विचार/ब्लग

स्वास्थ्यकर्मी र बिरामी पक्ष दुबैलाई न्याय हुने कानुन बनाऊ!

स्वास्थ्य खबरपत्रिका

स्वास्थ्य मन्त्रालयले २०७४ भदौको अन्तिम दुई सातामै अस्पतालको उपचार प्रणाली सही भए/नभएको छानबिन गर्न तीन वटा उच्चस्तरीय समिति बनायो । उपचारमा भएको लापरवाहीले बिरामीको ज्यान गएको आरोप लगाउँदै आफन्तले आन्दोलन गरेपछि छानबिन समिति बनाउनुपरेको होे। 

पछिल्ला वर्षहरुमा अस्पताल, डाक्टर विरुद्धका आन्दोलन र क्षतिपूर्ति तिरेर सहमति गर्ने प्रक्रिया नियमित जस्तै हुन थालेका छन् । नेपाल चिकित्सक संघको तथ्यांक अनुसार पछिल्ला १० वर्षमा ५० भन्दा बढी डाक्टरमाथि हातपात र दुव्र्यवहारका घटना भएका छन् । पछिल्लो समय देखिएको प्रवृत्तिले नियामक निकाय, अस्पताल र डाक्टरहरुलाई सोच्न बाध्य बनाएको छ । खासमा भएको चाहिँ के हो ? उपचारमा अस्पताल र डाक्टरको लापरवाही बढेको हो वा जनतामा अविश्वास ?

यस सम्बन्ध्मा अस्पतालहरुले आफूले दिइरहेको उपचार सेवालाई पुनर्मूल्यांकन गर्नुपर्ने बेला भएको छ । सबै डाक्टर र अस्पताललाई उस्तै नजरले हेर्नु गलत हुनेछ । तर, खर्च छिटो उठाउन कतिपय अस्पताल र डाक्टरहरुले उपचारमा जति सकिन्छ, धुत्न खोजिरहेको स्पष्ट देखिन्छ । बिरामीको मुटु छाम्ने बहानामा खल्ती छाम्नेहरु बढिरहेका छन् । 
यसमा सबभन्दा ठूला दोषी अस्पताल सञ्चालकहरु छन् । अस्पताल सञ्चालक नाफाका लागि जुनसुकै हदसम्म पनि जाने गरेका छन् । तर, केही समस्या पर्दा भने अग्रभागमा डाक्टरलाई लगाउने प्रचलन छ । अस्पताल सञ्चालकले असुल्ने चर्काे मूल्यका कारण पनि सेवाग्राही चिढिएका हुन् । अस्पतालले उपकरण, औषधि र अन्य व्यवस्थापन चुस्त–दुरुस्त बनाउनुको साटो डाक्टरमाथि दोष थोपरेर उम्कने गरेका छन् । 

अर्कोतर्फ, कुनै समय चिकित्सक र अस्पतालले भनेका हरेक कुरा पत्याउने उपभोक्तामा अहिले सचेतना बढेको छ । शुल्क अनुसारको सेवा पाए÷नपाएको मूल्यांकन गर्न थालेका छन् । त्यसअनुरुप सेवा नपाउँदा बढ्ने आक्रोशका कारण पनि यस्ता घटना हुने गरेका छन् । डाक्टरले बिरामीसँग गर्ने सञ्चारको पनि अभाव छ । बिरामीलाई समस्या कस्तो हो, कति खर्च लाग्छ, जटिलता के–के आउन सक्छन् भन्ने विषयमा राम्ररी बुझाएको पाइँदैन ।

गलत उपचार भएर कुनै क्षति भएमा मागदाबी गर्ने कानुनी प्रक्रिया निकै झन्झटिलो छ । त्यसैले पीडितहरु कानुनी बाटो नरोजी कानुन हातमा लिन उद्दत हुन्छन् । जिल्ला प्रशासन कार्यालय, पुनरावेदन अदालत (हाल उच्च अदालत) हुँदै सर्वोच्च अदालतसम्म पुगेर फैसला हुँदा वर्षौं लाग्छ । अर्कोतर्फ, उपचारका क्रममा चिकित्सकबाट हुने लापरवाही र बदनियतपूर्ण क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सम्बन्धमा पनि स्पष्ट कानुनी व्यवस्थाको अभाव छ । विस्थापित भइसकेको मुलुकी ऐनमा बिरामीको उपचारमा डाक्टरहरुको लापरवाही भएको घटनामा सजायको व्यवस्था छ । तर, बिरामीप्रति डाक्टरको कत्र्तव्य, बिरामीको शारीरिक हितबारेमा भने उक्त व्यवस्था मौन छ । 

