नुपर्ने रे ।'

बल्ल पो म प्रस्ट भएँ, आज राउन्डमा किन यस्तो भएको भनेर।

६ महिनाअघि आफू दुर्गम जिल्लामा काम गर्दा हाम्रो टिमको प्रयासले बाँचेका ती तीन गर्भवतीहरुको अनुहार एक्कासी याद आयो । जोखिमका बीच पनि हाम्रो टिमले गरेको शल्यक्रियाबाट उनीहरुको ज्यान बचेको थियो।

१९ वर्षीया गर्भवती पाठेघरको ट्युबमा बच्चा बसेर फुटेको ३ हप्तामा अस्पताल आएकी थिइन् । उनको रगतको मात्रा ४ पुगिसकेको थियो।

सुरुमा त हामीले यसको उपचार शल्यक्रिया मात्र रहेको र धेरै जोखिम रहेको भनेर काठमाडौं पठाउन खोज्यौं । आर्थिक रुपमा कमजोर उनीहरुले त्यति टाढा जान  नसक्ने बताए । हामीसामु दुई विकल्प थिए- बिरामीलाई छुँदै नछोई मृत्यु कुराएर राख्ने वा ज्यान जोगिने कम सम्भावना रहे पनि अपरेसनको प्रयास गर्ने।

हामीले बिरामी पक्षलाई सबै कुरा बुझायौं । अन्तत: सबैको सल्लाह र हाम्रो टिमको आँटले अपरेसन गरियो र सफल पनि भयो । बिरामीका लागि अस्पतालमै कार्यरत कर्मचारीले रगत दान गरे । सञ्चो भएर घर जाँदाको ती सुत्केरीको चम्किलो अनुहार आँखामा आइरह्यो । अब त्यस्तो मुस्कान कहिल्यै कसैको अनुहारमा दोहोरिँदैन होला।

त्यसपछि हामीले त्यस्तै थप दुई वटा अपरेसन सफलतापूर्वक गरेका थियौं।

नेपालमा जस्तो देश जहाँ सुगमभन्दा दुर्गम भेग धेरै छन् । जहाँ सबै जिल्लामा स्वास्थ्य बिमा लागू भएको छैन । जहाँ डाक्टरले बिरामीलाई विवेक प्रयोग गरेर जाँचहरु गराउनुपर्छ। आवश्यकताभन्दा पनि बिरामीको आर्थिक अवस्था कस्तो छ भन्ने विचार गरेर परीक्षणहरु गराउने-नगराउने फैसला गर्नुपर्छ।

यस्तो कठिन स्थितिमा काम गर्ने डाक्टरलाई कस्नेगरी क्षतिपूर्तिको नियम किन ल्याइयो ? सरकारलाई मेरो प्रश्न छ।

स्वास्थ्य बिमा, जेल विदआउट बेलका लागि आवाज उठाउँदा घाँटी सुक्ने बेलासम्म पनि कसैको ध्यानाकर्षण हुँदैन । जनतालाई सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य बिमाको प्रभावकारिता कसैको चासोभित्र पर्दैन । अनि यता कुनै गृहकार्य र सरसल्लाह बिना यस्ता नियम भने रातारात बन्छन्।

३/४ वर्षको एउटा बच्चा त नर्सरीबाट केजीमा जान गृहकार्य गर्नुपर्छ, जाँच पास गर्नुपर्छ भने यत्रो नियम लागू गर्नुअगि के-कस्ता गृहकार्य गरियो ? यसले चिकित्सा क्षेत्रमा कस्तो दुष्परिणाम निम्त्याउँछ भन्ने कति अन्दाज गरियो?

जिल्ला-जिल्लामा डाक्टरहरुले कस्तो सीमित स्रोत-साधनमा कसरी शल्यक्रिया गरिरहेका छन् ? नियम बनाउने को मन्त्री र अधिकारीले देखेको छ ? अपरेसनका क्रममा रगत रोक्ने सामान्य औजार समेत हुँदैन । रगतका स-साना नलीलाई धागोले बाँधेर रगत रोक्नुपर्छ ।

बिरामीको ज्यान मार्ने हैन, बिरामीको उपचारमा आफ्नो सबै सुख-सुविधा त्याग्ने डाक्टरहरु यो देशमा छन् । जसको आवाज एकरत्ति सुनिँदैन र जसको जीवनबारे केही सोचिँदैन । यस्तो अस्तव्यस्त अवस्था रहेको स्वास्थ्य क्षेत्रमा काम गरेर बिरामीको मृत्युको जिम्मा एउटा डाक्टरले कसरी लिन सक्छ?

मन्त्रीज्यूहरुलाई के लाग्छ ? डाक्टरले जानाजान बिरामीको उपचारमा लापरवाही गर्छ ? यो नियम ल्याएपछि जादुको छडी जस्तै सबै बिरामीको ज्यान जोगिन्छ ? यस्तो सोच्नुभएको छ भने आँखा खोल्नुस्, क्षतिपूर्तिको कानुन आएमा बिरामीको उपचारबाट डाक्टरहरु पन्छिनेछन् । फलस्वरुप अहिलेभन्दा बढी बिरामीले ज्यान गुमाउने अवस्था उत्पन्न हुनेछ।

तपाईंहरु जनताको स्वास्थ्यप्रति सचेत एउटा देशभक्त डाक्टर आफ्नो ज्यानको बाजी राखेर आमरण अनसन बस्दा लाजै पचाएर मौन बस्नुहुन्छ । अनि  डाक्टरले चाहिँ उपचार गर्ने क्रममा जोखिमका कारण केही गरी बिरामीको ज्यान गएमा सजाय भोग्नुपर्ने ? जनता पिल्सिने नियम-कानुन तपाईंहरु बनाउने अनि ज्यान नजोगाएको सजाय डाक्टरलाई दिने ? संवेदनशील क्षेत्रमा छौं भन्दैमा हाम्रो संवेदनासँग खेल्न पाइन्छ?

तपाईंहरु स्वास्थ्य क्षेत्रमा भइरहेको अराजकतामा मूकदर्शक बन्नुहुन्छ । सुधारका लागि कुनै कदम चाल्नुहुन्न । अनि चिकित्सा सेवालाई अस्तव्यस्त बनाउने नियम बनाउन भने हतार गर्नुहुन्छ । यस्तो नियम ल्याएर डाक्टरको हात बाँध्ने तयारी भइरहँदा कतै तपाईंहरुलाई देशमा डाक्टर धेरै भएको त हैन ? यस्तै हो भने नेपाली डाक्टरहरु धमाधम विदेश पलायन हुने अवस्था आउनेछ । त्यो बेला उपचार गराउन अमेरिका जाँदा पनि नेपाली डाक्टरसँगै देखाउनुपर्ने दिन आउला मन्त्रीज्यू !

नोट: माथि उल्लिखित घटनाक्रम परिमार्जित हुन् । तर, यथार्थ नहोला भन्न सकिन्न।

(डा रेग्मी शिक्षण अस्पताल काठमाडौंमा कार्यरत छिन्।)

 

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live