विचार/ब्लग

पत्रकार र डाक्टर, कहाँ–कहाँ चुक्यौं हामी?

डा अजय रिसाल

करिब दुई महिनाअघि राजधानीकै कुनै एक अस्पतालमा शल्यक्रियाका क्रममा बिरामीको मिर्गौला झिकिएको / किड्नी चोरिएको समाचार ‘भाइरल’ बन्यो। त्यसको पक्ष–विपक्षमा राजनीतिक अनि व्यक्तिगत स्तरमै आरोप–प्रत्यारोप मात्र भएन विवाद संसदसम्मै पुग्यो? अहिले पनि डाक्टरीय लापरबाही, अस्पताल तोडफोड, डाक्टरमाथि दुव्र्यवहार, क्षतिपूर्ति, ओपिडी बन्द जस्ता कुरा पूरापूर चर्चामा छन्। यो विषय किन उठाइएको हो भने, स्वास्थ्य क्षेत्रका घटना र मुद्दालाई सञ्चार माध्यमले कसरी उठाइरहेका छन्? भन्ने बुझ्न जरुरी भएको छ।

‘पत्रकारिता’लाई  राजनीतिक रुपले राज्यको चौथो अंगका रुपमा स्वीकार गरिसकिएको छ। नागरिकको मौलिक हककै रुपमा परिभाषित ‘स्वास्थ्य’ क्षेत्र पनि कम महत्वको हुँदै होइन। तर पनि, यी दुईबीच स्वस्थ सम्बन्ध कायम रहन नसकेरै हो वा किन हो ‘स्वास्थ्य’का कुनै पनि खबर आउनासाथ हाम्रो मिडिया तात्न थाल्छ। अझ समाचार नकारात्मक छ भने त, यसले झनै ठूलो स्थान, अझै बढी प्रचार मात्र गराउँदैन आम जनसमाजमा कम्प–पराकम्प नै ल्याइदिन्छ। 

त्यस्तै, फेसबुक, ट्विटर, अनलाइन आदिको व्यापकताले गर्दा हाम्रो समाजमा ‘मिडिया’ अत्यन्तै प्रभावकारी माध्यम भइसकेको छ। बालकदेखि वृद्घसम्म स्मार्टफोन चलाउने आजको जमानामा जुनसुकै मिडियामा सम्प्रेसित समाचारको प्रभाव दीगो अनि गहिरो रुपमा पर्ने यथार्थलाई हामीले भुल्नु हुँदैन। 

सत्य एवं निष्पक्ष समाचार हो÷होइन भनेर विचार नगरीकन फेसबुक स्टाटस र ट्विट नै मात्र पनि लेख्न हत्तारिनु हुँदैन। ‘कागले कान लग्यो भन्दैमा कानै नछामी कागकै पछि कुद्ने’ प्रवृत्ति हाम्रो समाजमा बेला बेलामा देखिँदै आएको छ। 

माथि उल्लेखित अस्पतालको ‘किड्नी चोरी(?)’ प्रसंग कहाँबाट कसरी आयो मलाई थाहा छैन। तर, डाक्टर भएको नाताले घोरिएर विश्लेषण गर्दा छापामा आएझैं अंग चोरी नै हुनु असम्भव देख्छु म। अब त यो कुरा धेरै नै पुरानो भइसकेको छ...।

समाजमा कोही पनि सर्वगुण सम्पन्न हुनै सक्दैन। सबैले सबै योग्यता पाउन सक्ने या हुने भए त कार्य विभाजन या पेशागत धर्म आदिको प्रसंग नै उठ्ने थिएन होला। पत्रकार मित्रहरुले ‘स्वास्थ्य’का मिहिन पक्षका बारेमा सम्पूर्ण या यथेष्ट जानकारी पाएका हुन्छन् भनेर म कल्पना गर्न सक्दिनँ।

त्यस्तै, कहिलेकाहीँ पत्रपत्रिकामा स्वास्थ्य सम्बन्धी लेख या साहित्यिक रचना कोर्ने जमर्को गरेकै भरमा म पनि आफूलाई स्तम्भकार मान्न सक्दिनँ। हामीबीच हाम्रो पेशागत धर्म, क्षमता अनि योग्यताको सीमा छ, त्यो सीमाको ख्याल हामीले गर्नैपर्छ। यो पेशागत आचारसंहिता र व्यावसायिकताको मूल धर्म हो जस्तो लाग्छ मलाई।