सर्वोच्च अदालतले एक फैसलामा विद्यमान कानुनहरुले आजको आवश्यकतालाई सम्बोधन गर्न सकेको भन्दै नयाँ कानुनको आवश्यकता औंल्याए पनि त्यो बनेको छैन । हाल लापरवाहीयुक्त उपचार भएमा उपभोक्ता हित संरक्षण ऐन अन्तर्गत कारबाही हुने गरेको छ । स्वास्थ्य उपचार उपभोग्य वस्तु होइन, सेवा हो । यस्तोमा उपभोक्ता हित संरक्षण ऐनअन्तर्गत कारबाही चलाउनुपर्ने प्रावधान उचित छैन । यो ऐन अन्तर्गत उपचारमा लापरवाही गर्ने डाक्टरलाई पेशागत रुपमा जिम्मेवार बनाउन र कारबाहीको दायरामा ल्याउन अप्ठ्यारो छ । 

यस्तोमा उपचार सेवा प्रदायकहरु बढी सचेत हुनु जरुरी छ । उनीहरुले स्वास्थ्यलाई नाफामुखी होइन, सेवामुखी बनाउनुपर्छ  । छिटै लगानी उठाउने र नाफा कमाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ । चिकित्सकहरु चाँडै आफ्नो पढाइ खर्च उठाउने ध्याउन्नबाट माथि उठ्नुपर्छ। सेवाग्राही पनि सम्पूर्ण तथ्य नबुझी आन्दोलनमा उत्रने होइन, संयमित हुनुपर्छ । साथै, कसरकारले सर्वोच्चको आदेशअनुरुप तत्काल नयाँ कानुन बनाएर बलियो नियामक निकाय स्थापना गर्नुपर्छ । ताकि, भविष्यमा यस्ता गल्तीहरु नदोहोरिऊन् । त्यसैले उपचारमा लापरबाही भए/नभएको छानबिन गर्ने बलियो निकाय तत्कालको आवश्यकता हो। 

अस्पतालमा हुने हरेका मृत्युका घटनामा चिकित्सकीय लापरबाही भन्नु चिकित्सकमाथिको ठूलो अन्याय हो। उपचारका क्रममा चिकित्सकिय लापरबाहीका सम्भावना पनि हुनेगर्छ । त्यसैले बिरामीपक्षलाई उपचारमा शंका लागेमा निष्पक्ष छानबिनको व्यवस्था हुनुपर्छ । बिरामीपक्षले कुनै पनि बहानामा उपचारमा संलग्न स्वास्थ्यकर्मी वा अस्पतालमाथी ढुंगामुढा गर्नुहुदैन । गलत क्रियाकलाप गर्ने बिरामीपक्ष र स्वास्थ्यकर्मी दुबैलाई कस्ने कानुन निर्माण जरुरी छ। चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि ‘जेल विथआउट बेल’ र बिरामीपक्षका लागि उपचारमा शंका लागेमा तत्काल छानबिन गर्ने र दोषीमाथी कडा कारबाही गर्नसक्ने कानुनी व्यवस्था हुनुपर्छ । एकपक्षीय कानुन मान्य हुँदैन।

बिरामीपक्षले पनि सबै चिकित्सकलाई एउटै नजरले हेर्नु हुँदैन । सेवाभावका असल चिकित्सक पनि सेवामा खटिएका छन् भन्ने भुल्नु हुँदैन । उपचारमा विश्वास गर्नुपर्छ । हजारौं ज्यान जोगाउने स्वास्थ्यकर्मीलाई मृत्यूको एउटा घटानासँग मात्र जोड्नु हुँदैन । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्धक्क काम गर्ने वातावरणको सिर्जना गर्नु सबैको दायित्व हो। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live