विचार/ब्लग

डाक्टर र बिरामीबीच विश्वासको संकट

डा ढुण्डीराज पौडेल, उपाध्यक्ष, नेपाल चिकित्सक संघ

यतिबेला हरेक क्षेत्रमा विश्वासको संकट छ । सेवा पनि लिनुपर्ने र विश्वास गर्न पनि नसकिने स्थिति छ । चिकित्सा क्षेत्र यसबाट अछुतो हुने कुरै भएन।  

डाक्टर र बिरामीबीच विश्वासको संकटकै कारण समस्या आएका हुन् । डाक्टरले बिरामीलाई आवश्यक काउन्सिलिङ गर्ने पाटो कमजोर छ । कतिपय निजी अस्पताल र डाक्टरमा बल्ल–बल्ल आएको बिरामी धेरै कुरा गरे बिच्किएला कि भन्ने पीर हुन्छ । 

बिरामीमा कहिलेकाहीँ जटिलता पनि आउँछ । तर, त्यसबारे बिरामीलाई भनिदियो भने उपचारै नगरी भाग्ला भन्ने डरले भनिदिँदैनन् । त्यस्तो अवस्थामा डाक्टरले उपचारपछि निको हुने सम्भावना छ, तर जटिलता पनि आउन सक्छ भनेर प्रस्टसँग भनिदिनुपर्छ । 

यो डाक्टरको ज्ञान र नियत ठीक छ, तर केही भएमा त्यो भवितव्य हो भन्ने मानसिकता बिरामी र उसका आफन्तमा विकास गर्न सक्नुपर्छ । यसो गर्न हामी चुकिरहेका छौं कि ! 
बजारबाट जथाभावी औषधि प्रयोग गर्ने क्रम बढेका कारण पनि चिकित्सकलाई उपचारमा समस्या परिरहेको छ । जथाभावी औषधि प्रयोग गरिदिँदा धेरै औषधि निष्प्रभावी भइरहेका छन् । हामीले अनुभव र ज्ञानका आधारमा यसले काम गर्ला भनेर दिएको औषधिले छुँदैन । बिरामीले औषधि मात्रै दिएर ठग्यो भन्दै त्यसको रिस हामीमाथि पोख्छन् । 
निजी अस्पतालहरुले बिरामीबाट शुल्क लिए अनुसार सेवा दिँदैनन् । डाक्टरलाई पनि त्यो अनुसार पारिश्रमिक दिँदैनन् । तर, बिरामीले चाहिँ आफ्नो पैसा डाक्टरले नै लुटेको ठानिरहेका हुन्छन् ।

सबैभन्दा ठूलो अविश्वास आकस्मिक कक्षबाट पैदा भएको छ । अकस्मात् आफन्तलाई स्वास्थ्य समस्या आइदिँदा एक खालको तनाव र हतारो हुन्छ । तर, आकस्मिक कक्षमा डाक्टर र नर्सले गर्ने रेस्पोन्स उनीहरुले चाहेजस्तो भएन भने ‘लापरबाही’ ठान्छन् । यसै पनि धेरै अनुसन्धानले नेपाल र भारतका अस्पतालहरुमा आकस्मिक सेवाको व्यवस्थापन कमजोर रहेको देखाएका छन् । कतिपय अस्पतालका आकस्मिक कक्षमा आवश्यक सामग्री पहिल्यै तयार पारेर राखिँदैन । ‘आगो लागेपछि कुवा खन्ने’ जस्तै गरी जुटाउन खोजिन्छ । यो लथालिंग शैलीले गर्दा बिरामीका आफन्तले गुणस्तरीय सेवा नपाएको अनुभव गर्छन् । 

डाक्टर पनि यही समाजका उत्पादन हुन् । अन्य क्षेत्रमा जस्तै यहाँ पनि नियत खराब भएका मानिस नहोलान् भन्न सकिँदैन । पढाइमा लागेको खर्च उठाउन पनि कतिपयले जति सकिन्छ धुत्न खोजिरहेका हुन्छन् । बिरामीको ‘मुटु छाम्ने बहानामा खल्ती छाम्नेहरु’ पनि छन् । आफूले नसक्ने हुँदा समयमै रिफर नगरिदिने अर्को कमजोरी पनि छ । आफूले अन्त पठाउँदा आफूलाई नजान्ने ठान्ने हो कि भन्ने पीर डाक्टरमा हुन्छ । यसले पनि समस्या निम्त्याइरहेको छ । 

यी हाम्रा आत्मस्विकारोक्ति हुन् । तर, अहिले त राम्रो प्रयास गर्दागर्दै पनि डाक्टरमाथि दोष थोपरिएको छ । विनाकारण हामीमाथि आक्रमण हुन थालेको छ । त्यसैले ‘जेल विथ आउट बेल’ को व्यवस्था हुनु जरुरी छ । 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live