मुख्य समाचार

स्वास्थ्यका कर्मचारीसँग मन्त्री पोखरेलका यस्ता १५ असन्तुष्टि

‘धेरै कर्मचारीमा कामचोर र भगुवा प्रवृत्ति छ’

img

डिबी खड्का

काठमाडौं– स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम काठमाडौंस्थित वर्ल्ड ट्रेड सेन्टरमा जारी छ । समीक्षा कार्यक्रममा ७५ जिल्लाकै स्वास्थ्यका प्रमुख, कर्मचारी, डाक्टर र स्वास्थ्यकर्मी सहभागी छन्। 

कार्यक्रमलाई आइतबार स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गरे । उनले एक मन्त्रीका हैसियतले सुझाव र साथीका हैसियतले सल्लाह दिएको भन्दै सल्लाह-सुझावसँग मिसाउँदै आफ्ना असन्तुष्टि यसरी व्यक्त गरेः 

१. मन्त्रालय र स्वास्थ्य सेवा विभागका कर्मचारीसँग म खुसी छैन । वर्ष–दुई वर्षदेखि फाइल रोकिएको भनेर मैले यहाँ सुनेँ । निर्देशिकाका काम थन्किएका छन् । फाइल किन यसरी अड्किन्छ ? ठीक छ भने अघि बढाउने र छैन भने हुँदैन भनेर फर्काइदिने गर्न सकिन्न? 

२. स्वास्थ्य सेवा अन्तर्गतका धेरै कर्मचारीमा कामचोर र भगुवा प्रवृत्ति छ । स्वास्थ्य क्षेत्र १०–५ को जागिर होइन । संघीयता कार्यान्वयनको बेला छ, यसरी हुँदैन । स्वास्थ्यमन्त्री भएपछि म विभिन्न ठाउँमा पुगिरहेको छु । यस बीचमा पर्सादेखि सप्तरीसम्म ५ पटक गएँ । सबैजसो ठाउँमा मैले कर्मचारीमा यस्तै समस्या अनुभूति गरें । अरुले यसो भनिदिँदा चित्त दुख्यो होला । त्यसैले आफूले आफैंलाई सोध्ने बानीको विकास गरेर सच्याउनुपर्छ। 

३. स्वास्थ्य क्षेत्रमा देखिएको समस्या नेतृत्वको हो । अहिलेको अवस्थाले मागे जस्तो नेतृत्व तपाईंहरुले गर्न सक्नुभएन । समस्या खडा गर्नु मात्रै नेतृत्व होइन, समाधानका उपाय निकाल्नु पनि उसैको जिम्मेवारीभित्र पर्छ भन्ने बुझौं। 

४. हामीले उत्कृष्ट स्वास्थ्य सेवा दिएका जिल्ला घोषणा गर्‍यौं । यी परम्परागत मान्यता अनुसार उत्कृष्ट भए, तर वास्तवमै उत्कृष्ट छन् नि छैनन्, त्यो मूल्यांकन गरौं । साँच्चै उत्कृष्ट हुन् कि घोषणा गर्नैपर्ने भएर मात्र गरिएको हो ? उत्कृष्टतामा दोस्रो भएको अछाम पुग्न मन छ।

५. निःशुल्क कार्यक्रमहरु जुन रुपमा सफल हुनुपर्ने थियो, भएन । निःशुल्क राष्ट्रिय कार्यक्रम आधारभूत स्वास्थ्य सेवाको एउटा अंग हो । त्यो के कारण सफल भइरहेको छैन ? कुनै स्वास्थ्यचौकीमा सिटामोल पुगेन भनेर आउने समाचारको खण्डन अहिले पनि मन्त्रीले गर्नुपर्ने अवस्था छ । स्थानीय स्तरबाटै त्यसको उचित व्यवस्थापन र जवाफ दिन सक्नुपर्दैन ? निःशुल्क औषधिबारे आफैंले समीक्षा गर्नुहोस् । जति औषधि दिन सकिन्छ, बडापत्रमा त्यति मात्र राख्नुहोस् । दिन नसकिने औषधि बडापत्रमा राखेर मात्र के हुन्छ? 

६. प्रायः सबैजसो अस्पतालले फोहोरलाई जितेर सरसफाइ गर्न सकेका छैनन् । लाइन व्यवस्थापन गर्न सकेका छैनन् । तपाईंहरु धेरै जना बागमती सफाइ अभियानमा सरिक हुनुभएको होला । तर, आफ्नै अस्पताल सफाइ अभियान थाल्न के कुराले रोक्यो ? यसैगरी अस्पतालमा बिरामीले २ घन्टासम्म लाइन लाग्नुपर्ने स्थितिको अन्त्य भएको छैन । बिरामीले लाइन बस्नुपर्ने अवस्थालाई सहज रुपमा लिनुहुँदैन । यसको समीक्षा होस्। 

७. निजी अस्पतालले १० प्रतिशत गरिब, असहाय र अनाथ बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने नियम छ । तर, उनीहरुले आफ्नो कृपाले दिइरहे जस्तो गरिरहेका छन् । यसको कार्यान्वयन प्रभावकारी देखिएन । किन गर्न सकिएन?