अतः पत्रकार मित्रहरुले छापामा स्वास्थ्य सम्बन्धी कुनै समाचार या लेख लेख्नुअघि पर्याप्त अध्ययन–अनुसन्धान गर्नुपर्ने हो कि? विशेषज्ञहरुसँगको परामर्श आवश्यक हुन्छ कि? केही–केही डाक्टरहरुले या कुनै कुनै अस्पताल–स्वास्थ्य संस्थाले गलत पनि गर्न सक्लान्, त्यसबारे जनमानसलाई सुसूचित गराउने कर्तव्य पनि राज्यको चौथो अंगकै हो। 

तर, यस्ता समाचार पर्याप्त अध्ययनबिना सम्प्रेसण गरियो भने निर्दोषले नचाहिँदो लाञ्छना सहनुपर्ने, मानहानी मात्र नभई भविष्यमा तिनको रोजीरोटी नै धरापमा पर्नसक्ने हुन्छ। प्रमाणित नभएका कुरामा हल्ला फैलँदा आरोपितहरुमा पर्न जाने मनोवैज्ञानिक प्रभाव अनि तिनको आत्माभिमानमा हुने ह्रासको क्षतिपूर्ति कसरी गर्न सकिएला र? अनि अरुमाथि व्यक्तिगत या पेशागत झूठा आरोप लगाएर त्यसबाट व्यक्तिगत या राजनीतिक लाभ लिन खोज्नु कत्तिको जायज होला?

यस्ता समस्यामा हामी डाक्टरले पनि ध्यान दिनु आवश्यक छ। बिरामी र बिरामीपक्षसँग रोग, उपचारपद्घति, डाक्टरको योग्यता र क्षमता आदिबारे पर्याप्त छलफल गर्नुपर्छ। कुनै छलफल नगरीकन हतारमा मञ्जुरीनामा गराएर आफ्नो कर्तव्य पूरा भएको ठान्नु हुँदैन।

उपचारअघि र पछिका सम्भावित कठिनाइ, क्रिया–प्रतिक्रियाबारे सुसूचित गराउनबाट पन्छिने या त्यस प्रक्रियालाई झन्झटका रुपमा लिने डाक्टरहरु नभएका होइनन्। के यसरी बिरामी–डाक्टरबीच व्यावसायिक सम्बन्ध स्थापित गराउन सकिएला र? 

हत्तारमा गरिएको उपचार प्रक्रिया पछि गएर घातक पनि बन्न सक्छ। किनभने हरेक बिरामी आफैंमा विशिष्ट हुन्छन्, हरेक रोगको कुनै पनि व्यक्तिमा पर्ने प्रभाव फरक हुन्छन्, यसलाई हाम्रो चिकित्सा विज्ञानले नै स्वीकार गरिसकेको छ। व्यक्तिको जीवन–मरणसँगै प्रत्यक्ष सवाल राख्ने उपचार पद्घतिबारे यथेष्ट छलफल हुनु अत्यावश्यक छ। यो मेडिकल आचारसंहिताको पालनामा कतै हामी डाक्टरहरु नै चुकिरहेका त छैनौं?

यी दुवै पक्षमा विचार गर्दा निष्पक्ष मेडिकल पत्रकारिताका साथै चिकित्सकीय आचारसंहिताको प्रभावकारी अनुगमनको आवश्यकता टड्कारो भइसकेको छ। यसमा सम्बन्धित नियामक निकायहरु– मेडिकल काउन्सिल, मेडिकल एसोसिएसन अनि पत्रकार महासंघको धारणा के होला? अनि सचेत पाठकवर्गको सुझाव के रहला? छलफल चलाउन जरुरी भइसकेको छैन र?

पुनश्चः यी सब कुरा भनिरहँदा अर्को यथार्थ पनि भुल्नु हुँदैन। डाक्टरहरु ईश्वर होइनन्। मानिस हुन्। व्यवसायी नै हुन्। स्वास्थ्य सेवा विशिष्टीकृत होला तर यो पनि पेशा नै हो। त्यसैले जीवनको ग्यारेन्टी दिन चाहिँ हामी कदापि सक्दैनौं। 

यसकारण सरकारले हचुवाको भरमा ल्याउन लागेको कानुन, कोही पनि डाक्टरले यथास्थितिमा स्वीकार गर्न सक्दैनन्। पत्रकार मित्रहरुले यस तथ्यमा संवेदनशील भएर समाचार कोरिदिनुहुनेछ र सम्प्रेषण गरिदिनुहुनेछ भन्ने आशा गर्छु। 

(डा रिसाल काठमाडौं विश्वविद्यालय अस्पताल, धुलिखेलका मानसिक रोग विशेषज्ञ हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live