८. हामीले आयुर्वेदलाई प्रवर्द्धन गर्न सकेनौं । यहाँ धेरै डाक्टर सा’ब हुनुहोला, लुकेर आफैं आयुर्वेद सेवा लिने । अर्थात् योगा, मेडिटेसन लगायतका कुरा गर्ने । व्यक्तिगत रुपमा त्यसो गर्ने भए पनि यसलाई कसरी एकीकृत ढंगले लैजाने भनेर किन सोच्न सकिएन ? मलाई स्वास्थ्य मन्त्रालय ‘एलोप्याथिक मन्त्रालय’ र शिक्षा मन्त्रालय ‘विद्यालय मन्त्रालय’ जस्तो लाग्छ । हामी आयुर्वेद लगायतका वैकल्पिक चिकित्सामा धनी छौं । यिनलाई समेटेर चिकित्सामा नेपाली मोडेलको विकास गर्न सकिन्छ । यतातिर ध्यान दिनुपर्‍यो । सिर्जनात्मक भएर आफ्नै मोडेलको विकास गर्नुपर्‍यो । हाम्रो योगलाई भारतले संयुक्त राष्ट्र संघमा पुर्‍याएर आफ्नो पहिचान बनायो । अब हामी मेडिटेसन अर्थात् ध्यानलाई हाम्रो पहिचान बनाउन सक्छौं । बुद्धले विकास गरेको भनेर अघि बढ्न सकिन्छ।

९. मैले फेरि पनि स्वास्थ्यमन्त्री हुने बित्तिकै सोधेको थिएँ, महामारी भइहाल्यो भने सम्हाल्ने अवस्था छ नि ? ‘हामीसँग बलियो र्‍यापिड रेस्पोन्स नेटवर्क छ’ भन्ने जवाफ आयो । तर, परेको बेला त त्यो नेटवर्क भेटिनँ । कागजमा मात्रै भएर भएन । स्वास्थ्यमा महामारी भयो कि मन्त्री नै दौडिनुपर्ने स्थिति छ । एउटा प्रणालीले काम गर्ने व्यवस्था हुनुपर्‍यो।

१०. उपकरण छन् तर विद्युत् वा यस्तै केही कारणले प्रयोगमा आएका छैनन् भने तिनलाई थन्क्याएर राख्नुभएन । अन्यत्र काम लाग्न सक्छन् । आफूलाई काम लाग्ने उपकरण मागौं । माग्दा पनि पुर्‍याउन नसकिएको हो भने किन सकिएन ? त्यतातिर ध्यान दिऔं।

११. सबै प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सुरु गरौं । जनशक्ति चाहिन्छ भने त्यस अनुसार अघि बढौं । डाक्टर पुगेका छैनन् भने पनि कुरा राखौं । समाधान खोजिन्छ।

१२. अहिले पुनर्संरचनाको बेला छ । स्वास्थ्य क्षेत्रको पुनर्संरचनामा तपाईंको भूमिका महत्वपूर्ण हुन्छ । कहाँ स्वास्थ्य संस्था चाहिन्छ, त्यो तपाईंहरुले नै सिफारिस गर्नुहोस् । राजनीतिक नेताहरुलाई भन्न थालियो भने यसले अर्काे बखेडा सिर्जना हुन्छ।

१३. दुर्गममा डाक्टर पठाउन नियमावली बदल्नुपर्छ । हामीले चिकित्सा बिज्ञान प्रतिष्ठान (न्याम्स) मा दुर्गममा सेवा दिएका डाक्टरलाई पिजी पढाउने निर्णय लियौं । पहिलो वर्ष ४५ जना दुर्गममा सेवा गरेका डाक्टरले अवसर पाएका थिए । फेरि पनि नियमावली सच्याएर त्यो व्यवस्था गर्नुपर्छ।

१४. आफू अन्तर्गतका कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्ने दायित्व राज्यको हो । हामी त्यो गर्छाैं । यो राष्ट्रिय बहसको विषय भइसकेको छ । त्यसैले चिन्ता लिनुपर्दैन।

१५. प्रतिष्ठान निर्माणका माग धेरै भइरहेका छन् । केही हदसम्म आवश्यकता पनि छ । तर, धेरै प्रतिष्ठान बनाउनुभन्दा एउटैबाट धेरैलाई कसरी सञ्चालन गर्ने भन्नेतिर सोच्नुपर्छ । चलिआएकै मोडेलमा काम गर्नुपर्छ भन्ने छैन।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live